जया राई | साहित्य | चैत ०७, २०७७
३० अगस्ट २०११ बिहीवार । बिहानको बे्रकफास्ट खाएर तयार भएका छौँ । लन्डनमा भएको अनेसासको दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिन आउनुभएका प्रो. सुषमा आचार्य, प्रदीप नेपाल, सर्मिला खड्का, गीता रेग्मी आजको यात्रामा सहभागी हुनुहुन्छ । अरु साथीहरू कार्यक्रम सकेपछि आफन्तकहाँ पाहुना बन्न जानुभयो ।
प्रा.डा. सुषमा आचार्य र प्रा.डा. गोविन्दराज भट्टराई हामीकहा हुनुहुन्छ । बिहान सात बजे तिर प्रदीप नेपाल दाइलाई उहाँका ससुरालीले हामीकहाँ छाडेर गए । अघिल्लोपटक बेलायत आउँदा नै घुमिसक्नु भएकाले डा.गोविन्दराज भट्टराई नेपाली प्रतिभा प्रतिष्ठानको निम्तो मान्न वेल्स जाने तय भएको छ ।
त्यसैले आजै बिहान उहाँलाई लिन आएका संस्थाका पदाधिकारी नरेश काङमाङ र चण्डीराज राईसंग हामी भन्दा केही समय अगाडि मात्रै बाटो लाग्नुभयो । प्रा.डा.सुषमा आचार्य, प्रदीप नेपाल, बुद्धिबहादुर राई र म बाटो लाग्यौँ, स्ट्राटफोर्ड अपन एभनका लागि ।
टाढा छ, तर फर्कि आउनुपर्ने छ ।
बिहानको समय, मौसम सफा र रमाइलो छ । बेलायतको मौसम, समरको लामा दिन, सफा भए पनि ओझल पर्नासाथ जाडो हुने हुनाले हल्का तातो लुगा बोक्नु आवश्यक छ । बोकेका पनि छौँ ।
हेरो 'अन द हिल स्टेसनबाट मालेवन जाने फास्ट' ट्रेन पक्डियौँ । आठ बजे बिहानको रेल, रस आवर सुरु भइसकेको छ । बस्ने सिट छैन । वरपर गरेर कोही उभियौँ, कोही बस्यौँ । विकल आचार्यजी रम्फोर्डबाट गीता रेग्मी र सर्मिला दाहाललाई लिएर आउँदै हुनुहुन्छ । नौ बजे युस्डन स्टेसनमा भेट्ने सल्लाह छ । हाम्रो यात्रा फास्ट ट्रेनमा भएकाले युस्डनमा २० मिनेट वरिपरिमा पुर्याइहाल्यो ।
हाम्रो मिटिङ पोइन्ट युस्डन स्टेसनमा पुगेर साथीलाई फोन गरेको बल्ल हिँड्न लाग्यौँ भन्नुहुन्छ । अब साथीहरू पर्खनुपर्ने भएको छ, समय अझै लाग्छ ।
वरपर, यताउता हेर्दै स्टेसनको रमिते भएका छौँ । मानिसलाई स्टेसनको टिकट रिडर मेसिनमा ओइस्टर कार्ड ट्वाक्क छोएर भित्र पस्न र बाहिर निस्कने गेट खोलिन पनि भ्याउँदैनन् के को हतार ? कति हतार ? झोला बोकेर कुदेका छन् ।
तर, हाम्रोचाहिँ यहाँ आएर समय स्थिर भएको छ । खालि अरूको गतिशील समयमात्रै हेरिरहेका छौँ, पर्खिरहेका छौँ । टिकट रसआवर साढे नौ बजे क्रस गरेपछि मात्र सस्तो हुने भएकाले त्यसपछि मात्रै रेलमा चढ्ने विकलजीबाट खबर आयो । हामी भनेस्टेसनमा पर्खेकोपख्र्यै छौँ । पट्याइ लागेर हैरानी भयो ।
मानिसको भेलबाढीमा आँखा बगेकोबग्यै छन् । मनमा लागेको हुटहुटीले निमोठेको कम होइन ।
मन बहलाउन स्टेसन भित्रको क्याफेतिर ध्यान मोडियो । कर्मचारि अति नै व्यस्त छन् । कफी र चिया कागजको कपमा बोकेर कोही त्यहीँ उभिएर पिउँछन् । कसैले हातमा झुन्ड्याउँदै जान्छन् ।
ती आउने जाने कस्टमर र स्टेसनका म्याराथुन धावक यात्रीको रमिता हेर्न क्या मज्जा भा’छ । नत्र यसरी कसैलाई कुर्नुजस्तो दिक्दारी अरू के पो होला र ।
डाइरेक्ट स्ट्राटफोर्ड अपन एभन जाने रेल पनि छुट्यो, टिकट काउन्टरमा गएर थाहा भयो । अब जाने रेलमा बीचमा ओर्लिएर साढे एक घन्टा पर्खिएर अर्को रेलमा जानुपर्ने भएको छ ।
लि परको गिफ्ट सप दिनभरिको तयारीमा छ । दिनभरिका लागि चाहिने विभिन्न प्रकारका फ्रेस फूल तयार गर्न थाले । त्यो पनि मेरो समय कटाउने अर्को उपाय भयो । म अलि वर बसेर हेर्ने रमितेलाई ती सुन्दर फूलको बास्ना छ छैन, के थाहा तर परबाट देखिने रङ्गीचङ्गी सौन्दर्यले कसको मनलाई नलोभ्याएको होला र !
प्रा.डा.सुषमा आचार्य दिदी, प्रदीप नेपाल दाइ मेरो श्रीमान् के सोच्दै हुनुहुन्छ, म भने तिनै दृश्य हेरेर आनन्द लिइरहेकी छु ।
विकलजी गीता र शर्मिलालाई लिएर आइपुग्नुभयो । एक घण्टाभन्दा बढी नै समय लाग्यो । अब अझै लामो यात्रा गर्नु छ, तर हामी जाने रेल अझै आधा घण्टा कुर्नुपर्ने भयो ।
सिधै जाने रेल त बिहान साढे नौ बजे नै छुटिसक्यो । रेलको समय पर्खन तिनै स्टेसनका म्याराथुन धावक यात्रुको रमिता हेर्दै छौँ । रेलबाट निस्केर पनि कुदेका छन्, रेलभित्र पनि कुद्दै पस्दै छन् । लन्डनको यो भाग दौड जहिले पनि उस्तै ।
यूस्डन स्टेसनमा लन्डनबाहिर जाने रेलसेवा उपलब्ध हुने भएको अलि बढी नै व्यस्त छ । स्टेसनमा क्षणक्षणमा आएर रोकिएको रेलको कर्कश आवाज पनि त्यो भिडभाडमा भित्रै कतै बिलाउँछ ।
छ त मानिसको बाढी छ र हतार छ । नाटक जिन्दगीको भागदौड छ । हामी त्यो रङ्गमञ्चको दर्शक । खालि दर्शक ।
जब हाम्रो रेलको समय हुनेछ, तब हामी पनि यात्राका म्याराथुन धावक हुनेछौँ । अरू कोही नै हाम्रो दर्शक हुनेछ । समय संधै एकै रहँदैन । समय भन्नु नै अपएन्ड डाउन त हो । पुगेर हामी लन्डन फर्कनुपर्ने छ । अहिले जाँदा नै ढिलो भएमा त्यहाँ पुगेर हेर्ने, घुम्ने समय कम होला, मनमा चिन्ता छ । पुग्नै हतार । पुगेर फर्किन नै हतार हुन्छ । तयारीमा पर्खेर बसेका छौँ ।
मनिटरमा रेल जाने समय साढे दस बजेको देखायो । प्लेटफम भित्र पस्यौं । रेल आयो र रोकियो । तर बस्ने सिट सबैकालागि एकै ठाउँमा मिलेन भिड उही छ । गीता रेग्मी, सर्मिला खड्का एक ठाउँमा, बुद्धिजी र डा. सुषमा आचार्य अर्को लहरमा । अलि अगाडिको सिटमा, प्रदीप नेपाल दाइ र विकलजी बस्नुभएको छ ।
ढोकाको कुनाको सिटमा म एक्लै परेँ । बाहिरको दृश्य हेर्ने झ्याल पनि अलि टाढा परेको छ । सबैलाई सिटमा बसेर बाहिरको दृश्य हेर्दै यात्रा गर्ने समय जुर्यो । मलाई भने कुनाको सिट परेकाले त्यस्तो सुअवसर प्राप्त हुन सकेन । रेल बेजोडले दौडिरहेछ । बाटोका ती सुन्दर दृश्य हेर्न नपाएकोमा मलाई ऐठन भयो ।
उठेँ । बस्तिनँ यो कुनामा । यस्तो राम्रो दृश्य हेर्न उभिएर यात्रा गर्दा पनि खुसी । अब उठेर बाहिरको रमिता हेर्दै यात्रा गर्न थालेँ । अगाडि बसेका मेरा सहयात्रीलाई हेर्छु । इसाराले बोल्छु, विशेष सर्मिलाजी र गीताजीसँग । यात्रामा हल्ला गर्न पाइँदैन ।
दुवैपट्टिका झ्यालबाट सुन्दर दृश्य हेर्दै रम्न थालें । यो यात्रा कहिल्यै अन्त नहोस् भनेझैँ लाग्छ । सर्मिला र गीताजीको सिटको ठूलो झ्यालबाट बाहिर देखिने दृश्य हेर्न खुब मजा आउँछ । उहाँहरूको सिट आमनेसामने फर्केको बीचमा ठूलो टेबल छ । त्यो चार जना बस्ने सिटमा अरू पनि यात्रु छन्, तर पनि उहाँहरू विस्तारै गफ गर्दै बाहिरको दृश्यको रसपान गर्न छेकेको छैन ।
विशेष गरी, लन्डन बाहिर जाने रेलमा मिनीबार र ट्वाइलेटको सुविधा पनि हुन्छ । चिया, कफी र केही हल्का स्यान्क्स पनि किन्न पाइन्छ । टिकटको दाम हेरी सेवा उपलब्ध हुन्छ । फस्र्ट क्लासको क्यारेजमा यात्रा गर्दा अरू बढी सेवा उपलब्ध हुन्छ ।
कुनै क्वाइट जोनका क्यारेज हुन्छन् । साथीसँग बोल्दा पनि साउती मार्नुपर्छ । फोन चलाउन पाइँदैन । यात्रुहरु पुस्तक, पत्रिका पढिरहेका हुन्छन् । कोही ल्यापटपमा आफ्नो काम गरिरहेका छन् । कोहीचाहिँ मस्तले निस्फिक्री सुतिरहेका हुन्छन् । हामी बसेको क्यारेजमा कुनै बन्देज छैन, तर छैन भनेर सँगै बसेको अर्को यात्रुलाई असर पर्नेगरी बोल्नुचाहिँ हुँदैन ।
बाहिरको मनोरम दृश्य गुम्ने भएकाले म सिटमा बस्नुभन्दा उठेरै यात्रा गर्न थालेँ । विशाल फाँटमा कहिले नरित्तिने लिकमा रेल दौडिरहेछ । झिँगटीका छाना भएका बेलायतका बान्किला घर, सहर, ती बस्तीमा सडकको दुवै किनारामा रोपिएका बोटबिरुवा, हरिया पालुवा हुन् वा फुलेका सुन्दर फूल । खेतका विशाल फाँट, चरिरहेका भेडा, गाई, घोडाका बथान, त्यो बथानको चर्ने ठाउँको सुन्दर बस्ती अति नै सुन्दर छन् । लाग्छ– कुनै कुशल कलाकारले बनाएका सुन्दर तस्विर हुन् । जति हेरे पनि नअघाइने, बेलायतका यी गाउँबस्ती र सहरका दृश्य हुन् ।
पार्क तलको कुनामा रहेको रोयल सेक्सपियर थिएटरको आँगन पुग्न सकेनौँ । उनकी प्यारी जीवन संगिनी आन हाथवेको माइतीघर पुग्न सकेनौँ । त्यो ऐतिहासिक ठाउँ पुग्न राँटो रह्यो । बिहान छुटेको ट्रेनले आजको हाम्रो यात्रालाई गर्नसम्म गर्यो । अब हामीले ढिलो गरे राति १२ बजेतिर मात्रै घर पुग्नेवाला थियौँ ।
मेरा आँखा झिम्किनै मान्दैनन् । सर्मिलाजी त टेबलमा टाउको अड्याएर निहुरिरहनुभएको रहेछ ।
बाहिरको सुन्दर बस्तीका जर्सीगाइ बथान एमानका कल्चौँडा लिएर हामीलाई बेसरम देखाउँदै चरनमा चर्दै थिए । सानो सुन्दर बस्ती तिर देखाउँदै मैले बिस्तारै पछाडिबाट भनेँ 'सर्मिलाजी बाहिर हेर्नुस् न बाहिर, किन आँखा चिम्लेको ।' उहाँले आँखा चिम्लेरै भन्नुभयो, 'भो पुग्यो, आँखाको दृश्य, मनले हेर्दै छु ।'
मलाईचाहिँ पुगेको छैन । यी ट्रेन ट्यागबाट देखिने दृश्य अति नै मनोरम छन् । सुन्दर छन् । विकलजी र प्रदीप दाइ आफ्नै कुरामा व्यस्त छन् । डा.सुषमा दिदी र बुद्धिजी पनि बाहिरको दृश्य हेर्दै आफ्नै गफमा व्यस्त छन् ।
मेरो सिटभन्दा ठीक अगाडि दुई गोरा यात्रु छन् । यी दुई यात्रु आपसमा अङ्कमाल गरेर एक डल्लो परी निदाएर यात्रा गरिरहेका थिए । अब उठेका छन् । उनीहरूको गुनगुन बात चलिरहेको छ । भरेभरे त्यो गुनगुन सुँक्क–सुँक्क आँसुमा परिणत भएको छ । जे गरून्, मलाई तिनको कुनै कुरामा चासै छैन । छ त खालि बाहिरको दृश्यले तानेको छ ।
बेलायत जति बसे पनि यहाँको लेक बेसीको दृश्यल लोभलाग्दोे छ । मनको क्यामेराले कैद गर्ने मोह कहिले भङ्ग हुँदैन, छ, छ, छ, भोको छ ।
बाहिरको दृश्य हेरिरहेको बेला अगाडिको यात्रुले मपट्टि टाउको फर्काएर भन्यो, “तिम्रो यो व्यवहारले हाम्रो प्राइभेसीमा डिस्टर्ब गर्यो ।' म त तर्सें ।
बाहिरको दृश्य हेर्दै गरेको म, त्यहाँ भित्रको उनीहरूको गे प्रेमलाप मलाई के मतलब । त्यो अप्राकृतिक प्रेमको मलाई के खाँचो ? खाँचो त बाहिरको पो थियो त ।
हावासरी बत्तिने रेलमा चढेकी म तिनै हावासरी आउने सुन्दर दृश्यलाई लोभी आँखाले रसपान गरिरहेकी थिएँ । तिनले गरेको गालीले मलाई थुचुक्क बसायो । बोलौँ, मैले के भन्ने । हुन त ती दुई जोडीमा, उठेर बाहिर हेर्दै गर्दा कर्के आँखा नपरेको भने होइन नि । मलाई लागेको थियो नै यो के आश्चर्यको दृश्य हो ।
हामी जाँदै गरेको रेल लेमिङटन स्पामा रोकियो । ओर्लियौँ, अर्को रेल आउन डेढ घन्टा छ । अब हामीसँग जहाँ गएर पनि, जसरी भए पनि समय बिताउनै पर्नेछ । बिहानै हिँडेका हामी अब लन्चको समय पनि भइसकेको छ ।
ल अब बाहिर गएर लन्च खाने अनि आउने भने सल्लाह भयो । स्टेसन कर्मचारीलाई हाम्रो अर्को रेलको समय जानकारी गराएपछि स्टेसनबाहिर जाने अनुमति दिए ।
यो अपरिचित सानो ठाउँको अप्रत्यासित यात्रामा मेलोमेसो नै पाउँदैनौँ । कता छ बजार, कता सुपरस्टोर । बेलायतको भूमिमा जात गए पनि सफा र फराकिला बाटा । बाटाको दुवै लाइनमा सललल बगेसरी बनेको झिँगटीका छाना भएका इँटाका बान्की परेका बर्सौं पुराना घर छन् । स्टेसनबाट निस्किएर बजार खोज्दै हिँड्दै छौँ ।
मानिसको पातलो आवत–जावतको सडक, कार पनि थोरै गुडेका छन् । ट्राफिक लाइटनेरको ठूलो पबमा पो पस्ने हो कि भन्दा सबैको मतो मिलेन । नत्र बेलायतका पबमा पेयपदार्थको साथै खानाको राम्रो व्यवस्था हुन्छ ।
गफ गर्दै यो नौलो ठाउँमा हिँडेका छौँ । निकै पर सानो बजार भेटियो । जहाँ सफा र फराकिलो बङ्गालीको फिस एन चिप्स पसलभित्र छिर्यौँ । हाम्रो छोटो समयको थकाइ यसैमा आएर बिसाउँछौँ ।
सबैले तात्तातो चिप्स, बर्गर, चिकन विङ, सलाद खान थाल्यौँ । प्रदीप नेपाल दाइले खानामा विशेष परहेजमा बस्नुपर्ने भएकाले भेजी सलाद खानुभयो । आनन्दले मीठो लन्च खाएर फेरि उही बाटो फर्कियौँ ।
मौसम पनि सफा छ । हाम्रो मन हतारिइरहेछ, सेक्सपियर बाजेलाई भेट्न । हामीलाई के गरी बिताउँला भनेर अत्यास लगाउने हाउगुजीको डेढ घन्टा फुत्तै गएछ । लाभिङ्गटन स्पाको फिस एन चिप्समा चारो खोजेर दिनभरिका लागि इनर्जी टपअप गर्दागर्दै बितेछ । जिन्दगीका पल यसरी नै पत्तै नपाई गइरहेछन् र जानेछन् ।
त्यो, एक दिन पनि आउनेछ, रेलले स्टेसन छाडेजस्तै अनन्त यात्रा तय गर्नुपर्नेछ । त्यो बेला हामीले फर्किआउनुपर्छ भनेर हतार गर्नुपर्ने छैन, तर आजचाहिँ हामीले बाजेलाई भेटेर बास बस्न गुँडमा फर्किआउनैपर्ने छ । किनकि भोलि हामी सबैले जिन्दगीको समयलाई विभाजन गरेर अरू नै काममा सदुपयोग गर्नु छ ।
पुगियो स्टेसन । स्टेसन अफिसरलाई हामी बाहिर जाँदा नै सूचना गरेर गएकाले उनलाई थाहा भइहाल्यो । इन हुन हामीले टिकट देखाइरहन परेन । चाबीले खोलेर पस्न दिए । फराकिलो छ स्टेसन । दिउँसोको समय प्लेटफम भित्र थोरैमात्र यात्रु छन् । आकाश र दुवैतिर लम्बिएको रेलको लिक बाहेक अरू हेरौँ–हेरौँ लाग्ने सुन्दर दृश्य केही देखिँदैन । हामी आआफ्नै सपनाको यात्रामा छौँ ।
प्रदीप दाइ र विकलजीको कहिले नसकिने गफ चलिरहेछ । सुषमा दिदी, गीताजी, सर्मिलाजी, बुद्धिजी र म पनि आफ्नै कुरामा व्यस्त छौँ । यस्तै पट्टाइलाग्ने क्षण धेरै कुरिरहनु परेन । हामीलाई लैजाने रेल,
कुँ... गर्दै आयो ।
हाम्रो मर्मलाई बुझेर आयो ।
हाम्रो हतारलाई बुझेर आयो ।
हाम्रो कौतूहल बुझेर आयो ।
तारिएका छौँ, विश्व साहित्यका शिखर पुरुषलाई भेट्न । उनले जीवनको पहिलोपटक च्याँ.. आवाजसँगै आँखा खोलेको पवित्र कोठा नियाल्न हतार लागिरहे छ । उनी हुर्केको घरको कोठा–चोटामा रम्नु छ । उनले तातेताते गर्दै खेलेको आँगनमा पाइला राख्न हतार छ । हतारिएका छौँ, उनले खेलेका चोक र गल्ली हेर्न । मेरा लागि उनीसँगको यो भेट दोस्रो हो, तर जतिपटक भेटे पनि मनमा उत्सुकुता र कौतूहल सधैँ लाग्ने रहेछ ।
अबको हाम्रो यात्रा करिब दुई घन्टाको हो । हामी हावासरी दौडने रेलमा यात्रा गर्दै छौँ । विलियम सेक्सपियरलाई भेट्न, हाम्रो मन भने त्यो रेलभन्दा चाँडो हतारिएर बत्तिरहेछ ।
यसपटक भने मैले सबैसँग बसेर बाहिरको सुन्दर दृश्य हेर्दै यात्रा गर्ने सिट पाएँ । विकलजी र प्रदीप दाइ एक ठाउँमा बीचमा ठूलो टेबल छ, अर्कोपट्टि सुषमा दिदी र म छौँ ।
दाहिनेपट्टिको सिटमा सर्मिलाजी, गीताजी र बुद्धिजी ।
सर्मिलाका आँखा बाहिरभन्दा पनि टेबलमा टाउको घोप्टिएको छ । गीताजीका आँखा भने बाहिरको सुन्दर दृश्यको रसपान गरेर थाकेकै छैन ।
घरीघरी सर्मिलाजीलाई म बोलाउँछु, 'बाहिर हेर्नुस् न बाहिर ।'
उनले बन्द आँखा नखोलीकनै भनिन्, 'म मनका आँखाले हेर्दै छु ।'
गीताजी भन्नुहुन्छ, “बच्चा निदाएको छ । अहिले भोक लागेपछि रुन्छ, अहिले सुत्न दिनुस् ।”
सर्मिलाजीलाई गीताजीले 'बच्चा' भनेर भन्नुहुन्छ । उनलाई बच्चालाई झैँ भोक लाग्ने, तिर्खा लाग्ने, लागेपछि चाहियो, चाहियो, नभई नहुने । त्यसैले उनलाई बच्चा भनेर गीताजीले भन्नुभएको हो । हामी पटक–पटक बच्चालाई जिस्क्याउँदै यात्रा गर्दै छौँ ।
बर्सौं त्रिविमा प्राध्यापन गर्नुहुने प्रा.डा. सुषमा आचार्य, जसले दर्जनौँ कृति प्रकाशित गरिसक्नुभएको छ । त्यस्तै नेपालका वरिष्ठ राजनीतिज्ञ र वरिष्ठ साहित्यकार प्रदीप नेपाल उहाँहरूको साथमा यो आरामदायी र अविस्मरणीय यात्रा हुँदै छ । यस्ता उच्च व्यक्तित्वसँग यति नजिक भएर यात्रा गर्नु भनेको मेरा लागि पहिलो अनुभव हो । उहाँहरूमा अहम् छैन । आफूभन्दा सानालाई दिने ममता र मिलनसारिता कति हो कति, वर्णन गर्न शब्द छैन ।
प्रदीप दाइको चर्चित देउमाईको किनार कृति सुने पनि आजसम्म छुने समय जुरेको छैन । पढेको भए आजको दिन त्यसबारे कुरा गर्न पाइन्थ्यो । आफैँलाई हकारेँ, 'परदेशी भएको धेरै समय भइसक्यो, सबै सुविधा कसरी पाउछेस् ए ।'
प्रदीप दाइसँग यात्रा गर्ने संजोग भविष्यमा आउने हो, होइन । पहिलोपटक मन्त्री हुँदा पत्रपत्रिकामा देखेको फोटोभन्दा धेरै फरक भइसक्नुभएको छ । सायद व्यवहारमा पनि अवश्य नै होला । उहाँलाई यति नजिकबाट भेटेको थिएन । परदेशमा यसरी सँगै यात्रा गर्न पाउँदा ज्यादै खुसी लागेको छ ।
विकलजीको विशेष अनुरोधमा आउनुभएको हो । नेपालबाट धेरै नेता बेलायत आए बेला सङ्गत गरे पनि धेरैले नेपाल जाँदा बिर्से तर प्रदीप नेपाल दाइले कहिले त्यसो गर्नु भएन रे । विकलजीलाई माया गरिरहनु भयो ।
नेपाली साहित्यलाई माया गर्नेले डायस्पोरा साहित्यलाई पनि माया गर्दै आज हाम्रा सामु आफ्ना अनेकन् महत्वपूर्ण काम थाती राखेर सम्मेलन सफल पार्न आउनुभ यो । जो जो आउनुभयो उहाँहरु प्रति हामी अति नै आभारि छौं । त्यही खुसियालीमा विलियम सेक्सपियरलाई भेट्न जाँदै छौँ ।
देशको राजनीतिक, साहित्यिक, व्यावहारिक र व्यक्तिगत कुरामा चासो राख्दै यात्रा गरिरहेछौैँ । बाहिर देखिने हरियाली फाँट, पाखाभरि चरनमा चरिरहेका भेडाका बथान, जर्सीगाई र घोडाको बथान, बालीनाली, कतै बाक्लो र कतै पातला सुन्दर बस्तीको बयान गरी साध्य छैन ।
नीलो सफा आकाशमा उडेका निर्मल बादलका भुवा, त्यही भुवामा लुकामारी गर्दै उडेका जेटले छाडेका सेता र रङ्गीचङ्गी धूवाँका मुस्लो, आकाश गगामा सुनकेस्रा रानीका कपालजस्तै देखिछ ।
ती दृश्य यति मोहक छन्, खै कुन शब्दमा वर्णन गरौँ म शब्द नै छैन ।
यात्रा अब टुङ्गोमा पुग्दै छ ।
रोकियो रेल, हामी जस्तै अरु यात्रुहरुलाई छाडेर ऊ हुत्तिँदै हान्नियो आफ्नो गन्तव्यतिर ।
हतारिएका खुट्टा छिटोछिटो चल्न थाले । रेल स्टेसनबाट निस्केर हामी ट्याक्सीमा पो जाने हो कि अथवा कुनै सार्वजनिक सबारी साधन पो छ कि भनेर सोधीखोजी गर्छौं । त्यहीँकी स्थानीय महिलाले भनिन्,
'बढीमा २० मिनेट लाग्छ, त्यति टाढा छैन ।'
घुम्न आएका घुम्दै जाने, हेर्दै जाऊँ न त, सल्लाह भएर वरपरको घर र बाटोवरपर रमिता हेर्दै केही क्षणमा हामी स्ट्राटफोर्ड अपन एभनका विलियम सेक्सपियरको प्यारो गाउँठाउँ पुगेका छौँ । सन् २००६ मा म पहिल्यै साथी दुर्गा प्रधान र हिबोर्ट लामा दाइसँग आएकाले लोकेसन कता पर्छ भनेर थाहा थियो । विकलजी त झन् धेरैपटक आइसक्नुभएकाले उनलाई कण्ठस्थै छ, फरक यत्ति हो पहिला आउँदा कारबाट आएको अहिले रेलबाट ।
हिँड्दै हेन्ली स्ट्रिट पुग्यौँ, जहाँ विलियम सेक्सपियरको जन्मघर छ ।
बाटामा जाँदा गीताजी र म पालैपालो फोटा खिच्दै हिँड्छौँ । उहाँलाई पनि मलाईजस्तै फोटोको सोख छ । ट्राफिक लाइट, जेब्रा क्रसिङ गर्दै उनी डुलेको स्ट्रिटमा पुगिसकियो ।
सेतो रङ्गले पोतिएको तलको भाग र माथिको भागमा रातो इँटा, टायलले छाएको दुईतले, तीनधुरे छानामा झिँगटी लगाएको घर ।
ऊ परैबाट देखियो– ‘सेक्सपियर बर्थप्लेस इन्ट्रान्स’ भनेर लेखिएको घर ।
इन्ट्रान्स गेट अगाडि मानिसको भिड छ । हामी पनि छिनमै त्यही भिडमा मिसिन पुग्यौँ । जापानीको ठूलो समूह रहेछ । त्यहाँ अरू विभिन्न देशका मानिसको भिड थियो । टिकट काउन्टरमा गएर विकलजीले लिनुभयो । पैसाको नोटजस्ता लामा सोभिनियरजस्ता टिकटमा एक जनाको १४ पाउन्ड लाग्ने रहेछ ।
सबैले हातमा टिकट लिएर गेटमा पस्यौँ । मानिसको घुइँचो छ । भित्र छिरेपछि विभिन्न खण्डमा ससाना कोठाभित्र त्यो जमानाको समाज झल्काउने र जानकारी दिने विभिन्न सामग्री र पेन्टिङ विशेषगरी नाटकका विभिन्न भावभङ्गिमाका नक्सा र पोस्टर राखिएका छन् । कतै आवाज आउने त्यो बेलाको नाटकको ध्वनि प्रसारण भइरहेको छ । त्यस बेलाको समाज र उनीसँग सम्बन्धित विषयवस्तुलाई त्यस घरभित्र देखाइएको छ ।
सबै आ-आफ्नै तालमा यता र उताको कोठामा देखाइएका सबै वस्तु हेर्न खोज्दाखोज्दै बाहिरिने बेला भइहालेछ, अर्कोपट्टिको आँगनमा पुगेका छौँ । यहाँचाहिँ हामी एकछिन सुस्तायौँ । अबचाहिँ पस्नुपर्ने ठाउँमा पस्दैछौँ । जहाँ विलियम सेक्सपियर जन्मिएका थिए । त्यहाँभित्र पसेपछि अब फेरि यता आइरहन भ्याइँदैन, त्यसैले पालैपालो यो ठूलो आँगनमा पुराना गुलाफका बोटसँग मितेरी लगाउँदै सबैले उनको जन्मघर पछाडिको पाटो देखिनेगरी फोटो खिच्यौँ । सामुहिक फोटो खिच्ने समय नै मिलेन कि वा हतारिएर अरू कसैलाई आग्रह गर्न बिस्र्यौं । अहिले यी हरफ लेखिरहँदा सामूहिक फोटो नखिचेको पीडा महसुस भएको छ ।
फोटोको काम सकेपछि उनको घरभित्र छिर्न लाइनमा बसेका छौँ । पुरानो दुईतले घर छ । भित्र पस्न सिधै अगाडिबाट नगएर पछाडिबाट पस्ने व्यवस्था छ । पछाडिको यो ठूलो आँगनबाट भित्र पस्ने ढोका छ । ढोकाको देब्रेतिर बूढो सेतो लहरे गुलाफको लहरा माथितिर लहरिएको तल फेदको डाँठका चार/पाँचवटा दह्रा–दह्रा लठारिएर मास्तिर चढेका छन् । तिनका वरपरबाट ससाना मसिना लहरा निस्केर सेता कोपिलाका झुप्पा र फूलहरू फुलिरहेछन् । ती गुलाफका सेता फूलका गुच्छाले त्यो तीर्थधाममा आउने सबैको स्वागत गरिरहेछन् । थाहा छैन कति वर्षदेखि त्यहाँ उभिएका होलान् ।
पालैपालो भित्र छिर्छौं । हामीभन्दा अगाडि एक हुल अरू पर्यटक छन् । तिनहरूलाई टुर गाइडले उनीहरूकै भाषामै व्याख्या गर्दै लगिरहेछ । भित्र पस्दा फोटो खिच्न मनाही रहेको सूचना टाँसिएको छ ।
उनको भान्सा कोठामा आगो जोरिरहेको अँगेनामा पोलिएका कोइला र खरानीको थुप्रो, छेउमा पानी तताउने केट्ली, पकाउने भाँडा, चिया, पानी पिउने कप, धूवाँ लागेको लसुन, प्याज र खुर्सानी, भुइँमा बाल्टी, काठका पुराना वियरका ब्यारेल देख्यौँ । नजिकै मारिएको भुत्लासहितको हाँस झुन्डिरहेको छ । अलि भित्र कोठामा खाना खाने डाइनिङ कुर्सी टेबल छन् ।
उनका बा जोन व्यापारी भएकाले बाटोपट्टिको कोठामा सिसाको सोकेसमा राता, काला, सेता रङ्गीचङ्गी छालाका पन्जा र छाला व्यापारका लागि सजाए जसरी नै राखिएका छन् । ऊन कात्ने चर्खा पनि अलिपर कुनामा राखिएको छ ।
यहाँ भित्र ठूलो स्वरमा कोही पनि बोलिरहेका छैनन् । बोले पनि बिस्तारै बोलिन्छ । कुना अथवा भित्तातिर राखिएका जानकारी बोर्डमा उभिएर एक ध्यान लगाएर पढ्छन् । कसैले चाहेको खण्डमा नोट पनि सार्छन् वा सकिन्छ । अब हामी माथिको तलामा सिँढीबाट उक्लन्छौँ ।
ठूलो कोठा जहाँ उज्यालो र ठूलो झ्याल छ, त्यही कोठमा विलियमको जन्म भएको हो । त्यो झ्यालको पल्लामा चाल्र्स डिकेन्स, जोन किड्स, वाल्टर स्कट, टोमस हार्डीले हस्ताक्षर गरेका छन् । यसबाट के प्रमाणित गरिएको छ भने उनी त्यो समयमा पनि त्यति नै प्रसिद्धि कमाएका र पुजिएका साहित्यकार थिए । उनीहरू त्यहाँ आएको र झ्यालमा हस्ताक्षरबारे त्यहाँ लेखेर राखिएको अभिलेखमा पढ्न पाइन्छ । उनीहरूले हस्ताक्षर गरेको झ्याललाई विशेष सुरक्षाका लागि सिसाको फ्रेम बनाएर सुरक्षित देख्न सकिनेगरी राखिएका छन् ।
सेक्सपियरसँग सम्बन्धित सामग्री उनका र परिवारका सुत्ने कोठा पनि देख्न पाइन्छ । सुत्ने पलङमा सिरक, डसना, सिरानी, कुर्सी, टेबल, कापी र मसीदानी, राति बाल्ने बत्ती र जाडोमा कोठा तातो बनाउने कोइलाका चुला व्यवस्थित छन् ।
उनका बा जोन व्यापारी भएकाले उनको यो घर अति नै व्यवस्थित र ठूलो छ । उनले आन हाथवेसँग बिहे गरेपछि पनि उनी यस घरमा पाँच वर्षसम्म बसेका थिए । उनको जन्म सन् १६१६ मा यसै हेन्ली स्ट्रिटमा भएको थियो । यसै घरमा उनको लालनपालन भएको थियो । उनी यसै घरमा हुर्किएका थिए । साहित्यिक, पारिवारिक, सामाजिक र व्यापारिक व्यक्तित्वका धनी मानिस थिए । उनी तीन सन्तानका पिता र कुशल अभिनयकर्ता पनि थिए । उनले चौतीसवटा भन्दा बढी नाटक र धेरै सोनेट लेखेका थिए ।
उनको कोठाचोटा हेर्दाहेर्दै बाहिर निस्कने सिँढीमा पुगिसकेछौँ । हाम्रो तीर्थधामको दर्शन करिब–करिब सकियो । त्यहाँबाट ओर्लेर अर्काे कोठा पुगेका छौँ । त्यहाँ उनले लेखेका किताब बिक्रीका लागि मिलाएर राखिएका छन् । उनका विभिन्न समयका फोटा फ्रेममा लगाइएका, फोटोअङ्कित अरू धेरै सोभिनियर कलम, रुलर, पोस्टकार्ड, बुकमार्क, डायरी, चियाका कप आदि विभिन्न थरीका सामान छन् । त्यहाँ पुग्ने जोकोहीले केही न केही किनिरहेका हुन्छन् ।
मैले सेक्सपियर लेखेको काठको चार रुलर किनेँ । पहिलोचोटि जाँदा किनेको कलम अझै हेर्दै मायाले राखिरहेकी छु । त्यो बेला त्यहाँ सानो किताब जो हातको बूढी औँलाको टुप्पोजत्रो चौडाइको देखेथेँ । ज्यादै अचम्म लागेको छ, त्यसलाई पनि मानिसले पढ्नभन्दा पनि सोभिनियरकै रूपमा किनेर लैजाँदा होलान् । यसपालि त्यो देँखिन । त्यो बेला किन–किन किन्न मनै लागेन । अहिले त्यो सानो बच्चो किताबको सम्झनाले खुबै सताएको छ । तर आज पाइएन ।
हामी त्यहाँ केहीबेर मात्रै अल्मलिएर बाहिरियौँ । बाहिर पनि पर्यटक आवत–जावतले रमाइलो वातावरण छ । यो हेन्ली स्ट्रिटको भागमा सबारीसाधनको प्रवेश निषेध छ ।
यो सानो रमाइलो बजार एभन नदी किनारामा रहेको छ । अलि तल आएर यस नदी भेटिन्छ । यस नदीमा सेता राजाहाँस तल–माथि पौडिरहेका हुन्छन् । नदीमा विभिन्न थरीका डुङ्गा पनि तैरिँदै तल–माथि गरी पर्यटकको सेवा गरिरहेका आकर्षक देखिन्छन् । हामी अलि तलको पार्कसम्म गयौँ । जाडो बढ्दै गएछ । बेलुकाको ६ बजिसके छ ।
पार्क तलको कुनामा रहेको रोयल सेक्सपियर थिएटरको आँगन पुग्न सकेनौँ । उनकी प्यारी जीवन संगिनी आन हाथवेको माइतीघर पुग्न सकेनौँ । त्यो ऐतिहासिक ठाउँ पुग्न राँटो रह्यो । बिहान छुटेको ट्रेनले आजको हाम्रो यात्रालाई गर्नसम्म गर्यो । अब हामीले ढिलो गरे राति १२ बजेतिर मात्रै घर पुग्नेवाला थियौँ ।
त्यसैले त्यो हेन्ली स्ट्रिटमा जन्मने महामानवको रस्ती–बस्ती, उनले च्याप्डुङ– च्याप्डुङ गर्दै, पौडी खेलको नदी एभन र उनका साथीसँग दौडेको चौर, उनका बा जोनले व्यापार गरेर मलिलो भएको सहर स्ट्रार्टफोर्ड अपन एभनलाई बाइबाइ गर्दै गन्तव्यतिर लाग्यौँ । चुच्चे ढुङ्गो उही टुङ्गो, हाम्रो बाटो लामो छ । रेल्वे स्टेसनतिर लाग्छौँ । सफा, फराकिला बाटा, झिँगटीले छाएका रातो इँटाका घर बेलायतका विशेषता नै हुन् ।
रेल समयमै चढ्छौँ । अहिलेको बसाइ रमाइलो छ । बीचमा टेबुल छ । विकलजी र प्रदीप दाइ, सुषमा दिदी र म एउटामा छौँ । अर्को टेबलमा गीताजी, शर्मिलाजी र बुद्धिजी । त्यही रमाइलो वातावरण, त्यही प्रिय साथ, त्यही सुन्दर बेलायती दृश्य । अनि हाम्रो अविस्मरणीय साहित्यिक यात्रालाई मनको तरेलीमा उनेर यात्रा गरिरहेछौँ ।
५२ वर्ष मात्र बाँचेका सेक्सपियर जन्मेको ठाउँमा हेर्न मानिस आउन थालेको २५०औँ वर्ष भइसकेको छ । आजको हाम्रो यात्रा पनि त्यसको एउटा निरन्तरता हो । उनी प्रतिको नओइलिने फूलको श्रद्धासुमन हो । आजको हाम्रो यात्रा साहित्य र साहित्यकारलाई गरेको हृदयभित्रको नरित्तिने अमर प्रेम हो ।
बेलायत