दीपा लिम्बू राई | साहित्य | फागुन २९, २०७७
नेपाल अङ्ग्रेज (इष्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको दुई सय भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा पार गरिसकेको ब्रिटिस गोर्खा सैनिकहरूको आफ्नो गौरवशाली इतिहास छ, चुनौती नै चुनौतीले भरिएका कथाहरू छन् र छन् बेलिविस्तार लगाई नसकिने व्यथाहरूको असङ्ख्य भण्डार ।
त्यति मात्रै होइन उनीहरूसित विकास र आधुनिकताको पाटो पनि छ । दुःख, कष्ट, अभाव, अवहेलना आदि बीच अनुभव र अनुभूतिको उज्यालो ज्ञान (सीप) पनि छ । समाज विकासको निमित्त खेलेको भूमिकाको आफ्नै महŒव छ । गीत सङ्गीतको क्षेत्रमा उनीहरूको योगदानको छुट्टै इतिहास छ । तथापि आज यस लेखको मूल उद्देश्य भनेको ब्रिटिस गोर्खा सैनिकका बारेमा नभई तिनै गोर्खा सैनिकका जीवनसङ्गी अर्थात् श्रीमतीहरूका सृजनात्मक पक्षबारे उठान गर्ने जमर्को गरिएको छ । पल्टनघरमा रही नेपाली गीत सङ्गीत र साहित्यमा कलम चलाएका र चलाइरहेका सृजनशील नारी स्रष्टाहरूबारे चर्चा गर्ने सङ्क्षिप्त प्रयत्न हो ।
पल्टनबाट प्रकाशित पर्वते मासिक पत्रिकाको उदयसँगै जसरी गोर्खा सैनिकले साहित्य कर्मको आरम्भ गरे उसै गरी नारी सृष्टाहरूले पनि पर्वतेकै माध्यमद्वारा साहित्यिक यात्राको थालनी गरेको इतिहास पाइन्छ । सिङ्गापुरबाट प्रकाशन आरम्भ गरेको पर्वतेले सुरुआती दिनमा मलायामा उति सारो नारी हस्ताक्षर पाउन सकेन । तथापि हङकङ स्थानान्तरणपछि भने पर्वतेमा सैनिकका श्रीमती अथवा नारीद्वारा रचित साहित्यिक खुराक विशेष कविता फाटफुट प्रकाशन गर्न थालेको इतिहास भेटिन्छ ।
प्रारम्भिक अवस्थामा नारी सहभागिता पातलो रहे तापनि समयको कालक्रमसितै उनीहरूको उपस्थिति बाक्लिँदै गरेको देखिन्छ । तीसको अन्त्य र चालीसको सुरुको दशकमा पर्वतेको प्रायः प्रत्येक अंकमा अनवरत आइरहने नाम थियो श्रीमती वीरेन्द्र राना । उनी कविता लेख्थिन् । भानु सुब्बा, सरिता राई, सावित्रा गुरुङहरू प्नि यही समय पढिएका सृजनात्मक नाउँ (कवि) हरू थिए । यसपछि पनि कविता नै कोसेली लिई आएकी अर्की नारी सर्जक थिइन तुलसी सुब्बा । ब्रिटिस गोर्खा श्रीमान्ले फ्यामिली परमिसन पाई करिब तीन वर्ष बाल बच्चासहित फ्यामिली क्वाटरमा रहँदा रचिएका माया पिरतिका कविता धेरै रचिन्थे त्यस समय भने शिक्षामूलक र सन्देशात्मक रचनाहरू पनि केही मात्रामा रचिएको पाइन्छ ।
परिवर्तित समयको परिवर्तनले आज सिङ्गापुर, हङकङ अनि ब्रुनाईमा मात्र सीमित गोर्खा सैनिकका श्रीमतीहरूलाई बेलायत, जर्मनी र साइप्रसतिर पनि सघन पुर्याएको छ । शैक्षिक विकास, प्रकाशन सहजता र सुुविधा, चेतनाको व्यापकता, सैनिक नियम कानुन सृचना/ प्रकाशनमैत्री रहनु आदि जस्ता अनुकूल वातावरणका कारण भूगोलको जुनै कुनामा रहनु परे तापनि जीवनको गतिशीलतालाई सृजनाको माध्यमबाट आफूलाई सृजनामा समर्पित गरेका र गरिरहेका नारी स्रष्टाहरूको लर्को निकै लामो बन्न सफल भएको छ । जो उत्साहजनक र प्रेरणादायी त हो नै, यसका अलावा अनुुकरणीयसमेत हो ।
सृजनाकर्मी नारीहरूबीच नाट्यकर्मी शशी थापा सुब्बा गीत लेखनमा समेत परिचित नाउँ हो । प्राध्यापन पेसामा आबद्ध प्राध्यापक सुमाया राईका गीत र कविताका कृति छापिएका छन् । त्यस्तै दीपा लिम्बू राई, लीला सेलिङ माबो, निर्मला परिवेश राई, जानुका राई, अन्जु अञ्जली भावना सुनुवार परिष्कृत आदिका एकल कृति प्रकाशित भएका छन् । निलम आङबुहाङ राई गीत लेखनको क्षेत्रमा चिनिएको नाम हो । उसो त सरिता नाना चाम्लिङ, दुर्गा घले, सङ्गीता बायुङ राई, रन्जना राई आदिका आफूद्वारा रचित गीतका एल्बम सीडी उपलब्ध छन् । बिमला शालीन, आशा सुब्बा, बबी बाङ्देल, सुमित्रा गुुरुङ, रत्न चोङबाङ, कमला लिम्बू, रोजी लाबुङ, अन्जु पिठाकोटे मगर, अमृता मादेन, लक्ष्मी यक्सो, सुष्मा रूपाबुङ राई, करिष्मा घाम, चन्द्रा राई, बिमला सुच्चा राई, कला राई, सीता शेरचन आदि पनि साहित्य सृजनामा लागिपरेका नाउँहरू हुन् ।
भनिन्छ– नारी वात्सल्य प्रेम, स्नेह, समर्पण, करुण आदिकी सागर हो । नारीमा यी गुणहरू अन्तरनिहित भएकै कारण उनीहरूको स्वाभावमा संवेदनशीलताले व्यापकता पाएको हो । त्यही सूक्ष्म सौन्दर्यलाई आत्मसात गरेर पल्टनघरका नारी स्रस्टाहरू नेपाली गीत सङ्गीतका अतिरिक्त साहित्यको विविध पाटोमा सक्रिय रहँदै साहित्याकाशमा नयाँ आयाम थप्न प्रयासरत छन् । आसा गरौँ यो क्रमले भविष्यमा अझ मौलिने मौका पाउनेछ । सफलताको शुभकामना !
लेख