लोकसंवाद संवाददाता | समाचार | बैशाख ०६, २०७६
राजविराज । सरकारी कागजात र छाप किर्ते गरी उपभोक्ता समिति बनाएर सरकारी बजेट फुत्काउन खोजेको आरोप लागेका पूर्वसभासद बीपी यादव र राजपा नेपालका केन्द्रीय सदस्य हरिनारायण मण्डललाई सप्तरी प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
यादव पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट समानुपातिक सभासद भएका थिए । रातो पासपोर्ट काण्डमासमेत मुछिएका उनी पछिल्लो समय राजपा नेपालमा केन्द्रीय सदस्य हुन् ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ जोड्ने सडकमा माटो र ग्राभेलको काम गर्न प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आएको २५ लाख रुपैयाँको योजना सञ्चालन गर्न यादव र मण्डलले मिलेर किर्ते उपभोक्ता समिति गठन गरेको आरोप छ । प्रारम्भिक अनुसन्धान क्रममा यादव र मण्डलको संलग्नता देखिएपछि दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । पक्राउ गरिएका दुवै जनालाई बिहीबारै जिल्ला अदालतबाट सरकारी छाप, दस्तखत किर्ते गरेको मुद्दामा म्याद थप गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।