लोकसंवाद संवाददाता | समाचार | चैत ०४, २०७७
डोल्पा । जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ । आज पहिलोपटक जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो ।
जिल्लामा रहेका भूमिहीन तथा सुकुम्बासीको भूमिको समस्या समाधान गर्ने उद्देश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना गरेकाले सबैले फाइदा लिनेमा विश्वस्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताउनुभयो ।
भूमिको वितरण तथा जग्गाको लालपुर्जासम्म दिन सक्ने अधिकार स्थानीय तहलाई भएको कारण स्थानीय तह र आयोगबीचको सहकार्यमा हुनुपर्ने ठूलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाउनुभयो ।
आयोगको कार्यालयले डोल्पामा रहेका भूमिहीन, सकुम्बासीका समस्या समाधान हुने र एकीकृत बस्तीलाई समेत व्यवस्थित बनाउनेमा सबैले हातेमालो गरेर लाग्नुपर्ने विश्वास व्यक्त गरिएको छ ।
डोल्पाका नागरिकले भूमिविहीन हुन नपर्ने गरी आयोगको टोलीले काम थाल्ने भूमि समस्या समाधान आयोग डोल्पाका अध्यक्ष धनचन्द्र बैजीले बताउनुभयो । यसका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ ।
कार्यालय स्थापना भएसँगै नगरपालिका तथा गाउँपालिका र वडास्तरसम्म समिति गठन हुने बताइएको छ । हाल जिल्लामा सात सदस्यीय जिल्ला समितिको कार्यालय रहनेछ ।