एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०२, २०७७

काठमाडौं । नेकपा (एमाले) लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ ।  एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र  नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजको छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको बताउनुभयो । उहाँले पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने जानकारी पनि दिनुभयो । “अबदेखि  नेताहरु विभिन्न चरणमा बसेर छलफल गर्नुहुन्छ । आजको छलफलले साझा धारणा निर्माण गरेको छ”, उहाँले भन्नुभयो, “यसको जगमा एमालेलाई एकताबद्ध बनाउँदै नयाँ गतिका साथ अगाडि लैजाने आधार सिर्जना गरेको छ ।”

नेता ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्यूँताउने निर्णयलाई अवसरका रुपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको बताउनुभयो । “बलियो एमालेले मात्र अरू वामपन्थीलाई पार्टी एकतामा जोड्दै सिङ्गो देशलाई एकताबद्ध र नेतृत्व दिन सक्छ भन्नेमा साझा निष्कर्ष निकालेका छौँ”, उहाँले भन्नुभयो । 
 बैठकमा नेपाल पक्षले आफूविना बसेको गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयमा असहमति जनाएको छ । 

प्रवक्ता ज्ञवालीले नेपाललगायत नेताहरुले फागुन २८ गते आफूहरुको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्न भन्नुभएको जानकारी दिनुभयो । “हामीले ती निर्णयमा पुनरवलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ भनेका छौँ”, उहाँले भन्नुभयो, “फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राख्नुभयो ।  बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन ।”  उहाँले अर्को पक्षको यही चैत ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपु¥याउने जनाउँदै केन्द्रीय कमिटी बैठक आपसी परामर्शबाट तय गरौँ भनेर आफूहरुले भनेको स्पष्ट पार्नुभयो । 

छलफलमा सहभागी नेता भीमबहादुर रावलले पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको छलफलपछि पत्रकारलाई जानकारी दिनुभयो । “फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णय औपचारिक नभएकाले हामीले मान्दैनौँ भन्यो तर उहाँहरुले त्यसलाई स्वीकार गर्नुभएन”, नेता रावलले भन्नुभयो, “कुरा नमिलेपछि पुनः बैठक बस्ने भनिएको छ ।”