रवीन्द्र आनन्द | जीवनदर्शन | बैशाख ०७, २०७६
Spirituality is a personal relationship with the core being; not the crowd control.
कुन बेला यो लेखेको रहेछु, याद गरेको थिइन । फेसबुकको मेमोरीमा देखाएकाले कपी-पेस्ट गरेको थिएँ । साँझपख चियाको लगभग अन्तिम घुट्कोमा आइपुग्दा मात्रै फ्याट्ट यो पोस्टको याद दिलाउँदै ज्ञानमित्रजीले भन्नुभयो- यसबारे एउटा लेख लेख्नुपर्यो ।
अब मलाई सकस पर्न थाल्यो । उकुसमुकुसजस्तो...।
जिन्दगीमा कहिल्यै टाई लगाउन मन लागेन, यसकारण कि मलाई उकसमुकुस महशुस हुन्छ यो बाँधेपछि । तर ज्ञानमित्रजीले मानसपटलमै टाई बाँधिदिनुभो ।
उहाँले पोस्टमा व्यक्त भएको भावनाको वरिपरि रहेर जे लेखे नि हुन्छ भनिदिनुभएकाले सहज भयो । धन्न उहाँले मेरा अरु पोस्टतिर आँखा गाड्नुभएनछ, जस्तो : ‘के मानिस फलामको पिँजडाबाट सुनको पिँजडामा डेरा सर्नु नै जीवनको उद्देश्य हो त ?’
‘मौनताको लत यति खतरनाक हुन्छ कि यसको स्वाद बसेपछि अरु चिज खल्लो लाग्छ ।’
‘गहिराईमा बोरिङ गरेर निकालेको पानीभन्दा सतहमा मूल फुटेर निस्केको कुवाको पानीको स्वाद मीठो हुन्छ ।’
भीडभाडबाट पन्छिएर आफूलाई खोज्न थालेपछि के हुन्छ ? यो प्रश्नको जवाफ एक वाक्यमा आउने भए रमण महर्षिको सिंगो जीवन अरूणाचलको डाँडोमा व्यतित हुन्थेन होला । स्वस्फूर्त उहाँ मौनतामा डुबिरहनुहुन्नथ्यो होला । अनहत नादमा त ध्वनि एकनासले आफैं आइरहन्छ, जुन सुन्न थालेपछि योगीले संसार फिक्का अनुभव गर्छ, यसो भन्छन् योग र तन्त्रका शास्त्र । तर, आखिर त्यो पनि ध्वनि नै त हो । रमणलाई त ध्वनिमा पनि आलम्वन नलिएर ‘म को हुँ ?’ को मूल प्रश्नमै प्रेम बस्न गयो । अरु आउने–जाने विचारका लहर दुई दिने घामछाँया भनेजस्तै भए उहाँको लागि । जिन्दगीको आधाभन्दा बढी समय मौनतामा बिताउनुभएका उहाँलाईभन्दा अरु कसलाई थाहा होला र ! यो प्रश्नको उत्तर । आफूकोमा आउन मन लागे आए हुन्छ, जान मन लागे गए हुन्छ भन्ने जवाफ दिने रमण महर्षिमा भीड जम्मा गर्ने मनसुवा थियो भनेर भन्न सकिएला र ? भलै आश्रम भने खडा गरे पनि ! दिमाग हार्मोनको हाइज्याकमा परी केटीको पछि लाग्ने यौवनको समयमा उहाँ प्रारव्धवेगले तानिएर अरूणाचलतिर अनायास हिँडिदिनुभयो । बच्चाबेलामा जब शरीर मर्दा पनि ‘म भन्ने तत्व नमर्ने रहेछ’ भन्ने वोध भयो, तब सारा चिज फिक्का लाग्न थाल्यो । त्यसपछि के पढ्नु, के नपढ्नु ! पढाई बेकार लाग्न थालिसकेको थियो । त्यतातिर खासै रस बस्नै नसकेपछि धुम्धुम्ती एक्लै कोठामा चुपचाप रमाउने रमणलाई बाहिरी दुनियाँ वाक्क लान थालिसकेको थियो । अरूणाचल पुगेपछि बल्ल शान्तिको रसिलो सास फेर्नुभयो र भन्नुभयो, ‘म आफ्नो घर आइपुगेँ, जहाँ आउन वर्षौंदेखि तड्पिरहेको थिएँ ।’
१९/२० वर्षको उमेरमा कोही मान्छे नभेटिने नर्मदा नदीको किनारमा अवस्थित अमरकण्टकको घनाजंगलभित्र बसेर २५ वर्ष निरन्तर साधना गर्ने शिवपुरी बाबालाई एकान्तिकताको स्वाद र ईश्वरसँगको साक्षात्कारको अनुभव र अनुभूतिको बारेमा भक्तहरुले सुने र बाँडे लेख तथा किताबहरूमार्फत् । बाबालाई भेट गर्नेहरूमध्ये एक थिए,अस्ट्रेलियाली मनोचिकित्सक एन्स्यु मर्न्स । सन् १९६० तिर बाबासँगको भेटघाटपछि उनको मनमा यस्तो छाप बस्यो कि करिव ६ वर्षसम्म मनको भित्री तहमा एकतमासको शान्ति बगिरहेको उनले महशुस गरिरहे । डाक्टरको चासो संसारले विश्वास नगरेको यस्तो गुह्य रहस्य जसले बिरामीको मनोरोग मनोचिकित्सा विज्ञानले दर्शाएको पद्धतिभन्दा अर्कै तरिकाले पनि हटाउन सकिन्छ भन्ने खोज थियो । बाबासँगको भेटपछि उनले लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित पनि गरेका थिए । त्यो त्यतिबेला नौलो मानिएको थियो । बाबासँगको भेटघाट र गफगाफले पनि उनले आफूमा व्यापक परिवर्तन आएको महसुस गरेका थिए ।
‘do u feel pain ?’ प्रश्नको प्रत्युत्तरमा बाबाले भन्नुभयो, ‘yes there is a pain, but not hurt in it .’
बाबाको उत्तरले उनीमाथि गहीरो प्रभाव परेको थियो । बिरामीहरुलाई बाबाको शिक्षाअनुसारको दिइएको परामर्शले गहिरो वेदनाबाट मुक्ति दिएपछि डा. मर्न्स त झन आश्चर्यचकित भएका थिए । पछिपछि पनि बाबालाई सम्मान व्यक्त गर्न नेपाल आइरहे ।
बाबाको आश्रमलाई तीर्थधाम बनाउने भक्तहरूको आग्रहलाई बाबाले चेतावनी दिनुभयो- यदि तपाईँहहरुले मेरो शान्ति भंग गर्ने प्रयास गर्नुभयो भने म कसैले नभेट्ने गरी जंगल हिँडिदिन्छु । मान्छेहरूको हूलभन्दा जंगली जनावर र चितुवाको संगत मन पराउने शिवपुरी बाबालाई के कुराले प्रेरित गर्यो होला र ? १०० वर्षको उमेरमा त्यो शिवपुरी डाँडाको टुप्पामा बस्न मन पराउनुभयो ? सम्मानस्वरूप प्रदान गरिएको बनारस हिन्दू विश्वविद्यालयको कूलपतिको पद यो सन्न्यासीको काम होइन भनेर बाबाले अस्वीकार गरेर हिँड्नुभएको थियो । चेलाहरूको भीडभाड, पद, सम्मान बेकारका चिजविज मात्र हुन् भन्ने आफैंभित्रको शान्तिलाई पाइसकेका यस्ता महात्माहरूको जीवनमा देखिन्छ ।
मजस्ता त केवल संसारका तामझाममा रमाइरहने, तुवाँलो र भुमरीमा अल्झिरहने मात्र हो, जो संसारले अलिकति बेवास्ता गरिदियो भने २० दिनसम्म रिस, झोक र आवेश बोकिहिँड्ने प्राणी। भीडले आफूलाई पिछा गरिरहोस्, संसारलाई आफ्नो नियन्त्रणमा लिन सकिरहूँ भनेर मृगतृष्णाको लागि सारा ऊर्जा खर्च गरिरहने अनि अन्तिममा हाताँ लाग्यो शून्य !