लोकसंवाद संवाददाता | शिक्षा | चैत ०२, २०७७
हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् । लामो समयको कोरोना कहरपछि पठनपाठन शुरु भए पनि विद्यालयमा विद्यार्थी खुला चौरमा अध्ययन गर्दै आएका छन् ।
ताँजाकोट–२ को छप्रेलाको धर्मोदय माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा विष्णुदेवी शर्माले भन्नुभयो, “कोरोनाको त्रासपछि विद्यालयमा पठनपाठन शुरु भए पनि कक्षा कोठा नहुँदा दैनिक चौरमा अध्ययन गर्नुपरेको छ” । चर्को घाम लागेका बेला अध्ययन गर्न शिक्षक र विद्यार्थी दुवैलाई कठिन हुने शर्माले गुनासो गर्नुयभो ।
बर्खाको पहिरोपछि अधिकांश विद्यालयका भवनमा क्षति पुगेकाले विद्यार्थीले चौरमा अध्ययन गर्नु परिरहेको छ । यहाँका अविभावकले सरोकारवाला निकायलाई अनुरोध गरे पनि कुनै सुनुवाइ हुन नसकेको बताइएको छ । पानी परेका दिन पठनपाठन बन्द गर्नु बाध्यता छ भने कक्षा ६, ७, ११ र १२ का विद्यार्थीले खुला चौरमा पठनपाठन गर्दै आएका छन् । कक्षा ८, ९ र १० का विद्यार्थी भने क्षति पुगेकै भवनमा जेनतेन अध्ययन गर्दै आएका छन् ।
विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भवन निर्माणका लागि प्रदेश र सङ्घीय सरकारबाट बजेटको व्यवस्था भए पनि स्थान छनोट हुन नसकेको कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।