लोकसंवाद संवाददाता | समाचार | फागुन १५, २०७७
जनकपुरधाम । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फर्छ्यौट गरेको छ ।
चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ । यो लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत रहेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फर्छ्यौट नभएको अदालतद्वारा आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिष्ट्रार खगराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्षबाट सरिआएको एक हजार ६८२ मुद्दा र चालु आर्थिक वर्षको दुई हजार ५५१ गरेर कूल चार हजार २३३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको छ । उहाँले धेरै मुद्दाको चाप भए पनि जनशक्ति अभावका कारण लक्ष्यको तुलनामा मुद्दा फर्छ्यौट हुन नसकेको बताउनुभयो । रजिष्ट्रार अधिकारीले गरिब तथा विपन्न वर्गको कानूनी रक्षा गर्न अदालतले निःशुल्क कानून व्यवसायी उपलब्ध गराएको जानकारी दिनुभयो ।
उच्च अदालतमा अहिले ५६ जना जनशक्ति कार्यरत छन् भने ९६ जनाको दरबन्दी रहेको उहाँको भनाइ छ ।