नेपाल पर्यटन बोर्ड : पर्यटन प्रर्वधनका लागि आन्तरिक गन्तब्यदेखि 'डिजिटल माकेर्टिङ' सम्म

नेपाल पर्यटन बोर्ड : पर्यटन प्रर्वधनका लागि आन्तरिक गन्तब्यदेखि  'डिजिटल माकेर्टिङ' सम्म

लोकसंवाद संवाददाता  |  पर्यटन  |  फागुन ०७, २०७७

 काठमाडौँ । कोभिड–१९ महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डले सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने जनाएको छ ।
    
कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रका अवस्था र आगामी रणनीतिबारे २०७७ फागुन ६ गते बिहिबर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै बोर्डले पर्यटन प्रर्वद्धन तत्कालीन र दीर्घकालीन कार्यक्रमबारे जानकारी गराएको हो । पर्यटन विषयमा लेख्ने विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा पर्यटन व्यवसायीबीच आगामी पर्यटन प्रर्वद्धन  रणनीतिबारे जानकारी गराउदै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिडको अवधिमा भएका काम र आगामी प्रर्वद्धनका कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कोभिडकै कारण सन् २०२० का लागि घोषणा गरिएको नेपाल भ्रमण वर्ष अभियान स्थगन समेत गरिएको थियो । महामारीकैबीच बोर्डले विभिन्न गतिविधि भने सञ्चालन लइाइएकाे जानकारी  दिइएकाे थियाे।  पर्यटकीय तथ्याङ्क व्यवस्थापन, आन्तरिक गन्तब्यको प्रर्वद्धन , डिजिटल माकेर्टिङका साथै कोभिड सामान्य भएपछि अन्तर्राष्ट्रिय गन्तब्यमा गरिने प्रर्वद्धन का योजना कार्यक्रमको तयारीमा बोर्ड जुटिरहेकाे जानकारी दिइएको छ ।

दक्षिण एशियाका भारतलगायत मुलुकको पर्यटन प्रर्वद्धनमा विशेष चासो दिइएको छ । महामारीकैबीच बोर्डले गरेका काम तथा आन्तरिक एवं बाह्य पर्यटन पुनरुत्थानका लागि अबका दिनमा अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई जानकारी गराएको हो । कोभिडविरुद्धको खोप नेपालमा समेत आइसकेको अवस्थामा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश सँगसँगै आन्तरिक पर्यटन प्रर्वद्धनका कार्यक्रमका माध्यमबाट कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन रणनीतिक योजनाका साथ अघि बढेको बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले बताउनुभयो ।
    
नेपाल पर्यटन बोर्डका अनुसार महामारीको पहिलो चरणमा बोर्डले नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकको खोजी गरेको थियो । लुक्ला, पोखरा तथा अन्य स्थलबाट करीब करीब एक हजार ७२१ विदेशी पर्यटकको उद्धार गरी सम्बन्धित मुलुक फर्काउनका लागि सहजीकरण गरिदिएको थियो ।
    
चीनमा कोभिडको सङ्क्रमण शुरु भएदेखि नै अन्य बजारको सम्भाव्यता खोजी गर्न बोर्डले निजी क्षेत्रको सहभागितामा १२ वटा कार्यदल गठन गरी भारत, दक्षिण एशिया, बुद्धिष्ट देशहरू, मध्यपूर्वका देश, युरोप र रसिया, अष्ट्रेलिया र न्युजिल्याण्ड, अफ्रिका, नर्थ अमेरिका, साउथ अमेरिका चीन, नर्थ इस्ट एशियालगायत विश्वका विभिन्न १२ वटा पर्यटन स्रोत बजारको अध्ययन गरेको थियो ।

 महामारीकै अवस्थामा पर्यटनलाई चलायमान बनाइराख्न बोर्डले हेल्थ एण्ड हाइजिन प्रोटोकल तयार गरि नेपाली तथा अंग्रेजी भाषामा वितरण गर्‍यो । पर्वतीय पर्यटनसम्बन्धी मापदण्ड तथा स्पा, रात्रिकालीन व्यवसायमा मापदण्ड बनाएर सचेतना अभिवृद्धिको कार्य गरिएको छ । बोर्डले भर्चुअलमाध्यमबाट अन्तर्राष्ट्रिय मेला, फोरममा सहभागिता जनायो । 
    
दिर्घकालीन कार्यक्रमअन्तर्गत नेपालको बहुआयामिक पर्यटनमा तथ्याङ्कलाई डिजिटल डाटावेशमा राख्न बोर्डले ‘डिजिटल डेटावेस फर टुरिज्म प्लानिङ’ का लागि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभागसँग सम्झौता गरी कार्य अघि बढाएको छ । 

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा एकीकृत तथ्याङ्क प्रणाली अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको बोर्डले जनाएको छ । यसबाट पनि नेपालमा पर्यटकको आवागमन तथा उसको बसाईलगायतका विषयमा थप तथ्याङ्क उपलब्ध हुनेछ । छिट्टै ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’ शुरु गर्नेगरी आवश्यक तयारी सकिएको बोर्डका कार्यकारी प्रमुख रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२१ को पर्यटक आगमन एक लाखको सङ्ख्या पुगेपछि यो प्रक्रिया शुरु गरिनेछ ।

यस्तै नेपाली सेनासँगको सहकार्यमा गोर्खादेखि काठमाडौँसम्मको एकीकरण मार्ग अध्ययन, गढी तथा किल्लाको प्रोफाइल, सिन्धुलीगढी क्षेत्रको गुरुयोजना, यस्तै रारा ताल क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी डिपिआरसहितको बृहत्तर गुरुयोजना, युद्ध सङ्ग्रहालयको योजना निर्माण, रुकुम जिल्लाअन्तर्गत भूमे तथा सिस्ने गाउँपालिकामा रहेको युद्ध सङ्ग्राहलयको डीपिआर तयार भएको छ ।

बदलिँदो परिस्थतिमा नेपालको पर्यटनलाई सबै सिजनको पर्यटनका रुपमा विकास गर्न, पर्यटकको बसाई अवधि र खर्च बढाउन बोर्डले योजनाबद्ध कार्यक्रम अघि बढाएको छ । यसमा नेपालको पर्यटनमा नयाँ पूर्वाधारको विकास, विस्तार तथा क्षेत्रगतरुपमा हिमाल आरोहण तथा पदयात्रा, पहाडमा हिल स्टेशनसहितको पर्यटकीय केन्द्र र तराईमा क्यासिनोसहितका पर्यटकीय पूर्वाधार तथा गतिविधि विस्तार गर्नु पर्दछ । यसैअनुसारको अवधारणा तय गरी काम अगाडि बढाइएको बोर्डले जनाएको छ । 

पर्यटन प्रर्वधनका लागि बोर्डले पहिलो तीन महीना विश्व समुदायलाई नेपाल खुला छ भन्ने सन्देश प्रवाह गर्ने, दोस्रो तीनदेखि छ महिनामा पर्यटन क्षेत्रले आफूलाई पूर्णरुपमा तयार राख्ने र छ महिनापछि पुरानै अवस्थामा फर्किने गरी रणनीति बनाउनेतर्फ बोर्डले सरोकारवालासँगको सहकार्यमा आवश्यक काम गरिरहेको जनाएको छ ।