नरेश नाति | साहित्य | फागुन २९, २०७७
बीएनजी ? त्यो गोरी केटी छ नि ? आठ क्लासको । नेवार गाँउबाट आउने ग्रुपको क्या ? स्कुलको पढाई सकेर घर फर्कंदा सँगै पढ्ने साथी बीएनजीलाई हाङले भन्यो ।
कुन हौ ? गोरीहरूत थुप्रै छ त । अनि के ? मन पर्यो ?
मन परेर त भनेको नि ! अब चिठ्ठी लेख्नुपर्ला । अझ खुलेर हाङ बोल्यो ।
खै कुन केटी हौ ? भोलि देखाऊ न ल ? बीएनजीको प्रश्नमा मुन्टो हल्लाउँदै हाङ बाटोमा अघिअघि हिँड्यो ।
त्यो हाम्रो कलासको सुबिना छ नि ? म चाहिँ त्यसलाई पट्याउनु पर्ला । पछाडिबाट बीएनजी बोल्यो ।
के पो भनियो माइला ? हा हा हा हा आफू पनि लभ परि सकियो कि क्या हो ? सुबिना त राम्री नै लाग्छ मलाई पनि । तर त्यसलाई धेरैले मन पराउँछ हौ । हाम्रो क्लासको पदमसँग हाँस्दै गफ गर्छ । दश कक्षाको केटाहरू पनि उसको पछि पछि लाग्छ त अनि ? त्यो त जोसँग पनि बोलीराको देख्छु है। बाटो छेउको तितेको पात चुँडाउदै हाङ बोल्यो ।
हैत् ! त्यसो नभनुङ्ना हौ आफ्नो हुनेवालालाई । मेरो नै हो क्या सुबिना बीएनजीले जिकिर गरेर भन्यो ।
त्यसको दिदी पनि राम्री छ । तर त्यसको त केटा छ अरे । हाङले भन्यो ।
कसकी छोरी होलिन् ? नाम के होला ? कुन गाउँबाट पढ्न आएकी होलिन् ? हाङलाई उसको के पो मन परेन । बोलीचाली, जीउडाल, हिँड्ने चाल, उसले लगाएको कुर्ता सुरुवाल, खैरो कपाल, पुष्ट छाती र डिम्पल परेको गालाको मुस्कान । उसले हिँडेको बाटोहरू, बसेको चौतारीहरू, छोएका ढिस्कनाहरू, सबै सबै नै मन पर्यो । ओहो ! कत्ति मनले खाएको त्यो केटी ?
टाढाबाट हेर्दा जून सुन्दर देखिन्छ । हिमाल चम्किलो देखिन्छ । वनपाखाहरू हरियाली देखिन्छ । सागर नीलो देखिन्छ । मस्तिष्कभरि प्रेमको लहर र उमङ्गले भरिएपछि मान्छे प्रेममा सास फेर्दो रहेछ । प्रेममै जीवनको अर्थ भेट्दो रहेछ । बिनाप्रेमका सब चीजहरू अर्थहीन हुँदा हुँदा रहेछन् ।
प्रत्येक दिन स्कुल लाग्नुभन्दा अगाडिको राष्ट्रियगान गाउँदा लाइनबाटै आँखाले उसलाई नियाल्दै राष्ट्रिय गीत गाउँदा, गीत सकिएको पनि पत्तै हुन छाड्यो । भविष्यको बाटो कोर्न स्कुल पुगेको हाङ । नौ कक्षा पढ्दा पढ्दै चेत हराम गरी गो । आठ कक्षा पढ्दै गरेकी केटीले मन चोरेर । उधुम गरी गो । मन र मस्तिष्कमा आँधी हुरी ल्याइहाल्यो ।
आधा घण्टा घरबाट हिँडेपछि भेटिने कालठुटे पाखा । तिघ्रामा हात राख्दै उक्लिनु पर्ने उकालो बाटो । पाखा छिचोलेपछि आउने देउराली डाँडा । त्यहाँबाट अझै आधा घण्टा लगातार हिँडेपछि पुगिने मा.वि. स्कुल ।
स्कुल सुरु भएपछि चारैतिरबाट आउने विद्यार्थीहरूको हुल । त्यही हुलमा उसलाई नियाल्थ्यो हाङ । प्रत्येक पलहरूमा हाङका आँखाहरू त्यही बाटोतिर तेर्सिएका हुन्थे । जहाँबाट उनी सधैँ स्कुल आउने गर्थिन् । आफ्नो कलासका झ्यालबाट देखिने तलतिरको कोठामा । भनौँ ऊ पढ्ने कक्षा कोठाको झ्यालमा हेरिरहन्थ्यो हाङ । जब स्कुलको टिफिनमा देख्थ्यो उसलाई । मन उकुसमुुकुस भएर आउँथ्यो । निधारमा चिटचिट पसिना निस्कन्थ्यो । वैशाखै गुराँस, असोज महिनाको सयपत्रीहरू झैँ कोपिला लागेर फक्रँदै गरेका फूलहरूको मोहकता र सुवासझैँ प्रेम हाङले त्यो बेला अनुभूत गथ्र्यो । उसको उपस्थितिमा हाङ आनन्द र खुसीले लठ्ठ पथ्र्यो ।
एक बजेको टिफिन । त्यो मध्यदिनको घाम । कटुस र पैँयुका छहारीमा बसेर क्लासका साथीहरूसँगै शीतल तापिरहेका हुन्छ हाङ । उनी पनि त उसैगरी अर्को छहारीमा साथीहरूसँगै हुन्थिन् । देब्रे हातमा बोकेको कलम टोक्दै साथीहरूको भिडबाट हाङलाई चिहाउँथिन् । कताकता दुवैका नजर जुधेझैँ हुन्थे । हाङ नर्भस हुन्थ्यो । अनुहार रातो भएर आउँथ्यो । त्यो हेराइमा उसको मायाका वाणहरूले हाङलाई निशाना बनाउँथ्यो क्यारे । हाङ सख्त घाइते हुन्थ्यो । ऊभित्रको निश्चल प्रेमका झोक्काले हाङमा न्यानो स्पर्श गरिदिन्थ्यो । त्यसपछि हाङ ऊसँगै एउटा प्रेमकथाको प्रेमी र ऊ प्रेमिका भएर रमाएको कल्पना गर्न थाल्थ्यो । प्रेमको दुनियाँमा हराउन थाल्थ्यो । कान फुट्ने कर्कश घण्टीले दुई बजेको क्लास सुरु भएको जानकारी दिँदा हाङलाई नमीठो लाग्थ्यो । अनि उसैगरी चार बजेको अन्तिम घण्टीले चरक्क छाती दुखाउँथ्यो । स्कुल बिदापछि भारी मन लिएर हाङ पूर्व लाग्थे अनि उनी पश्चिम ।
चाँचाँ चुँचुँ कराउदै उडिहिँड्ने जङ्गलका चराहरूको हुललाई गुलेलीले हिर्काउँदै हिँडिरहँदा, जङ्गली च्याउ (डाङफाङले) बटुल्दा, खोलामा माछा मार्दा, बन तरुल खन्दै गुल्फा र ठेकिफल खोजिखाँदा, प्रत्येक बिहानीको कलिलो प्रहरमा घाँस काट्दा र दाउरा काट्दा उर्लेका मनभित्रका कुराहरू सब प्रेमका थिए । एक अघोषित कल्पनाका थिए । उनै प्रतिबिम्बका थिए । एक भारी दाउरा थाकमा गन्द्रङ्गै बिसाउँदै तात्तातो भात खाएर हत्तारमा स्कुल दगुथ्र्यो हाङ ।
नीलो आकाशको चम्किलो पिण्ड । एक भारी जीवन फालिरहेको हरियो चेतना । झन् झन् कठोर बन्दै जान्थ्यो । एक घण्टाको निरन्तर हिँडाइमा पसिनै पसिना भएर स्कुल पुग्दा हाङका मनहरू पहिले उसैलाई देख्न आतुर हुन्थे । पश्चिमतिरको बाटोको प्रत्येक हुलहरूमा खोज्थ्यो उसलाई । निलो सर्ट र खैरो स्कर्ट लाएकी स्कुले पोशाकमा सबैभन्दा उसैलाई धेरै सुहाएकी देखिन्थ्यो । हातमा एकभारी किताब च्यापेर आएकी देखेपछि हाङको मन फुरुङ्ग हुन्थ्यो । क्लासको ढोकाबाट भित्रसम्म नियाल्थ्यो उसलाई । त्यसपछि आफू पनि कलासमा प्रवेश गर्थ्यो ।
वास्तवमा हाङले उसलाई धेरै माया गर्न थालिसकेछ । एकतर्फी मायाले छट्पटिन थालेछ । प्रत्येक बिहानी र साँझहरूमा उसकै याद र बिम्बहरूको झोक्काहरूले निमोट्थ्यो । त्यो गालामा परेको डिम्पल र मुस्कुराइ अनि चम्किलो गोलो आँखाहरूले हाङलाई नै खोजिरहे झैँ लाग्थ्यो । बोलाइरहे झैँ देखिन्थे ।
राम्रोसँग नपढे फेल हुने सम्भावना पनि छँदै थियो । सरहरूले पढाएको कुराहरू कहाँ जान्थ्यो कुन्नि । बावा आमाले दिएको अर्ती र उपदेशहरू खै कुन मस्तिष्कमा हराउँथ्यो । स्कुलमा ध्यान दिएर राम्रोसँग पढ्नुपर्छ भनेर चिन्तै भएन हाङलाई । लक्ष्य प्राप्तिका लागि एउटा बलियो र दृढ सङ्कल्पहरूले अघि बढ्नुपर्छ भन्ने पनि महसुस नै भएन । पढाइका समयहरूमा उसैलाई सम्झिएर बितायो । ऊप्रतिको प्रेमको गहिराइमा डुबेर जिन्दगी प्रेमताल बन्दै गयो । कलिलो मस्तिष्कमा प्रेमकै मात्र बियाँले बिजारोपण गरेछ । वार्षिक परीक्षा आएछ । हाङलाई पत्तै भएन ।
प्रकृतिको सुन्दरता अनि प्रकृतिकै सिर्जना चेतनायुक्त प्राणी मान्छेले देख्ने हजारौ प्रिय वस्तुहरूको मालिक आफै नभएसम्म हरेक सपनाहरू देखिरहन्छ । ऊ तर्कना र कल्पना गर्छ । सोच र खोजहरूमा हराइरहन्छ । हरेक चीजहरूले आकर्षण र विकर्षण गराइहान्छ । प्राणी जगत्मा चेतना, भावना र संवेदना प्र्रकट गर्ने मान्छेले मान्छेलाई नै प्रेम नगरी बस्न कहाँ सक्छ र ? त्यही प्रेमको कारणले वस्तुहरू सुन्दर देखिन्छन् । प्रकृति मनमोहक देखिन्छ । जून र ताराहरू चम्किला देखिन्छन् । यो बेला हाङ एउटा वास्तविक पात्र भएर उसको माया खोजिरहेको थियो । उसैलाई पछ्याइरहेको थियो ।
खेताला पर्म तिर्नु छ । बर्खाको निम्ति दाउरा काट्नु छ । घरबाट कहिलेकाहीँ स्कुल नजान आग्रह गर्थे बाबाआमाले । हाङ किन मान्थ्यो र ? स्कुलमा पढाई धेरै छुट्ने र पढाइ बिग्रने बहाना बनाएर स्कुल आएकै हुन्थ्यो ऊ । त्यसो त सात आठ कक्षासम्म पढ्दा हाङ स्कुल जानभन्दा पनि घरमै बस्न मन पराउने मान्छे । स्कुल जाँदा पनि बाटैबाट जङ्गलतिरै घुमिहिँड्ने केटो । कैले साथीहरूसगै त कहिले एक्लै हिँड्ने हाङ चुथ्रो घारी चहार्दै, खोलातिर पौडी खेल्दै त कहिले अर्काको नासपाती, आरु, मेहेल र काक्रा चोरी खाँदै भुलिहिँड्थ्यो । बेलुकी चार बजे भएपछि स्कुल गए जस्तै गरेर घर फर्कन्थ्यो ।
विमल प्रतिमान मणिकुमार र उमेशहरूसँग भेट हुँदा भने ऊ घर फर्कन पनि बिर्सन्थ्यो । आज ऊ निरन्तर स्कुल जाने भइसकेको थियो । स्कुलमा एकैदिन पनि हाजिर छुटाएको थिएन । स्कुलका प्रत्येक दिनहरू पढाइभन्दा प्रेमकै लहर र अनुभूतिमा हराएर हाङ कसैलाई बेसरी मन पराउने प्रेमी भइसकेको थियो । एकतर्फी माया गरेर हिँड्ने कुनै फिलिमको पात्र नायक नै भइसकेको थियो ।
यसरी मनको लड्डु खाँदै मात्र कति दिन हिँड्ने ? हाङले एउटा प्रेमपत्र लेख्ने विचार ग¥यो । विडम्बना उसको नामसमेत थाहा थिएन हाङलाई । नाम मात्र पत्ता लगाउन हाङलाई दुई महिना लाग्यो । पाँच कक्षाको परीक्षामा प्रधानाध्यापकलाई लेखेको चिठ्ठी बाहेक उसले कहिल्यै अरू चिठ्ठी कोरेको थिएन । प्रकाश कोविदको उपन्यासहरू पढ्यो । गरिमा, मधुपर्क युवामञ्च र प्रेमको डायरीहरू पढ्यो । तिनैबाट प्रेमपत्रको बेहोराहरू हेरेर हु–बहु त्यहीँबाट सारेर एउटा पत्र कोर्यो । दोहोर्याइ तेहेर्याइ पढेपछि खामभित्र हालेर चिठ्ठी तयार गर्यो । जीवनमा पहिलो प्रेमपत्र कोरेर आफै आनन्दित र तरङ्गित हुँदै हाङ ओछ्यानमा पल्टियो ।
बर्खामासको समय । बाहिर पानी पर्दै थियो । पहिलो तल्लाको बरण्डामा सुतेको हाङ झ्यालबाट बाहिर हेर्न थाल्यो । निष्पट्ट अँध्यारोमा दरर पानीको आवाज मात्र सुनिन्थ्यो । घरीघरी चट्याङ परेर उज्यालो हुँदा भने घुर्यानका धानचमर निस्कन लागेका मकैबारी र पारि खान्द्रोङ डाँडा प्रस्ट देख्थ्यो । आफ्नो काकाको टिनको घर टलक्क टल्केको देख्थ्यो । आँखै बिगार्ने त्यो बिजुलीको चमकमा एक सेकेन्ड उज्यालो भएर फेरि निष्पट्ट अँध्यारो हुन्थ्योे । भोलि स्कुल पुगेर उसलाई पत्र कसरी दिने भन्ने पीरले मन खेलिरह्यो । त्यो रात निदाउनै सकेन हाङ ।
बाटोतिर हिँड्दै जाँदा कुनै केटीसँग जम्काभेट हुँदा नै पसिना पसिना हुने हाङ । कसरी बोलोस् र पत्र देओस् । न ऊसँग कहिले बोलेको होस् न हाङले प्रेम गरेको नै उसलाई थाहा होस् । ऊ स्कुल पुगिसकेको थियो । हाङ अनेक कुराहरू मनमा खेलाउँदै हिजो रात लेखेको पत्र उसलाई दिने दाउहरू हेर्दै बस्यो । हाङले पत्र दिनै सकेन । त्यतिकै गयो त्यो दिन । हाङ घर फर्कियो । यो क्रम धेरैपल्ट दोहोरियो । तर पत्र दिनै सकेन हाङले । बोक्दा बोक्दा अन्ततः पत्र नै च्यातिसकेछ । पुनः पत्र खोलेर अर्को खाममा लाएर तयार गर्यो । फेरि पनि पत्र दिनै सकेन । कक्षा दशको सेन्टअप परीक्षा सुरु भयो । परीक्षा सकेपछि त स्कुल जानै पाएन हाङ । ऊ घरमा धेरै छट्पटियो ।
परीक्षाको पहिलो दिन । हाङ धेरै खुसी थियो । मनभरिको रहर र माया बोकेर एसएलसीको फाइनल परीक्षा दिन पुनः स्कुल पुगेको थियो ऊ । उसले कोरेको प्रेमपत्र पनि उसैगरी किताबमा च्यापिएको थियो । गीता पढिरहेकी थिइन् । परीक्षा भइन्जेल बोकेको पत्र उसलाई हात लाइदिने प्रयास गर्यो । क्रम पहिले जसरी नै दोहोरियो । एसएलसी परीक्षा सकियो । हाङले पत्र दिनै सकेन । हाङको स्कुले जीवन सकियो । गीता पनि टाढा भइन् ।
टाढाबाट हेर्दा जून सुन्दर देखिन्छ । हिमाल चम्किलो देखिन्छ । वनपाखाहरू हरियाली देखिन्छ । सागर नीलो देखिन्छ । मस्तिष्कभरि प्रेमको लहर र उमङ्गले भरिएपछि मान्छे प्रेममा सास फेर्दो रहेछ । प्रेममै जीवनको अर्थ भेट्दो रहेछ । बिनाप्रेमका सब चीजहरू अर्थहीन हुँदा हुँदा रहेछन् ।
एकदिन फिलिम हलमा टाइटानिक फिल्म हेरिरहेको थियो हाङ । फिल्मको नायिका केटलाई गीता देखिन् । केटभन्दा गीता धेरै राम्री थिइन् । समयले निक्कै कोल्टो फेरिसकेको थियो । हाङले गीताभन्दा राम्री केटी देख्दै देखेन ।