हरिचन्द्र लावती | जीवनदर्शन | बैशाख ०५, २०७६
‘किराँत धर्म’ एउटा खास अर्थमा समस्तबोधक शब्द हो, अर्थात् किराँतीले मान्दै आएको किराँती धर्म -CBS Report 2011_ हो । लिम्बू, राई, याक्खा र सुनुवार जातिले मान्ने धर्मलाई ‘किराँत धर्म’ भनिन्छ । डा. मोहन कुमार तुम्बाङ् (२०१३, पृ. ५०) आफ्नो पिएचडीको शोधपत्रमा लेख्छन्– "...The Limbus are one of the followers of the Kiranti religion which is believed to be one of the most ancient religions of the world. The other ethnic groups following the Kirat religion are the Rais, Yakhas and Sunuwars."
चलनचल्तीको भाषामा यो धर्मलाई ‘किराँत धर्म’ वा ‘किराँती धर्म’ भनिन्छ । किराँत धर्ममा खास गरेर आदिमकालीन पन्थ र सत्यहाङुमा पन्थहरू रहेको पाइन्छ । आदिमकालीन पन्थका अनुयायीमा प्रकृतिपूजक वा परम्परावादी/येहाङ्–शास्त्रका परम्परागत अनुयायीहरू वा युमा साम्यो पन्थहरू पर्छन् । ‘किराँत धर्मका धार्मिक क्रियाकलाप हेर्ने हो भने किराँत धर्ममा मुख्यतया दुई सम्प्रदाय वा पन्थ देखापरेको देखिन्छ– युमा धर्म पन्थी र सत्यहाङमा पन्थी ।’ (यक्सो २०७५, पृ. ३३) ।
आदिमकालीन पन्थमा अनुष्ठान गर्दा बलि पूजा गरिनुका साथै मादक पदार्थ सेवन गर्न प्रतिबन्ध हुँदैन । पन्थीहरू अनुष्ठान गर्दा थुङ्साप् मुन्धुम्लाई फेदाङ्मा, येबा, साम्बामार्फत् उपयोग गर्छन् ।
सत्यहाङमा पन्थका प्रणेता मुहिगुम अङ्सिमाङ (महापुरुष र दार्शनिक) महागुरु फाल्गुनन्द हुन् । सत्यहाङमा पन्थीहरू अनुष्ठान गर्दा बलि पूजा गर्न, मादक पदार्थ सेवन गर्न मनाही गर्छन् । अनुष्ठान गर्दा सत्यहाङमा पन्थीहरू पेसाप् मुन्धुम्लाई सेवासाबामार्फत् उपयोग गर्छन् ।
मुन्धुम्ले लिम्बू जातिले परम्परागत रूपमा गरिआएको धर्म संस्कार के कसरी गरिन्छ भन्ने विषयमा वर्णन गर्छ । मुन्धुम्ले मूलरूपमा चार पक्षलाई समेट्छ । पहिलो हो, सृष्टि । सृष्टि मुन्धमले ब्रहमाण्ड, ग्रह, उपग्रह, आकाश, पुथ्वी, जल, जीव, चराचुरुंगी, बोटबिरुवा र मानव सृष्टि कसरी भयो भन्ने विषयको वर्णन गर्छ । दोस्रो हो, संस्कृति र संस्कार । यी संस्कृति र संस्कार मुन्धुमले संस्कृति र संस्कारको जन्म र विकास कसरी भयो भन्ने विषयको वर्णन गर्छ । तेस्रो हो, जीवन पद्धतिबारे मुन्धुम । यी मुन्धुमले लिम्बू जातिले पराूुर्वकालदेखि के कसरी जीवन बिताउँथे भन्ने विषयको वर्णन गर्छ । चौथो पक्षले धर्म संस्कार गरिने विधि तथा प्रक्रियाबारे वर्ण गर्छ ।
आदिमकालीन पन्थ र सत्यहाङमा पन्थ दुवैको साझा मुख्य देवता तागेरानिङ्वाभु माङ् नै हो । किराँत धर्मावलम्बी युमा साम्माङ्, थेबा साम्माङ्, हिम् साम्माङ्, अक्वामा साम्माङ्, मुदेम्मा साम्माङ्, वारक्मा साम्माङ्, मेफ्रामा साम्माङ्, तक्सङ्बा साम्माङ्, पयाङ्लुङ्मा, सिङ्लाबा, मिसेक्पा÷पुङ्साम्माङ् साम्माङ्, खान्जामा÷सेङ्घामा साम्माङ्, ताम्भुङ्नाच्चिामा साम्माङ्, फाक्मुरा साम्माङ्, थुङ्दाङ्बा साम्माङ्, काप्पोबा साम्माङ्, सबा साम्माङ्/यच्द्धाबा साम्माङ्, असेःक् साम्माङ्, इत्यादिको पूजा गर्छन् ।
किराँत धर्मग्रन्थ
किराँत धर्मशास्त्रको मूल ग्रन्थको नाम नै ‘मुन्धुम् वा मुन्दुम् वा मुन्थुम् वा रिदुम् वा दुम् वा मुक्दुम्’ हो । लिम्बूहरू आफ्नो धर्मग्रन्थलाई ‘मुन्धुम्’ भन्छन् । समग्रमा राईहरू आफ्नो धर्मग्रन्थलाई ‘मुन्दुम्’ भन्छन् (मेवाहाङ् राईहरू, वान्तवा राईहरू, साम्पाङ् राईहरू ‘मुन्दुम्’ भन्छन्; कुलुङ् राईहरू ‘रिदुम्’ भन्छन्; चाम्लिङ् राईहरु ‘दुम्’ भन्छन्, इत्यादि) । त्यसैगरी याक्खाहरू आफ्नो धर्मग्रन्थलाई ‘मुन्थुम् वा मिन्तुम्’ भन्छन् । सुनुवारहरू आफ्नो धर्मग्रन्थलाई ‘मुक्दुम्’ भन्छन् । तर, यहाँ किरात लिम्बूहरूको मुन्धुम्को विशेष चर्चा गरिन्छ, जसलाई ‘किराँत मुन्धुम्’ भनिनेछ ।
किराँत मुन्धुम्
किराँत लिम्बूहरूको मुन्धुम् आधारभूत रूपले श्रुति परम्परामा आधारित नै हो । त्यसैले यो मुन्धुम्लाई ‘थुङ्साप् मुन्धुम्’ भनिन्छ । ‘थुङ्साप् मुन्धुम्’ अति प्राचीन मुन्धुम् हो । यो काव्यात्मक कृति हो, मौखिक रूपमा रहेको लोक महाकाव्य हो, मुन्धुम् किनकि लिम्बू लोकसाहित्यको रूपमा पनि यसको महत्व अति उच्च छ । मुन्धुम्मा भएको भाषा एवं विभिन्न छन्दको प्रयोगबाट पुष्टि गर्न सकिन्छ, मुन्धुम् पद्यात्मक एक विशिष्ट महाकाव्य हो । मुन्धुम् विभिन्न अवसरमा विभिन्न तरिकाले फलाकिएको वा वाचन गरिएको वा गाइएको हुन्छ । यसरी भनेको सुन्दै–सुन्दै एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुन्धुम हाम्रो लिम्बू जातिको अथाह ज्ञानको महासागर पनि हो ।
किराँत मुन्धुमको संक्षिप्त इतिहास:
मुन्धुम्को लेख्यरूपलाई ‘पेसाप् मुन्धुम्’ भनिन्छ । यसको इतिहास रोचक छ । बी. एच. हड्सन, नेपालका लागि ब्रिटिस रेजिडेन्ट, ले लिम्बू सूचक तथा जानकार स्रोतव्यक्तिका सहयोगबाट १९०३ सम्ममा समग्र मुन्धुम् संकलन गरिसकेका थिए ।
सन् १९५५ को अन्त्यमा लिम्बू भाषाको अध्ययन गर्न आउने प्रोफेसर आर.के. स्प्रिगले ती पाण्डुलिपि लिएर आउँदा मात्र मुन्धुम्को प्रारम्भिक लेख्यरूपबारे थाहा भयो । पछिबाट ब्रिटिस लाइब्रेरीले इमानसिंह चेम्जोङलाई मुन्धुम्का अंशहरू अनुवाद गर्न लगायो । यसरी लिखित मुन्धुम्को प्रारम्भ भयो ।
मुन्धुम्लाई फेदाङ्मा, साम्बा, येबा/येमानीहरूले (पुरोहितहरूले) मुखमुखै फलाक्दै ल्याएको कारण यसलाई ‘थुङ्साप’ भनिएको हो । जीवनकै यस्तो पथप्रदर्शक मुन्धुम्लाई दस्तावेजीकरण एवं इतिहास संरक्षण गरी कार्यमा एकरूपता गर्नु आवश्यक थियो । यक्सो (२०७५ प.५)का अनुसार किराँत धर्मको आवश्यकता र महत्वलाई बुझेर केही किराँत कुलवंशका विद्वान व्यक्तित्वबाट यसको खोज अनुसन्धान गर्न थालियो । अन्ततोगत्वा एउटा हस्तलिखित बेरुवा पुस्तक फेला पर्यो र यसको लेखन तथा सम्पादन गरी सर्वप्रथम ‘किराँत मुन्धुम्’को प्रकाशन गर्ने काम स्व. इमानसिं चेम्जङ्ले २०१८ सालमा भारतको दार्जिलिङबाट गर्नुभएको थियो । उक्त मुन्धुमको पुस्तक नै आजसम्मको लिखित धर्मशास्त्रको औपचारिक दस्तावेज हो ।
यसरी पेसाप् मुन्धुम्को इतिहास सुरु भएको पाइन्छ । पेसाप् मुन्धुम्को व्यवस्थापन मूलतः महागुरु फाल्गुन्दबाट भएको हो । यसको बाँकी काम किराँत धर्मगुरु आत्मनन्द लिङ्देनले गरिरहेका छन् । महागुरु फाल्गुन्दले पूजामा बलि प्रथा र मद्यपान धुम्रपानले मानिसको मानसिक, शारीरिक, मनोवैज्ञानिक, सामाजिक र आर्थिक अवस्था छिन्नभिन्न बनाई समग्रमा मानिसको जीवन नै संकटमा पर्नेदेखि वि.सं. १९८८ मा सत्यधर्म मुचुल्का (हे. यहाँ नं. ५.२)मार्फत् समाज सुधारको बाटो तयार गरी सत्यहाङमा पन्थको उदय गराएका हुन् ।
किराँत मुन्धुम् र लिम्बू भाषा:
लिम्बू मुन्धुम्लाई लिम्बू भाषामा ‘याक्थुङ् मुन्धुम्’ भनिन्छ । मुन्धुम्को अर्थ र परिभाषा यहाँ चर्चा गरिन्छ । श्रुति–परम्परामा प्रचलित किरात–लिम्बू–धर्मशास्त्र (काइँला २०५९, पृ.३४३) लाई मुन्धुम भनिन्छ । किराँत धर्मदर्शनअनुसार ‘ताङ्साङ्खाम्बेक् केरेक् वान्छिङ् ल पत् अर्थात ‘स्वयं गतिशील, स्वचालित ब्रम्हाण्ड’ (यक्सो २०७५ पृ. १७) भनाइले पृथ्वी चलायमान भएको स्पष्ट व्याख्या मुन्धुमले गर्छ ।
मुन्धुम् {मुन् ‘कम्पन’ + थुम्‘शक्ति’} माङ्बाःन् {माङ्‘इश्वर’ + पाःन्‘वाणी’} एवं माङ्धुक् {माङ्‘इश्वर’ + थुक्‘आङमा देव सवार’} अर्थात् अलौकिक शक्तिले विश्व ब्रम्हाण्ड चलायमान हुने, मुन्धुम् ईश्वरीय वाणी भई ईश्वरको आराधना गर्दा शरीर कम्पन भई मानवचेतले दृष्टि र बोध गर्ने अलौकिक देवमय शक्तिलाई/स्वरूपलाई मुन्धुम् भनिन्छ । यही कारण फेदाङ्मा, येबा/येमा, वा सेवासाबाले मुन्धुम् माङघः {माङ्‘इश्वर’ + खः‘मन्त्र पाठ’}गर्दा उनीहरूको शरीरमा देव सवार भई काम्ने गर्छन् ।
लिम्बू भाषा मुन्धुमी भाषा हो । यो भाषामा प्रयोग गरिने व्यवहार दुई किसिमले फरक छ । पहिलो, यो साधारण भाषा भन्दा फरक छ । दोस्रो, यो भाषा अझ पनि सामान्य चेतले बुझ्न सकिन्न, जस्तै:
साधारण भाषा: याप्मि ‘मानिस’
मुन्धुमि भाषा: मेन्छाम्गेन् नाम्याप्मि {मेन्छाम्–गेन् ‘मानव–६ + नाम्‘घाम’ + याप्मि‘मानिस’} ‘मानिस’
साधारण भाषा: सुम्हा?लुङ् {सुम् ‘तीन’ + हेत् ‘रातो’ + लुङ्‘ढुङ्गा’} ‘फेदेन्/फिदिम स्थित सुम्हा?लुङ् गढी’
मुन्धुमी भाषा: सुम्जिरि {सुम् ‘तीन’ + चिरि#} सुम्हा?लुङ् ‘फेदेन्}फिदिमस्थित सुम्हा?लुङ् गढी’
मुन्धुम्ले लिम्बू जातिले परम्परागत रूपमा गरिआएको धर्म संस्कार के कसरी गरिन्छ भन्ने विषयमा वर्णन गर्छ । मुन्धुम्ले मूलरूपमा चार पक्षलाई समेट्छ । पहिलो हो, सृष्टि । सृष्टि मुन्धमले ब्रहमाण्ड, ग्रह, उपग्रह, आकाश, पुथ्वी, जल, जीव, चराचुरुंगी, बोटबिरुवा र मानव सृष्टि कसरी भयो भन्ने विषयको वर्णन गर्छ ।
दोस्रो हो, संस्कृति र संस्कार । यी संस्कृति र संस्कार मुन्धुमले संस्कृति र संस्कारको जन्म र विकास कसरी भयो भन्ने विषयको वर्णन गर्छ ।
तेस्रो हो, जीवन पद्धतिबारे मुन्धुम । यी मुन्धुमले लिम्बू जातिले पराूुर्वकालदेखि के कसरी जीवन बिताउँथे भन्ने विषयको वर्णन गर्छ ।
चौथो पक्षले धर्म संस्कार गरिने विधि तथा प्रक्रियाबारे वर्ण गर्छ ।
मुन्धुम्का प्रकार:
येहाङ्बाट मौखिक रूपमा प्राप्त मुन्धुम्लाई मूलभूत रूपमा दुई समूहमा विभाजन गर्न सकिन्छ ।
पहिलो, थुङ्साप् मुन्धुम् । दोस्रो, पेसाप् मुन्धुम् । थुङ्साप् मुन्धुम् अति प्राचीन मुन्धुम् हो । श्रुति परम्परामा आधारित भएकाले फेदाङ्मा, येबा, साम्बाहरूले मौखिक रुपमा भन्ने र सुन्ने परम्पराबाट अहिलेसम्म कायम छ । पेसाप् मुन्धुम् लिखित धर्मशास्त्र हो । मुन्धुम्को मूल स्वरूपमा अविराम एक रूप हुनसकोस् समेत भन्न मुन्धुम्लाई लिखित रूपमा रूपान्तरण गरिएको पाइन्छ । यही स्वरूपको दृष्टिकोणमा किराँत धर्मअन्तर्गत आदिमकालीन पन्थी र सत्यहाङ्मा पन्थीहरू स्वरूपमा भिन्न छन् । आदिमकालीन पन्थीहरू थुङ्साप् मुन्धुम् उपयोग गर्छन् भने सत्यहाङ्मा पन्थीहरू पेसाप् मुन्धुम् प्रयोग गर्छन् । आदिमकालीन पन्थीहरूको पुरोहित फेदाङ्मा, येबा र साम्बाहरू हुन् भने सत्यहाङ्मा पन्थीहरूको पुजारी सेवासाबाहरू हुन् । दुवै पन्थीहरूले मूल ईश्वर तागेरानिङ्वाभुमाङ्लाई आफ्नो मूल देवता मान्छन् ।
प्रमुख किराँत मुन्धुम्:
१. साम्जिक् मुन्धुम् (आध्यात्मिक दर्शनशास्त्र)
२. याङ्जिक् मुन्धुम् (अर्थशास्त्र व्याख्या गर्ने मुन्धुम् ।)
३. थक्सा मुन्धुम् (जीवविज्ञान)
४. सङ्जुम् मुन्धुम् (समाजशास्त्र)
५. साम्यो मुन्धुम् (धर्मशास्त्र)
६. साप्सक् मुन्धुम् (साहित्यशास्त्र)
७ साम्लो मुन्धुम् (संगीतशास्त्र)
८ इक्सा मुन्धुम् (पदार्थ वा भौतिक वस्तुको व्याख्या गर्ने मुन्धुम्)
९ काम्सिङ्वा मुन्धुम् (रसायनको व्याख्या गर्ने मुन्धुम् )
१० कुनिलिङ् मुन्धुम् (मनोविज्ञान व्याख्या गर्ने मुन्धुम् )
११ खाइक् मुन्धुम् (ज्योतिषबारे व्याख्या गर्ने मुन्धुम् )
१२ खानि;त् मुन्धुम् (गणित विषयको व्याख्या गर्ने मुन्धुम्)
१३ खाम्जिक् मुन्धुम् (भूगर्भशास्त्र)
१४ चम्जिक् मुन्धुम् (तान्त्रिकशास्त्र व्याख्या गर्ने मुन्धुम् ।)
१५ चुसिक् मुन्धुम् (कामशास्त्र)
१६ ता?जिक् मुन्धुम् (तर्कशास्त्र)
१७ थिम्जिक् मुन्धुम् (नीतिशास्त्र)
१८ फुम्जिक् मुन्धुम् (खनिज व्याख्या गर्ने मुन्धुम् ।)
१९ याम्जिक् मुन्धुम् (स्वास्थ्यविज्ञान व्याख्या गर्ने मुन्धुम्)
२० साम्बेसिक् मुन्धुम् (विद्युतशास्त्र)
२१ सिङ्लिङ् मुन्धुम् (वनस्पति विज्ञान व्याख्या गर्ने मुन्धुम्)
२२ हाङथिम् मुन्धुम् (राजनीतिशास्त्र)
२३ ह्ङिवा मुन्धुम् (जीवशास्त्र व्याख्या)
२४ ससि–मुन्धुम् (मौखिक गाथा वा इतिहास व्याख्या गर्ने मुन्धुम् ।)
२५ साप् मुन्धुम् (गाथा वा इतिहास लिखित रुपमा व्याख्या गर्ने मुन्धुम् ।)
क्रमशः
(नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दमक नगरपालिका, दमक प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रदेश १ स्तरीय त्रिदिवसीय बृहत् वाङ्मय संगोष्ठी–२०७५ मा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सभा सदस्य हरिचन्द्र लावतीले प्रस्तुत गरेको ‘किराँत मुन्धुमको दार्शनिक चिन्तन’ विषयक कार्यपत्रलाई आलेखको रूपमा प्रस्तुत गरेका छौं । यसै कार्यपत्रको पहिलो भागका रूपमा यसअघि ‘किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा’ शीर्षकमा आलेख प्रकाशन गरिएको थियो ।)
याे पनि
किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा