लोकसंवाद संवाददाता | समाचार | बैशाख ०५, २०७६
प्राय हाजिरी जवाफ प्रतियोगितामा सोधिने आम प्रश्न हुन्थ्यो, विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति कहाँ छ ?
यसको उत्तर अरु देशका मानिसका लागि कठीन होला तर बुद्ध धर्मप्रतिको सद्भाव, लगावका कारण वा बुद्ध नेपालमा जन्मिएका कारण पनि सामान्य नेपालीलाई भने सहज नै लाग्छ ।
सन् १९९६ मा अफगानिस्तानमा तालिबानले सत्तामा कब्जा जमाए पछि भने यो विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति कहाँ छ भन्ने प्रश्न नै ओझेल पर्यो । स्वाभाविक हो प्रश्न नै ओझेल परेपछि उत्तर आफैंमा धुमिल भयो ।
अफगानिस्तानमा इस्लाम धर्म भन्दा अगाडी बनाइएका प्राचिन कालमा निर्माण गरिएका धार्मिक र ऐतिहासिक सम्पदा तालिबानले उसको शासनकालमा फोर्यो, टुक्र्यायो, क्षतविक्षत पार्याे वा भनौं सकेसम्म नष्ट गर्यो । जो उसलाई लाग्यो कि यी इस्लाम विरोधी हुन वा भनौं उसले त्यसलाई आफ्नो तुष्टि साध्ने साधनका रुपमा प्रयोग गर्यो ।
यी प्राचिन कला स्मारकलाई उसले प्रतिरोध साध्ने अस्त्रका रुपमा प्रयोग गर्यो । यस्ता दृष्य टेलिभिजनमा प्रसारित गराएर उसले आफ्नोे क्रुर शासन तथा विरोधीलाई आतंकित बनायो । अरु मूकदर्शक भएर हेर्न वाध्य भए ।
त्यसबखत व्यापारिक मार्गका रुपमा प्रयोग हुने रेशम मार्ग अफगानिस्तान हुँदै जान्थ्यो । त्यसकारण पनि अफगानिस्तानमा बौद्ध धर्म लगायत अन्य विविध कला सम्पदाको विकास भएको थियो ।
अहिलेको अफगानिस्तान सरकार भने तलिवानले नष्ट गरेका यीनै कला सम्पदाको संरक्षणमा लागेको छ । तर द्वन्द्वग्रस्त अफगानिस्तानले यसलाई कसरी जोगाउँछ यो ठूलो चुनौतिको विषय हो ।
पहिले अफगानिस्तानको सम्पन्न इतिहासको परिचायक यी मूर्ति तथा कला, सम्पदा अहिले तालिवानको शासन सत्ता सम्झाउने एउटा कडी पनि हुन् । फेरि तालिवान सत्तामा आए भने यी पूरातात्विक बस्तुको हालत पुनः के होला भन्ने चिन्ता पनि त्यत्तिकै छ ।
अहिले काबुलस्थित राष्ट्रिय संग्रहालयले भग्नावशेष जोडेर प्राचिन बुद्ध मुर्तिहरुलाई पुरानै स्वरुपमा बनाउने प्रयत्न गरिरहेका छन् । अहिले स्थानीय र विदेशी विज्ञहरुको एउटा समूह सात हजारवटा टुक्राबाट फेरि बुद्धको मुर्तिहरु बनाउने प्रयासमा लागेको छ ।
यी पूरातात्विक वस्तुहरु कसैको सम्पत्ति होइन यो संसारकै धरोहर हो । त्यसकारण पनि यसको जर्गेना जरुरी छ ।
एउटा नेपालीका नाताले यो पक्कै पनि सुखद समाचार हो ।