लोकसंवाद संवाददाता | समाचार | बैशाख ०६, २०७६
मेलम्चीघ्याङ । चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको ‘होमस्टे’ (घरबास) गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झन्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो। स्थानीयले पुनर्निर्माणलाई अघि बढाएसँगै पर्यटन व्यवसाय लयमा फर्किएको हो।
पुनर्निर्माणलाई अन्तिम चरणमा पु-याएका उनीहरुले पर्यटन प्रवद्र्धन गर्न होमस्टेका लागि कोठा नै छुट्याएर घर बनाएका छन्। होमस्टेको व्यवस्था भए पनि यसअघि यसैका लागि भनेर कोठा छुट्याइँदैनथ्यो। पर्यटक र स्थानीय एउटै कोठामा बस्थे, सुत्थे।
‘होमस्टेलाई अझै व्यवस्थित बनाउन कोठा नै छुट्याएर घर पुनर्निर्माण गरेका हौं,’ होमस्टे सञ्चालक पेमानेटुप शेर्पाले नागरिकसँग भने। भूकम्पपछि तीनकोठे घरको पुनर्निर्माण गरेका उनले दुईवटा कोठामा होमस्टे सञ्चालनमा ल्याएका छन्। दोस्रो घरसमेत बनाइरहेका उनले त्यो सम्पन्न भएपछि बढाएर पाँच कोठामा होमस्टे विस्तार गर्ने बताए।
‘भूकम्पअघि पनि होमस्टे सञ्चालन गरेका थियौं,’ पेमानेटुप भन्छन्, ‘होमस्टे सञ्चालनमा ल्याउने भएपछि बारबेर गरी अस्थायी कोठा निकालेका थियौं।’ घर पुनर्निर्माण सकेसँगै होमस्टेमा बस्ने आन्तरिक तथा बाह्य पर्यटक पुरानै दरमा आउन थालेको उनले बताए। साविक हेलम्बु गाविसकै सबैभन्दा ठूलोगाउँ मेलम्चीघ्याङमा एक सय ४० घर परिवारको बसोबास छ। झन्डै ९० प्रतिशत परिवारले पुनर्निर्माण सकेको गाउँका अगुवा कामी लामा बताउँछन्। यो समाचार आजको नागरिक दैनिकले प्रकाशित गरेको छ ।