लोकसंवाद संवाददाता | समाचार | बैशाख ०६, २०७६
काठमाडौँ । लेखा परीक्षणबाट टुंगिइसकेको विषयवस्तुलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई ३ दिनभित्र उपस्थित हुन पत्र काटेको छ । कार्यालयमै उपस्थित नभएको अवस्थामा आधारभूत तलबबाहेक विभिन्न भत्ता लिएको आरोपमा अख्तियारले उनलाई छानबिनका लागि पत्र काटेको हो ।
'यहाँको सबै विषयवस्तुबारे अवगत छु, यसखालको गतिविधिले व्यक्तिमाथि आतंक सिर्जना गर्ने काम भयो' अख्तियार स्रोतले भन्यो, 'सञ्जेलमाथि काटिएको पत्रको विभिन्न कोणबाट प्रश्न उठाउने ठाउँ छन्। अख्तियारले लोकमानकै शैलीमा काम गर्न खोजेको हो कि भन्ने देखिँदैछ।' सञ्जेलमाथि परेको उजुरीको विषयवस्तु दुई वर्ष पहिलेको हो, जसलाई दुई पटक महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गरी टुंग्याइसकेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ११ मा अख्तियारले कुनै उजुरी आउनासाथ प्रारम्भिक छानबिन गराउन सक्ने व्यवस्था छ। अख्तियारले यसबारे सञ्जेललाई कुनै स्पष्टिकरण सोध्ने लगायतको काम नगरेको उनले बताए। उनले भने, 'अख्तियारको इटहरी कार्यालयका दुई अधिकृतले यसबारे मौखिक रुपमा सोधेका हुन्। मैले सबै कागजात देखाएको थिए।' मौखिक सोधपुछलाई अनुसन्धानका क्रममा प्रमाण मान्न सकिँदैन। अख्तियारले प्रारम्भिक अनुसन्धानका क्रममा अपनाइने स्पष्टिकरणको प्रक्रियामा नै नगई विस्तृत अनुसन्धानको कार्यशैली अपनाएको देखिन्छ। किनभने विस्तृत अनुसन्धानमा मात्रै आरोपीलाई बयानका लागि बोलाइन्छ। अपवादबाहेक सामान्यतया, प्रारम्भिक सोधपुछ र स्पष्टिकरण नसोधी विस्तृत अनुसन्धान गरिँदैन। तर, सञ्जेललाई सोझै सम्पत्ति अनुसन्धान महाशाखामा बोलाइएको छ।
‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिन्छु’
उपसचिव प्रेमप्रसाद सञ्जेलले भ्रष्टाचारी भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिने बताएका छन् । भ्रष्टाचारकोविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३ गते तीन दिनको म्याद दिएर बयानकालागि पत्र काटेपछि उनले बिहिबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।