लोकसंवाद संवाददाता | समाचार | बैशाख ०५, २०७६
काठमाडाैं । काँकर जसै झोडा खेल्ना गाउँमा पुग्यो, मानिसले सिटी र तालीको गडगडाहटका साथ स्वागत गरे । काँकरको तीनतिरबाट मोटो डोरीमा झुन्डिएका मानिसले झन्डै ६० हात लामो रूखलाई तोलेनी खेतमा आधा किमि जति ठाडै हिँडाए ।
काँकर हिँडाएको जोखिमपूर्ण दृश्य सास रोकेर दर्शकले हेरिरहेका बेला एकाएक पुष्पवृष्टि भयो । माथि डाँडाबाट धामीगाउँका स्थानीयले हाहा र हुहु गर्दै त्यस्तै खालको काँकर ल्याइरहँदा तल बसेका दर्शकको ताली र सिटी फेरि गुन्जियो । केहीबेरमा दुवै गाउँका काँकर बिस्ना पुर्याइयो ।
दुवै काँकरलाई हातैहातको सहारामा एकसाथ ठड्याएर नाप्ने (काँकर सप्याउने) काम भयो । काँकर सप्याएपछि दुवै टोली एकैसाथ मिसिएर बान्नी मस्टा मन्दिर नजिक पुर्याउनै लाग्दा बोहरा गाउँको टोली अर्को काँकर बोकेर त्यहीं आइपुग्यो । बाजागाजासहित आएका ३ गाउँको टोली मिसिँदा बान्नी मस्टा मन्दिर परिसर गुञ्जयमान भयो । सबै मिलेर काँकर मन्दिरमा चढाएपछि देउडाको झक्काझक्की (दोहोरी) सुरु भयो । यो हो, सुदूरपश्चिमको प्रसिद्ध मेला ‘बान्नी चैतली’ को रमाइलो माहोल । आजको कान्तिपुर दैनिकमा खबर छ ।