आशिष पौडेल | दृष्टिकोण | फागुन २७, २०७७
इतिहासमा फागुन कृष्ण चतुर्दशीको बेग्लै महत्त्व रहँदै आएको छ । अझ हिन्दु धर्मावलम्बी तथा सनातन हिन्दुका लागि त यो आफैँमा पर्व हो, उत्सव हो र महोत्सव पनि । यति भनिसकेपछि भन्नु नपर्ला यो शुभ दिन भनेको शिवरात्रि हो । सनातनमा विश्वास गर्नेहरूलाई नवरात्रको महाअष्टमीको रात्रि कालरात्रि, कृष्ण जन्माष्टमीको रात्रि मोह रात्रि र लक्ष्मी पूजाको रात्रिलाई सुख रात्रि भनेर भनिरहनु पर्दैन ।
सनातन धर्ममा सबै रात्रिको आफ्नै महत्त्व छ । नरपति यस चरचर जगत्मा भगवान् शिवको विशेष महत्त्व रहेको छ । भगवान् शिवलाई देवका पनि देव महादेव, ईश्वरका पनि ईश्वर महाईश्वर अर्थात् महेश्वरका रूपले पुजिन्छ । भगवान् शिवलाई अनादि तथा सृष्टि प्रक्रियाका आदि स्रोतका रुपमा पनि मानिन्छ । यस कारण पनि भगवान् शिवलाई हरेक उमेर तह र तप्काका मानिसले विशेष महत्त्वका साथ हेर्ने गरेको पाइन्छ ।
भगवान् शिवलाई सृष्टिका उपज पनि मानिन्छ र शिवजी उत्पत्ति हुनुभएको रात्रिका रुपमा शिवरात्रिलाई लिइने हुनाले यो कहिलेदेखि प्रारम्भ भयो भन्ने प्रश्न नै बेकारको प्रश्न हो । तर, नेपालको सन्दर्भमा यस पटकको शिवरात्रिमा एउटा आफ्नै इतिहास लेखिएको छ । इतिहासका विभिन्न कालखण्डदेखि चाँदीको जलहरीमार्फत जल अनि पञ्चामृत सिञ्चन गराइँदै आउनु भएका हिन्दुहरूका आराध्यदेव पशुपतिनाथले यस पटकको शिवरात्रिबाट सुनको जलहरीद्वारा सिञ्चित हुन पाउनु हुनेछ ।
अब परम्परामा एउटा इतिहास पनि जोडिएको छ । करिब १४१ किलो सुनको उक्त जलहरीको मूल्य ९२ करोड रहेको बताइएको छ । हुन त सिल्टेको थालमा एक छाक भात खान धौ धौ पर्ने अनि भोकको अग्नि समन गर्न नसकेका कारण आफू र आफ्ना मुटु समानका छोराछोरी लिएर कर्णालीमा हेलिने आमाको कथा भएको यो देशमा यसलाई अतिशयोक्तिको रुपमा पनि हेर्ने गरिएको छ ।
तसर्थ समाजमा व्याप्त यस्ता कुप्रवृत्तिका विरुद्ध सुपात्रहरूलाई केही न केही सानो भन्दा सानो सहयोग र मद्दत नै समाज बदल्ने सही मार्ग हो । हुन त कुनै पनि राम्रा कुरा गर्नका लागि साइत आवश्यक पर्दैन भनिन्छ । नरपति यस शिवरात्रिको पावन दिनदेखि यस्ता आसुरी प्रवृत्तिका विरुद्ध आवाज बुलन्द गर्ने प्रण गर्दे शिवरात्रि मनाउनु नै आजको देशको आवश्यकता हो ।
हुन त अतिशयोक्तिका पाना पल्टाउने हो भने इतिहासमा यस्ता फेहरिस्त लामै हुन जानेछ । अनि हिसाब किताबका बही खाता खोतल्ने हो भने त झन् जनताले निराशा हुनु बाहेक अर्को विकल्प रहँदैन । किनकि यस्ता विकृतिका विरुद्ध आवाज उठाउँछु भनेर रक्त रञ्जित इतिहास बोकेर नेता भएकाको बही खाता आजसम्म कसैले हेर्ने, खोतल्ने र माग्ने आँट आजसम्म कसैले गरेको छैन ।
चाहे त्यो क्याण्टोनमेण्टको हिसाब होस वा वाइड बडी, न्यारो बडी, सेक्युरिटी प्रेस वा चिनियाँसँगको पचास करोडको हिसाब, यो सबै सुन्ने सुनाउने, पछाडि कुनामा बसेर साउती मारेर बोल्ने र बोल्दा सर्पका खुट्टा देखेकाहरूले आफ्नो खुट्टा लुकाउन मात्र बोल्ने गरेको पाइन्छ । त्यसैले यो एक छिन मुतको न्यानो जस्तो मात्र हो । यसले तातो त दिँदैन दिँदैन सुरुवाल भिजाउन पनि छोड्दैन । तर, अर्को विडम्बना हामीलाई यिनका पछाडि धारे हात लाएर जिन्दाबाद र मुर्दावाद गर्दैमा फुर्सद छैन । जिन्दाबाद र मुर्दावादका यी नारा नेताका लागि महामृत्युञ्जय मन्त्र भएको छ । जनता केवल पाठ गर्ने पण्डित भएका छन् । तर, पण्डितहरूले आफ्नो महत्त्व भने अझै बुझेको पाइँदैन ।
कस्तुरीले विनाको महत्त्व नबुझेर भौँतारिए झैँ भएका छन् नेपालका जनता । प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउनु पर्छ भनेर कोही कुर्लियो, त्यसका पछाडि बेरोजगार युवालाई डोजरले आफ्नो काम गरेर समय व्यतीत गर्ने सुनौलो अवसर जस्ता छन् यी र यस्ता परिघटना । पैसा जति डोजर ड्राइभर र मालिकले लान्छन तर, युवा समय व्यतीत भएकोमा आफूलाई धन्य ठान्छ ।
अहिले जनताको अवस्था यस्तै छ । समय पनि व्यतीत हुने, काठमाडौं घुम्न पाइने अनि मासु भात त छँदै छ । थोर बहुत ज्याला पनि मिलिहाल्छ । तर, यो मासु भात र ज्यालामा देश तथा आफ्नो सन्ततिको भविष्य अन्धकार बनाएर यी भ्रष्ट नेताको हातमा सुम्पिएका छौँ भनेर कसले सम्झाइदिने अनि बुझाइदिने ।
जो सम्झाउन अनि बुझाउन र केही गरौँ भनेर अगाडि बढ्छ उसले भने पाइलै पिच्छे अवरोधको सामना गर्नुपर्छ । अनावश्यक प्रश्नको उत्तर खेप्नुपर्छ । तर, नेताका नामका यी गलत तत्त्वसँग भने हामी किन प्रश्न गर्न सक्दैनौँ ? कि त हामी बहादुर पुर्खाका कायर सन्तान हौँ वा अवसर नपाएका कारण हामी इमानदार देखिएका छौँ । समयले यस्तै देखाएको छ ।
जनताका दैनन्दिनसँग गाँसिएका हरेक क्रियाकलापमा वाधा, व्यवधान र अवरोध आइपर्दा पनि एक शब्द चूँ सम्म गर्न नसक्ने यो कस्तो लाछीपना हो ? । के हामी यतिसम्म गलिसकेका हौँ वा बिकिसकेका हौँ ? यसमा आत्म चिन्तन जरुरी छ । अन्यथा अर्को कुनै ग्रहको प्राणी धरतीमा विराजमान भएर हाम्रो समस्या समाधान गर्ने जुन स्वैर कल्पनामा हामी बाँचेका छौँ त्यसले हामीलाई 'पेण्डुलम बाहेक केही बनाउँदैन ।
जनता जनताका नाममा जनता भएर बेचिइसक्दासम्म पनि पत्तो नपाउने जनता भएका छौँ हामी । कुनै र कसैको स्वार्थपूर्तिको गोटी भएर चल्दा पनि गोटी भएको चाल नपाउने कुन लागु औषधको सेवन गराइरहेका छन् हामीलाई नेताले ? के अब पनि सचेत हुने समय आएन र ?
धेरैलाई लाग्छ कथनी र करनीमा ठुलै अन्तर हुन्छ, त्यो अवश्यम्भावी हो । आफ्नो आवाज बुलन्द गर्न र अन्याय, अत्याचार अनि खराब प्रवृत्तिका बारे औँला उठाउनु निश्चय पनि सजिलो छैन । हरेक पाइलामा चुनौती छ । तर, चुनौती छ भन्ने बुझेर पाइला नै नचाली के गन्तव्यमा पुग्न सम्भव छ त उसो भए ?
पक्कै पनि छैन । खराब प्रवृत्तिका यस्ता सङ्गठित जन्जाल विरुद्ध आवाज बुलन्द गर्नु पक्कै पनि चुनौतीपूर्ण नै छ । यसका लागि आफ्ना अगाडि देखिने साना तथा मध्यम प्रकृतिका विरुद्ध सानो भएपनि आवाज बुलन्द गर्ने अनि यसलाई सानो आकारमा भए पनि सङ्गठित गर्दै लैजान सकेमा हेर्दा सानो देखिए पनि यसले ठुलो मलहमको काम गर्नेछ ।
जस्तालाई त्यस्तै भन्ने नेपाली उखान जस्तै जसरी नेताहरुले खराब वृत्ति अङ्गालेर त्यसलाई सङ्गठित रुपमा अघि बढाएर आफ्नो स्वार्थ सिद्धिमा लागिरहेका छन् यसलाई चिर्न पनि यस्तै हतकण्डा अपनाउनु पर्ने हुन्छ । समाजमा केही राम्रा गरौँ, अन्याय अत्याचारका विरुद्ध आवाज उठाऊँ भन्ने मानिस नभएका होइन । तर, विविध कारणले यस्ता सुपात्रहरूले साथ पाउन सकिरहेको देखिँदैन ।
तसर्थ समाजमा व्याप्त यस्ता कुप्रवृत्तिका विरुद्ध सुपात्रहरूलाई केही न केही सानो भन्दा सानो सहयोग र मद्दत नै समाज बदल्ने सही मार्ग हो । हुन त कुनै पनि राम्रा कुरा गर्नका लागि साइत आवश्यक पर्दैन भनिन्छ । नरपति यस शिवरात्रिको पावन दिनदेखि यस्ता आसुरी प्रवृत्तिका विरुद्ध आवाज बुलन्द गर्ने प्रण गर्दे शिवरात्रि मनाउनु नै आजको देशको आवश्यकता हो । पशुपतिनाथले हामी सबैको कल्याण गरुण । सबैलाई चेतना भया ।