लोकसंवाद संवाददाता | स्वास्थ्य | फागुन १६, २०७७
काभ्रेपलाञ्चोक । आँखामा लाग्ने रोगका विषयमा सचेतना जगाउने ध्येयले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिइएको छ ।
नमोबुद्ध नगरपालिका र रेयुकाइ एईको मासुनागा आँखा अस्पतालद्वारा संयुक्त रुपमा आयोजित तालीमको शुभारम्भ गर्दै नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकालाई मोतियाविन्दु मुक्त नगर बनाउने अभियान सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले उपलब्ध गराएको मोबाइल फोन प्रयोग गरेर गाउँघरमा भएका स्वास्थ्य समस्याबारे सूचना उपलब्ध गराउन स्वयंसेविकालाई आग्रह गर्नुभयो ।
नगरपालिकाले रेयुकाई आँखा अस्पतालसँग सहकार्य गरी आँखा शिविर सञ्चालन गरिरहेको छ । आँखा अस्पतालका सचिव धर्मभक्त प्रधानले कोही पनि अन्धोपनको शिकार बन्न नपरोस् भन्ने उद्देश्यले अस्पताल स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक विमल पौडेलले सामान्य लापर्वाहीले पनि अन्धोपनको समस्या देखिने उल्लेख गर्नुहुँदै यसलाई न्यूनीकरण गर्नका लागि तालीम आयोजना गरिएको बताउनुभयो ।
तालीममा नगरपालिकाका विभिन्न वडाका ३६ महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।