विप्लव ढकाल | साहित्य | चैत ०७, २०७७
निधारको पसिना र आँखाको आँसु पुछिदिने
मायालु बताससँग कुरा गर्दागर्दै
डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर
कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै
टिनिनि ... टिनिनि ...
पोल्टोभित्र बज्न थाल्यो रिङटोन !
ए निर्मली !
झिक मोबाइल
क्याच्च थिच र ‘हेलो’ भन !
मनमा यसरी काउकुती लाग्ने गरी
फेरि यति चाँडै कसले गर्यो होला यो फोन ?
कि फेरि कुबेतको तेलखानीबाट
‘सञ्चै छ्यौ मेरी रानी ?’ भन्नलाई
आफ्नै मनको राजाले गरेको हुनुपर्छ यो कल !
कि त चौकीबाट अन्तरे हल्दारले
मिस कल दिएको हुनुपर्छ !
कि काँसको फूल जस्ती आमाले माइती गाउँबाट
‘के खाइस् छोरी ?’ भन्नलाई गरेको हुनुपर्छ !
कि त्यही मोरो डाँडाघरे झिल्केले
‘निर्मली भाउजू, बाख्रा कता लाने ?’
भन्नलाई गरेको हुनुपर्छ !
टिनिनि ... टिनिनि ...
न्याउली रोयो निरमाया !
नत्र किन यसरी बढ्छ यो मुटुको ढुकढुकी
र घरिघरि बजिरहन्छ यति उराठलाग्दो धुन ?
लौ न ए निर्मली !
आधा बाटो हिँड्न त अझै बाँकी छ !
घरमा काल कुरेर एक्लै बसेकी छिन् बूढी बज्यै
उनलाई च्याँख्ला पकाएर खुवाउन बाँकी छ !
टाट्नामा बाख्राहरू सिलोक भनिरहेका होलान्
तिनलाई खनिउँको घाँस र पानी खुवाउन बाँकी छ !
खोरमा संगिनी गाइरहेका कुखुराहरूलाई चारो दिन बाँकी छ !
गोठमा बालुन खेलिरहेको भैँसीलाई कुँडो दिन बाँकी छ !
पँधेरा जान बाँकी छ ! जाँतो घुमाउन बाँकी छ !
सिन्दुर लाएको सत्ताईस दिनमै छोडी जाने निर्मोहीलाई
पर्खी पर्खी बाँच्न अब सत्ताईस जुनी बाँकी छ !
सपनाहरू सम्झिएर सास फेर्न बाँकी छ !
मोबाइलको ब्यालेन्स त सकिन्छ चाँडै—
तर कति लामो हो यो जिन्दगी ? कति लामो हो ?
रात कहिल्यै सकिँदैन ! दिन कहिल्यै सकिँदैन !!
सपनामा आफ्नै गोठको भैँसी फुकेर जिउभरि नाचिरहन्छ !
झ्यालमा हल्दार जस्तो बिरालो आउँछ
र मिस कल हानिरहन्छ !
‘यो दसैँमा लुङ्गी किन्छ्यौ कि सारी ?’
इस्कुसको झ्याङमा लुकेर त्यही पापी झिल्केले
बारम्बार सोधिरहन्छ !
आफ्नै हाँगाको लौरो टेकेर टुकुटुकु हिँड्छन् रुखहरू !
सुनाखरीले आफ्नो चुल्ठोमा आफै सिउरिन्छ फूल !
आफू नाच्नका लागि आफै गीत गाउँछ माली चरो !
तर निर्मली ! कहाँ हरायो इन्द्रेणीको आधा चक्का ?
रात कहिल्यै सकिँदैन ! दिन कहिल्यै सकिँदैन !!
टिनिनि ... टिनिनि ...
न्याउली रोयो निरमाया !
झिक मोबाइल
क्याच्च थिच र ‘हेलो’ भन !
मनमा यसरी डढेलो लाग्ने गरी
फेरि यति चाँडै कसले गर्यो होला यो फोन ?