लोकसंवाद संवाददाता | समाज | फागुन १३, २०७७
झिमरुक । झिमरुक गाउँपालिका–६ चिसाबाङ्गका ईश्वरीप्रसाद पोखरेलले जिल्लामै ठूलो लगानीमा व्यावसायिकरूपमा लेयर्स जातको कुखुरापालन गर्दै आउनुभएको छ । भारतीय सेनाको जागिरका क्रममा खुट्टामा गोली लागेपछि सात वर्षकै अवधिमा २०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अवकास लिएपछि व्यवसायमा लागेको उहाँले बताउनुभयो ।
नेपालमै केही गर्ने मनसायले व्यवसायमा जोडिएको उहाँँको भनाइ छ । प्रिसा पशुपक्षी तथा कृषि फार्ममार्फत २०७५ मङ्सिर २४ गतेदेखि लेयर्स कुखुरापालन शुरु गरेको उहाँले बताउनुभयो । फार्ममा अहिले सात हजार लेयर्स जातका कुखुरा रहेका छन् । पालेको साढे पाँच महिनामा लेयर्स जातको कुखुराले अण्डा दिन शुरु गर्दछ ।
सोहीअनुसार फार्ममा दैनिक २८ पेटी ९पाँच हजार ८८० गोटा० अण्डा उत्पादन हुने गरेको फार्मका व्यवस्थापक वियजकुमार गुप्ताले बताउनुभयो । यहाँ उत्पादन भएको अण्डा जिल्लासँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी तथा भैरहवा, नेपालगञ्ज र काठमाडौँमा पनि खपत हुने गरेको उहाँले बताउनुभयो । बन्दाबन्दीको समयमा बजारका लागि केही समस्या भए पनि हाल धेरै ठाउँबाट माग हुने हुँदा अण्डा पुर्याउन धौधौ भएको उहाँको भनाइ छ ।
साढे चार करोड लगानीमा लेयर्स कुखुरा फार्मसँगै तरकारी खेतीसमेत गरेको व्यवस्थापक गुप्ताले बताउनुभयो । “शुरुमा १० हजार कुखुरा फार्ममा हालेका थियौँ”, गुप्ताले भन्नुभयो, “हाल सात हजार छन् ।” अबको केही समयमा कुखुरा थप्ने योजना रहेको उहाँले बताउनुभयो । कुखुरा थप्नका लागि रु छ करोड लगानीमा संरचना निर्माण हुँदै गरेको उहाँले जानकारी दिनुभयो । नयाँ संरचना निर्माणपश्चात दुई लाख कुखुरा अट्नेछन् ।
बाइस रोपनी क्षेत्रफल जग्गामा फार्म सञ्चालन गरिएको छ । सात रोपनी जग्गा वार्षिक रु ६० हजार तिर्ने गरी लिजमा लिएकोसमेत व्यवस्थापक गुप्ताले बताउनुभयो । फार्म सञ्चालनका लागि आफ्नै लगानीमा लिफ्टमार्फत खानेपानी, बिजुलीको ट्रान्समिटर, ७०० मिटर सडक निर्माणसमेत गरिएको छ । त्यस्तै ढुवानीका लागि एउटा पिकअप, एउटा कार र १ ट्र्याक्टरसमेत रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कुखुरालाई दाना भैरहवाबाट खरिद गर्ने गरिएको छ । फार्म सञ्चालनका लागि १८ कर्मचारी समेत राखेको उहाँको भनाइ छ । फार्मबाटै विभिन्न क्षेत्रको खर्च कटाएर वार्षिक रु ५० लाख आम्दानीसमेत हुँदै आएको व्यवस्थापक गुप्ताले बताउनुभयो ।
विसं २०७६ साउन २ गते आएको अविरल वर्षाका कारण गएको पहिरोले कुखुरा राखेको टहरा पुर्दा फार्ममा रहेका एक हजार २०० कुखुरा नष्ट हुनुका साथै टहरा क्षतिग्रस्त हुँदा करिब रु ५० लाख बराबरको क्षति भएको फार्म सञ्चालक पोखरेलले बताउनुभयो । हालसम्म कुनै पनि निकायबाट फार्म सञ्चालनका लागि सहयोग नपाएको र जिल्लास्थित स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संस्थाबाट सेवा सुविधा नपाएको उहाँले दुखेसो पोख्नुभयो ।