लोकसंवाद संवाददाता | समाचार | चैत ०२, २०७७
काठमाडौँ । नेकपा एमालेका दुई पक्षबीच सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्ता दुवै पक्षको आआफ्नै अडानका कारण निष्कर्षमा पुग्न सकेन । माधव नेपाल पक्षले गत माघ २८ गतेको कारबाही फिर्ता लिन, चियापान र केन्द्रीय समिति बैठक स्थगित गर्न गरेको माग ओली पक्षले अस्वीकार गरे पछि वार्ता विफल भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपाल पक्षका नेताहरुबीच पहिलोपटक सामूहिक भेट भए पनि दुवै पक्ष आआफ्नो अडानमा रहेको नेता भीम रावलले जानकारी दिए ।
‘हामीले गत माघ २८ गते ओली पक्षबाट एकपक्षीय रुपमा भएका कारबाही फिर्ता गर्न र उहाँहरुले राखेको चियापान र केन्द्रीय समिति बैठक स्थगित गर्न माग राख्यौँ, यसबारे कुनै जवाफ आएन,’ नेता रावलले पत्रकारहरुसँग भन्नुभयो ।