बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह

बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०५, २०७६

काठमाडौँ । काठमाडौंँ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण देखिनेक्रम रोकिएको छैन । पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की, मोरङ, सुनसरी लगायतका जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । बर्डफ्लु पुष्टि भएपछि सरकारले हालसम्म हजारौँ कुखुरा नष्ट गरिसकेको छ भने त्यही अनुपातमा अण्डा र दाना समेत नष्ट गरेको छ । पशु सेवा विभागले हालसम्म बर्डफ्लुको सङ्क्रमणबाट नेपालमा मानिसको मृत्यु नभए पनि सर्वसाधरणलाई बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह गरेको छ । 

पशु सेवा विभागका अनुसार काठमाडौँमा ३८ हजार ९३२ कुखुरा नष्ट गरिएको छ । यस्तै दाना ११ हजार दुई सय केजी र अण्डा १० हजार २१५ वटा नष्ट गरिएको छ । हेटौडामा ४८ हजार कुखुरा नष्ट गरिएको छ भने छ हजार ८९० अण्डा र दुई हजार ९९३ केजी दाना नष्ट गरिएको छ ।

विभागका महानिर्देशक डा. बिमलकुमार निर्मलले कास्कीमा ७७ कुखुरा, ८५ अण्डा र ३८ केजी दाना नष्ट गरिएको जानकारी दिनुभयो । मोरङमा एक हजार ८३२ कुखुरा, १० हजार २९० अण्डा र १५ सय केजी दाना नष्ट गरिएको छ । सुनसरीमा ८७४ हाँस, एक हजार ६८० अण्डा र तीन सय केजी दाना नष्ट गरिएको छ ।

पशु स्वास्थ्य विभागका महानिर्देशक डा.निर्मलले गत शनिबार मात्र ललितपुरको गोदावरीमा एक हजार ९२० कुखुरा बर्डफ्लुका कारण मरेको जानकारी दिनुभयो । उहाँले सूर्यविनायकमा एक हजार पाँच सय कुखुरा बर्डफ्लुको कारण मरेको बताउनुभयो । आजको गाेरखापत्र दैनिकमा खबर छ ।