ज्ञानमित्र | ज्ञानविज्ञान | बैशाख ०५, २०७६
प्रक्षेपित हुनेदेखि कक्षमा स्थापित हुनेसम्म सबै कुरा ठिकठाक भइरहेमा नेपालको ‘नानो स्याटेलाइट’ले तीन वर्षसम्म अन्तरिक्षको ४०० किमि उचाइबाट पृथ्वीको परिक्रमा गरिरहने छ ।
तर, यो भनाई साइन्टिफिकली ठीक होइन । नेपालको ‘नानोस्याटेलाइट’ले योभन्दा धेरै बढी समयसम्म अन्तरिक्षमा रहेर पृथ्वीको गतिसँगै पृथ्वीको परिक्रमा गरिरहने छ ।
कति समयसम्म ?
त्यसको अनुमान लगाउन सजिलो छैन । यो अवधि थप दस वर्षसम्म पनि हुनसक्छ ।
स्याटेलाइटले तीन वर्षसम्म परिक्रमा गरिरहने छ, यसको अर्थ हो- यसले पृथ्वीस्थित कक्षलाई सूचना पठाइरहने छ, पृथ्वीस्थित कक्षसँग यसको सम्पर्क भइरहने छ । त्यसपछि यो मृत भएर अन्तरिक्षमा घुमिरहने छ ।
४०० किमि माथिको अन्तरिक्षमा कुनै पनि वस्तुलाई गति गर्न आन्तरिक वा बाह्य शक्ति आवश्यक हुन्न । पृथ्वीकै घुम्ने गति र प्रवृत्ति तथा गुरुत्वाकर्षणले त्यस वस्तुलाई घुमाई राख्छ । त्यो चाहे काम गरिरहेको स्याटेलाइट होस् वा मृत भइसकेको (पृथ्वीस्थित सम्पर्क कक्षसँग सम्बन्धविच्छेद भएका) स्याटेलाइट होस् अथवा अन्तरिक्ष यात्रीले छाडेको कुनै सामान, जस्तै : टुथब्रस, लुगा आदि...। ती सबै अन्तरिक्षमा घुमिरहन्छन् ।
एउटा नेपाली भएको नाताले यस अवसर र उपलब्धिमा खुसी नहुने को नै होला र ? तर, कुरा बुझ्दै जाँदा उत्पन्न भएको खुसी र हर्ष तब अमिलो बन्न पुग्छ, जब थाहा हुन्छ– प्रक्षेपित भएको नेपाली स्याटेलाइटबाट प्राप्त हुने सन्देश रिसिभ गर्ने नेपालमा ग्राउण्ड स्टेसन नै छैन ।
समाचार अनुसार नेपालले भर्खरै ग्राउण्ड स्टेसन बनाउने टेण्डर आह्वान गरेको छ रे ! विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) जेठको अन्तिम सम्ममा ग्राउण्ड स्टेसन बन्न सक्नेमा आशावादी छ । ग्राउण्ड स्टेसनमा जडान गरिने ट्रान्समिटर, रिसिभर लगायतका अन्य उपकरण विदेशबाटै ल्याउनुपर्छ । त्यसमा थप कति समय लाग्ने हो, त्यो नास्ट प्रशासनलाई नै थाहा होला । नेपालमा ग्राउण्ड स्टेसन नबनेसम्म स्याटेलाइटले पठाएका कुनै पनि सूचना नेपाली भूमिमा प्राप्त गर्न सकिन्न ।
नेपाली स्याटेलाइट जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहयोगमा निर्माण गरिएको हो । आफ्नो स्याटेलाइट नभएका देशहरूका लागि राष्ट्रसंघ र क्युटेकले सहयोग गरेर ती देशका लागि स्याटेलाइट पठाउनमा सहयोग गर्छन् ।
क्युटेकमा नेपाली स्याटेलाइट बनाउन दुई नेपालीको पनि संलग्नता छ । ती हुन्, क्युटेकमै इलेक्ट्रिकल तथा कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठ र स्पेश टेक्नोलोजीमा विद्यावारिधि गरिरहेका आभाष मास्के । दुवैलाई २ करोड ९९ लाख ९९ हजार ९ सय ९८ नेपालीको सलाम ।
नेपालको आफ्नो ग्राउण्ड स्टेसन नबनेसम्म क्युटेककै ग्राउण्ड स्टेसनले नेपाली स्याटेलाइटबाट प्राप्त डाटा रेकर्ड गर्नेछ ।
जापानको क्युटेकमा डेभ्लप गरिएको स्याटेलाइटलाई प्रक्षेपण गर्नका लागि जापानी एरोस्पेस कम्पनी ज्याक्साको प्राविधिक सहयोग लिनुपरेको थियो । ज्याक्साले स्याटेलाइटलाई अन्तरिक्षमा पठाउन अमेरिकाको अर्बिटल एटिके कम्पनीलाई जिम्मा दियो ।
स्याटेलाइट बनाउनमा उच्च प्रविधिकोे ज्ञान आवश्यक हुन्छ । र, यसरी पृथ्वीको ल्याबमा बनेको स्याटेलाइटलाई अन्तरिक्षका विभिन्न कक्षमा स्थापित गर्ने काम अर्को जटिल एवम् उच्च प्रविधियुक्त काम हो । स्याटेलाइटलाई पृथ्वीबाट अन्तरिक्षमा पठाएर निश्चित कक्षमा स्थापित गर्ने प्रविधि विश्वका सीमित राष्ट्रसँग मात्रै उपलब्ध छ । स्याटेलाइटलाई अन्तरिक्षको कक्षसम्म पु¥याउन पृथ्वीको स्केप भेलोसिटीभन्दा बढी गतिले हुत्याउनु पर्छ ।
नेपालका लागि प्रक्षेपण गर्न लागिएको स्याटेलाइट ‘नानोस्याट’ वर्गमा आउँछ । सामान्यतया तौलका आधारमा स्याटेलाइटलाई वर्गीकरण गरिन्छ । १ किलोदेखि १० किलोसम्मका स्याटेलाइटलाई ‘नानोस्याट’ वर्गमा राखिन्छ ।
४ अक्टुबर १९५७ मा सोभियत युनियनले संंसारकै पहिलो स्याटेलाइट स्पुतनिक–१ अन्तरिक्षमा पठाएको थियो । त्यसयता झण्डै ४० देशले ८१०० भन्दा बढी स्याटेलाइट अन्तरिक्षमा पठाइसकेका छन् । सन् २०१८ सम्मको तथ्यांक अनुसार ४९०० स्याटेलाइट निश्चित कक्षमा घुमिरहेका छन् । यीमध्ये १९०० स्याटेलाइटले मात्रै काम गरिरहेका छन् । बाँकीका सबै स्याटेलाइट अन्तरिक्षमा मानवले गरेको ‘अन्तरिक्ष कबाड’का रूपमा घुमिरहेका छन् ।
वैज्ञानिकले पृथ्वीबाट पठाएका स्याटेलाइट विभिन्न कक्षमा स्थापित गरिन्छन् । सबैभन्दा तल्लो कक्षलाई ‘लो अर्थ अर्बिट’ (LEO) भनिन्छ । अन्तरिक्षमा दुई हजार किमिभन्दा तलको कक्षलाई ‘लो अर्थ अर्बिट’ भनिन्छ । दुई हजार किमिदेखि ३५,७८६ किमिसम्मको क्षेत्रलाई ‘मिडियम अर्थ अर्बिट’ (MEO) तथा त्यसभन्दा माथिको अर्बिटलाई ‘हाई अर्थ अर्बिट’ (HEO) भनिन्छ ।
फरक–फरक उद्देश्यले पठाइएका स्याटेलाइट भिन्न–भिन्न ‘अर्थ अर्बिट’मा स्थापित गरिन्छन् । सन् २०१८ को तथ्यांक अनुसार ‘लो अर्थ अर्बिट’मा झण्डै ५०० जीवित स्याटेलाइट, ‘मिडियम अर्थ अर्बिट’मा ५० र ‘हाइ अर्थ अर्बिट’मा झण्डै १४५० स्याटेलाइट जीवित अवस्थामा काम गरिरहेका छन् ।
अन्तरिक्ष बडो विचित्र छ, जस्तो कि : नेपालले पठाउने स्याटेलाइट ४०० किमि माथिबाट पृथ्वीको परिक्रमा गर्छ । यसलाई एक परिक्रमा पूरा गर्न झण्डै ९० मिनेटको समय लाग्छ । भनौं यसले २४ घण्टामा पृथ्वीको १६ परिक्रमा गर्छ । पृथ्वीको एउटै परिक्रमामा यसले दिन रहेको पृथ्वी क्षेत्रबाट परिक्रमा सुरु गरी पृथ्वीमा रात्रि भएको क्षेत्रमा प्रवेश गरी पुनः दिन भएकै क्षेत्रमा पुग्छ ।
यसको घुम्ने गति २६–२७ हजार किमि प्रतिघण्टा हुन्छ । हिसाब गर्नुस्, प्रतिसेकेण्ड यसको गति कति होला ?
झण्डै ७–८ किमि प्रति सेकेण्ड ।
तर, ४०० किमिभन्दा जति–जति माथि गए त्यति त्यति यो गति कम हुँदै जान्छ । ७०० किमि माथि रहेको स्याटेलाइटलाई पृथ्वीको एक परिक्रमा गर्न ९७ मिनेट लाग्छ । यसैगरी ३६,००० किमि माथि रहेका स्याटेलाइट पृथ्वीसँग घुम्छन् अर्थात् यी स्याटेलाइट २३ घण्टा ५६ मिनेट ४ सेकेण्डमा पृथ्वीको एउटा परिक्रमा पूरा गर्छन । यसो हुनुको मूल कारण भने पृथ्वीको गुरुत्वाकर्षण हो भन्ने कुरा तपार्इँलाई थाहै छ । ३ लाख ८४ हजार ४ सय किमि टाढा रहेको प्राकृतिक स्याटेलाइटले पृथ्वीको एक परिक्रमा पूरा गर्न २७.३ दिन लगाउँछ ।
वैज्ञानिकले पठाउने स्याटेलाइट तौलमा सय ग्रामदेखि लिएर हजारौं किलोग्रामसम्मका हुन्छन् । तौल अनुसार यिनलाई ‘फेमटोस्याटेलाइट’ (१०० ग्रामदेखि कम), ‘पिकोस्याटेलाइट’ (१०० ग्रामदेखि १ किलोग्रामसम्म), ‘नानोस्याटेलाइट’ (१ किलोग्रामदेखि १० किलोग्रामसम्म), ‘माइक्रोस्याटेलाइट’ (१० किलोग्रामदेखि १०० किलोग्रामसम्म) र ‘स्मलस्याटेलाइट’ (१०० किलोग्रामदेखि ५०० किलोग्राम) हुन्छन् ।
अबको युगमा पृथ्वीलाई बुझ्ने, जोड्ने, उन्नत प्रविधि सम्पन्न बनाउने र पृथ्वीको रक्षा गर्ने लगायत काम अन्तरिक्षबाटै सम्पन्न हुन्छन् । अबको विश्वमा स्याटेलाइटको प्रयोग अपरिहार्य हुन गइरहेको छ ।
नेपालले पठाएको स्याटेलाइटको धेरै ठूलो महत्व नभए पनि यसलाई पहिलो पाइला भनी स्वागत गर्नु अपरिहार्य छ । भनौं, अन्तरिक्षमा नेपालको उपस्थिति भएको हो । हामी सबै नेपालीले यस कार्यका लागि एक अर्कालाई बधाई ज्ञापन गरौं । साथै नेपालका प्रधानमन्त्रीसँग अनुरोध गरौं- स्याटेलाइटको ग्राउण्ड स्टेसन बनाउन र आवश्यक पर्ने उपकरण मगाउन तदारुकताका साथ पहल होस् । साथै निकट भविष्यमै नेपालको आफ्नो टेलिकम्युनिकेसकन स्याटेलाइट स्थापित गर्ने योजना बनोस् ।
लोकसंवाद डट कमका सबै पाठकलाई आज (वैशाख ५ गते) नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको उपलक्ष्यमा हार्दिक बधाई ।