लोकसंवाद संवाददाता | समाचार | चैत ०३, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा ओली समूहले फागुन २८ गते गरेको निर्णयले पार्टी विभाजनतर्फ लगेको बताएको छ ।
नेपाल समूहले भोलि र पर्सि राजधानीमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो । पत्रकार सम्मेलनमा नेता सुरेन्द्र पाण्डेले ओली समूहले पार्टी विभाजन तर्फ लान खोजेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिनेक्रममा नेता सुरेन्द्र पाण्डले ओलीको कदमले नेकपापछि एमालेलाई पनि छिन्नभिन्न बनाउन खोजेको आरोप समेत लगाउनु भयो।
फागुन २८ गते ओली पक्षले केन्द्रीय सदस्यको बैठक बोलाएका थिए । उक्त बैठक पछि ओलीले आफू अल्पमतमा भएको महशुश गरेपछि २३ सदस्यीय स्थायी समिति खारेज गर्नु भएको थियो । त्यसपछि नेपाल पक्षका नेताहरुको जिम्मेवारी ओलीले खोस्नु भएको थियो ।
ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोसेर माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गर्नु भएको थियो ।