लोकसंवाद संवाददाता | विदेश | चैत ११, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नु भएको छ ।
अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उहाँले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिनु भएको छ ।
मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उहाँको एउटा अडियो सन्देशमा भनिएको छ, “सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ ।”
ज्याकोब्सनले अवैधानिक ढङ्गबाट संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने बताउनु भएको छ ।
राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र ज्याकोब्सनले मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डसँग मेक्सिको सिटीमा वार्ता गरेपछि ज्याकोब्सनको अडियो सार्वजनिक गरिएको हो ।
आर्थिक सङ्कट, अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन् ।
बालबच्चा सहित ठूलो संख्यामा मानिसहरु कैयौं दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा कृयाशील सङ्घसंस्थाले जनाएका छन् ।
ज्याकोब्सनले सन्देशमा मेक्सिकोको उत्तरी सीमा क्षेत्रमा यात्रा निकै कठिनाइपूर्ण रहेको बताउँदै मानव तस्करहरुले सीमापार गराइदिने प्रलोभनमा लुटपाट र शोषण गर्न सक्ने खतरा रहेको बताउनु भएको छ ।
यसबाहेक, विश्वभर नै कोरोनाभाइरसको महामारी फैलिइरहेको अवस्थामा ठुल्ठूलो समूहमा हिँड्दा वा शिविरमा बस्दा कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा अरु बढ्ने बताउँदै उहाँले आप्रवासी प्रक्रियाका बारेमा बढीभन्दा बढी जानकारी लिन र सुरक्षित रहन आग्रह गर्नु भएको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनले उपलब्ध गराएको तथ्याँकमा गत फेब्रुअरीको एक महिनामै अमेरिका प्रवेश गर्न खोज्ने करिब एक लाख व्यक्तिलाई सीमा क्षेत्रमा नियन्त्रण गर्नु परेको उल्लेख छ ।
आप्रवासीको संख्या दिनहुँ बढ्दै गएका खबरहरु सार्वजनिक भएलगत्तै राष्ट्रपति जो बाइडेनले त्यस्ता आप्रवासीलाई आफ्नो देश नछाड्न आग्रह गर्नु भएको थियो । तर राष्ट्रपति बाइडेनको आग्रहलाई समेत बेवास्ता गर्दै ठूलो संख्यामा आप्रवासीहरु अमेरिकी सीमा क्षेत्रमा ओइरिन थालेपछि अमेरिका र मेक्सिकोबीच वार्ता हुन थालेको छ ।
मेक्सिकोले अमेरिकातर्फ हिँडेका मध्य अमेरिकी आप्रवासीलाई आफ्नो सीमामै रोक्न दक्षिणी सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाएको छ । जनवरी यतामात्र मध्य अमेरिकाबाट मेक्सिकोतर्फ हिँडेका कागजात विहीन ४ हजार १८० बालबालिकालाई नियन्त्रणमा लिइएको थियो ।
ज्याकोब्सन र गोन्जालेज दुबै हाल मेक्सिकोमा हुनुहुन्छ । उहाँहरु आप्रवासीको आप्रवाहलाई व्यवस्थापन गर्ने सम्बन्धमा योजना निर्माणका लागि मेक्सिकोका अधिकारीहरुसँग छलफलमा व्यस्त रहनु भएको छ ।
एसोसिएटेड प्रेसका अनुसार बाइडेन प्रशासनले ट्रम्पले अघि सारेका आप्रवासन नीतिहरुमा फेरबदल गर्न चाहेको छ । ट्रम्पका नीतिहरु आप्रवासी विरोधी हुनुका साथै अमेरिका प्रवेश गर्नेहरुमाथि कडा शर्तहरु राखिएका थिए ।
तर बाइडेन प्रशासनका दुई अधिकारीले मेक्सिकोका विदेश मन्त्रीसँग मानवीय पक्षका साथै मध्य अमेरिकाको विकासका मुद्दाहरुमा छलफल केन्द्रित गर्नु भएको छ ।
मेक्सिकोका विदेश मन्त्री एब्रार्डले आप्रवासनको समस्या सुल्झाउन क्षेत्रीय विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भएको छ । उहाँले भन्नुभयो, “यदि हामीले मिलेर कार्य गरेको खण्डमा मेक्सिकोका दक्षिणी छिमेकी मुलुकहरुको भविष्य भिन्न हुनेछ, सम्भावना बढ्नेछ । कोही पनि व्यक्तिले गरिबी, असुरक्षा र निराशाका कारण आफ्नो देश छाड्नुपर्ने छैन ।”
अमेरिकामा खासगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट हालैका वर्षहरुमा ठूलो संख्यामा आप्रवासीहरु प्रवेश गर्ने गर्दछन् । यी मुलुकमा व्याप्त भ्रष्टाचार र हिंसाका साथै हालै आएका ठूल्ठुला समुद्री आँधीले यहाँको जनजीवन अति दयनीय बनेको छ ।
आप्रवासनले मानवीय सङ्कटको स्वरुप लिएसँगै ट्रम्प प्रशासनले सन् २०१९ मा मेक्सिकोमाथि दबाब सिर्जना गरेपछि राष्ट्रिय सेनालाई नै सीमामा सेना परिचालन गरेको थियो । आप्रवासनमाथि नियन्त्रण गर्न प्रभावकारी कदम नचाले मेक्सिकोबाट अमेरिकातर्फ हुने आयातमा करवृद्धि गर्ने चेतावनी ट्रम्पले दिनु भएको थियो ।
तर बाइडेन प्रशासनले हाल कुटनीतिक विधिलाई बढी प्रयोगमा ल्याउन चाहेको छ, तर यसमा पनि मेक्सिकोको सहयोग अपरिहार्य हुनेछ । आप्रवासीको मुद्दालाई सम्बोधन गर्न भन्दै बाइडेन प्रशासनले ४ अर्ब डलर विकास सहायता यस क्षेत्रका मुलुकलाई उपलब्ध गराउने बताएको छ ।
अमेरिकी प्रतिनिधिमण्डलले बुधबार ग्वाटेमालाका अधिकारीहरुसँग पनि बैठक गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।