लहान मालपोत कार्यालय बम बिस्फोटमा आठ घाइते

लहान मालपोत कार्यालय बम बिस्फोटमा आठ घाइते

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०२, २०७७

सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् ।  घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र  लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते हुनुभएको छ ।  

बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक,  भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो । 

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उहाँका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा पम्पलेट फेला परेको छ ।