शशी लुमुम्बू | साहित्य | फागुन २९, २०७७
जिन्दगीजस्तो जिन्दगीको खोजीमा
एक दिन सखारै मैले गाउँ छाडेँँ-
बाँधिराखेर गोठमा चौपायहरू
थुनिराखेर खोरमा पन्छीहरू
राखेर बाँझै पाखोबारी
सल्काएर डढेलो खरबारी.....
गुञ्जिँदै कानमा हाक्पारे-पालाम
एकादशीबजार र सङ्गिनी-बालन
रन्किँदै देहात झिझिया-सखिया
झलझली स्मृतिमा ल्होसार–साकेवा
नाचिन्थ्यो–गाइन्थ्यो डेउडा–हुड्केली
कसरी भुलूँ र सङ्गी ! घाटु–सोरठी.....
चारकुने आँगनीमा छमछमी मारुनी
झङ्कृत भइरहन्छ देउसिरे–भैलेनी
मच्चिँदै आहालडाँडामा रोटे-लिङ्गेपिङ
बसुँला भन्थेँ नि आयो हिँड्ने दिन
घन्किँदै जोरमादल गर्रा–समला
पन्छाउँदै हाय ! बाआमाको ममता
रुवाइराखेर पिँढीमा सानी बहिनीलाई
पर्खाइराखेर डाँडामा छेउघरे ठूलीलाई.....
ओर्लेर ओलाङ्चुङ्गोलाबाट
फाँड्दै भुइँकुहिरोभित्र निगालोघारी
निस्किएर केचना–चेपबाट
पन्छाउँदै औलोको झाडी
झुन्डिएर जिन्दगी तुइनहरूमा
चढेर डुङ्गा अँधेरीघाटहरूमा
पहिल्याउँदै अक्करैअक्कर— स्वप्नमार्ग
दगुरी आएँँ ताकेर स्वप्निल सहर....
जिन्दगीको यात्रा-
घरि अलिकति तेर्सो
घरि अलिकति दम्साइलो
कहिले ओरालैओरालो
कहिले उकालैउकालो
खादिँएर खदार–खोँचमा कहिले
हराइगएर ढोँडेजङ्गलमा जहिल्यै
अलमलिएर गोरेटाहरुको गोरेटो
किनारैकिनार हङ्रायखोलाको
गड्तिरैगड्तिर अरुणनदीको
भासिँदै पाइताला बगरहरुमा
लड्खडाउँदै यात्रा डगरहरुमा.....!
कहिले रापिँदै चैतेघाम लेगुवा–रामरिठ्ठामा
कहिले बाफिँदै भदौ मझुवा–सतिघाटमा
तोडुँला भनेर अभावको कालो घेरो
बलैले छिचोली आएँ माङ्माया फेरो.....!
फ्याँकिराखेर भैँसेमा खकन र तोक्मा
बिसाइराखेर पञ्चेचौतारोमा दुःखको ढाकर
चढाइराखेर देउरालीमा भाकल–पाती
पार गरिआएँ अनेकन साँगुरी भञ्ज्याड
अहो ! बलैले काटिआएँ ढाक्रेको जुनी.....!
बिताइयो नि हौ कति कष्टकर रात
कठ्याङग्रिँदै ठिहीमा हिउँदे आकाशमुनि
सुतियो कतिपटक एक झप्को निद्रा
लगाएर मूलबाटोमै ढुङ्गाको सिरानी
अरुणको धमिलो पानीमा
मस्काएर दाबिलोले कोदाको ढिँडो
उमालेर भुलुक्क गुन्द्रुक झोल
धानियो नि हौ कतिचोटि एक मुठी प्राण.....!
लागेर आगो म्याङलुङ–वसन्तपुर
फुटेर अनायस विपत्तिको सप्तकोसी
खसेर राजमार्गमै कृष्णभीर
पग्लेर सुङ्देल–जुरेपहाड
जगाउँदै भय प्रलय–कम्पन
छेक्न खोजेकै हो यात्रा मेरो
रोक्न चाहेकै हो गति मेरो.....!
तैपनि,
लछारेर हुरी–बतासहरूलाई
झेलेर सहस्र झरी–बादलहरूलाई
छिचोलेर अनकन्टार सिस्नुको जङ्गल
बलैले प्रवेश गरेको छु राजधानी.....!
ए.....नागार्जुन !
सुनाइदेऊ खबर सिंहदरबारहरूलाई
कि, दुर्गम गाउँबाट एक जना स्वप्नजीवी
जिन्दगीजस्तो जिन्दगी खोज्दै—
भर्खरै राजधानी आइपुगेको छ.....!!!