९१ वर्षीया ज्येष्ठ नागरिकको खोप लगाउने जाँगर

९१ वर्षीया ज्येष्ठ नागरिकको खोप लगाउने जाँगर

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०३, २०७७

तनहुँ । तनहुँको भीमाद नगरपालिका–९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुग्नुभयो । त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उहाँलाई स्वास्थ्यकर्मीले ‘कोभिशिल्ड’ लगाइदिए । खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा कार्यालयमा उहाँले आधा घण्टा टेलिभिजन हेरेर बिताउनुभयो । वडाले खबर गरेपछि ढुक्क भएर खोप लगाउन आएको उहाँको भनाइ छ । “सबैले लगाएको खोप लाउनलाई केका डर”, उहाँले भन्नुभयो ।

शुक्लागण्डकी–३ कवासेका ७२ वर्षीय कमलराज शर्मा पौडेलले दुलेगौँडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा पुगेर खोप लगाउनुभयो । पहिला ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनेभन्दा उहाँलाई शङ्का लाग्याथ्यो रे । “पहिला त सरकारले ६५ वर्ष माथिकालाई खोप दिने भन्दा केही खतरा भएर मरेनी यिनै बूढाबूढी पहिला मरुन् भनेर होला कि भन्ने शङ्का नि थियो । पछि ठूलाठूला मान्छेले नि लगाए रे भनेसी त्यस्तो होइन भन्ने भो”, उहाँले भन्नुभयो, “आज त आफैँले पनि ढुक्क भएर खोप लगाएको छु ।” खोप लगाएपछि कोरोना लाग्दैन भन्ने उहाँलाई लागेको छ ।

फागुन २३ गतेदेखि दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘कोभिशिल्ड’ लगाउने अभियान देशभर चलेको छ । सोहीअनुसार तनहुँमा पनि खोप अभियान चलेको छ । खोप लगाउन तोकिएको खोप केन्द्रसम्म उत्साहका साथ ज्येष्ठ नागरिक लौरीको सहारामा आएका छन् । कतिलाई आफन्तले खोप लाउन डो¥याउँदै ल्याएको देखिन्छ । ज्येष्ठ नागरिकलाई असहज नहोस् भनेर खोप केन्द्रमा पनि बसाइको व्यवस्था मिलाइएको छ । कतिपय स्थानमा खोप केन्द्र टाढा हुँदा सास्ती भोग्नुपरेको छ । ग्रामीण भेगमा नजिक स्वास्थ्य केन्द्र नहुँदा बुढेसकालमा घण्टौँको बाटो पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।

खोप लगाउन ज्येष्ठ नागरिकको सक्रिय सहभागिता रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताउनुभयो । उहाँले भन्नुभयो, “बूढाबूढीलाई पनि सरकारले प्राथमिकता दिएर खोप लगाउन दियो भन्दै खुशी व्यक्त गर्नुभएको छ ।” तनहुँमा फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकामा र फागुन २८ गतेदेखि शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान चलिरहेको छ ।