सिरियाली १० वर्षे गृहयुद्ध र सङ्कट: ६ लाख मानिसले ज्यान गुमाए, युवा पुस्ता नै दुर्लभ !

सिरियाली १० वर्षे गृहयुद्ध र सङ्कट: ६ लाख मानिसले ज्यान गुमाए, युवा पुस्ता नै दुर्लभ !

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत १२, २०७७

काठमाडौँ । सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध १५ मार्च, २०११ मा सुरु भएको प्रदर्शन एक महिनापछि गृहयुद्धमा परिणत भयो । निरंकुश शासन, निम्न जीवनस्तरको प्रतिक्रिया स्वरुप ट्युनिसियाबाट सुरु भएको अरब वसन्तको लहरले लिबिया, इजिप्ट, यमन र सिरियामा ठूला आन्दोलन भए । आन्दोलनकारीले अन्य देशमा सत्ता कब्जा गरेपनि सिरियामा बसर अल असदको सत्ता पल्टाउन सकेनन् । अरब वसन्तको आन्दोलनमा गुञ्जिएको नारा थियो, ‘जनता शासकलाई खत्तम गर्न चाहन्छन् ।’ मध्यपूर्व र अरब राष्ट्रहरूमा शासनसत्ता परिवर्तनका लागि ट्युनिसियाबाट सन २०११ मा सुरु भएको आन्दोलनलाई राजनीतिक समीक्षकहरूले अरब क्रान्ति÷अरब वसन्तको नाम दिएका छन्।

यो अरब वसन्तले केही देशमा सत्ता परिवर्तन भएपनि सबैजसो देशमा हिंसाको राजनीतिलाई बढावा दियो । सिरिया र यमन दीर्घकालीन आन्तरिक द्वन्द्वमा फस्न पुगे । यी देशका ठूलो क्षेत्रमा सरकार र विद्रोहीको आ–आफ्नो नियन्त्रण क्षेत्र कायम भएको अवस्था छ । सिरियाको द्वन्द्वमा सरकार र विद्रोहीमात्रै होइन अमेरिका र रुस पनि प्रत्यक्ष सामेल भए । सिरियाको संघर्षमा विद्रोहीसँगै आईएसजस्ता इस्लामिक अतिवादीहरु समेत सामेल हुँदा ठूलो धनजनको क्षति हुन पुग्यो । 

सिरियाको द्वन्द्वमा करिब ३ लाख ८० हजारको मृत्यु भएको छ भने लाखौं शरणार्थी बन्न बाध्य भए । हजारौं घाइते र घरबारबिहीन बन्न पुगे । सिरियामा विद्रोह सुरु हुनुअघि बढ्दो बेरोजगारी, भ्रष्टाचार र निरंकुश शासनको विरोध हुँदै आएको थियो । सन् २००० मा पिताको मृत्युपछि राष्ट्रपति बनेका असदविरुद्ध सन् २०११ मा दक्षिणी सहर डेराबाट सुरु भएको सरकारविरोधी प्रदर्शन रोक्न सिरियाली सरकारले कडा दमन गर्‍यो । असदले विद्रोहीलाई विदेशीको समर्थनप्राप्त आतंकवादीको संज्ञा दिएका थिए । प्रदर्शन बढ्दै जाँदा दमन पनि तीव्र बन्यो र देश गृहयुद्धमा फस्न पुग्यो । विद्रोहीलाई अमेरिकाले हतियारसहितका सहयोग उपलब्ध गरायो भने सरकारलाई रुसको समर्थन थियो । विदेशीको पैसा, हतियार र सेनाको आडमा चलेको गृहयुद्धमा इस्लामिक स्टेट समूह र अलकायदा जस्ता आतंकवादी समूह हाबी हुन पुग्याे । 

सिरियामा जारी युद्धका कारण सन् २०२१ को जनवरीसम्म एक करोड ३४ लाख मानिसलाई मानवीय सहायता आवश्यक छ भने ६० लाखलाई चरम आवश्यकता छ । एक करोड २० लाखभन्दा बढी मानिसहरु दैनिक खानाका लागि संघर्ष गरिरहेका छन् भने पाँच लाख बालबालिका कुपोषणको सिकार बनेका छन् ।

यो युद्धमा मृत्यु हुनेबारे फरक फरक तथ्यांक पाइन्छन् । सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुुसार सन् २०२० को डिसेम्बरसम्म ३ लाख ८७ हजार ११८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १ लाख १६ हजार ९११ जना सर्वसाधारण हुन् । सिरिया युद्धका क्रममा बेपक्ता भएका या मृत्यु भएको अनुमान गरिएका दुई लाख पाँच हजार ३०० जना यो सूचीमा छैनन् । यो समेत संख्या जोड्ने हो भने करिब ६ लाख मानिसले सिरियाली युद्धमा ज्यान गुमाएका छन् । सरकारी कारागारमा यातनाका कारण करिब ८८ हजार गैरसैनिक मारिएका छन् भने हजारौं बालबालिकाले समेत सिरिया युद्धमा ज्यान गुमाएका छन् । सिरियामा हिंसा भड्किएपछि हजारौं शरणार्थीका रुपमा युरोप पसेका छन् । यसक्रममा भूमध्य सागरमा जोखिमपूर्ण यात्रा गर्नेक्रममा थुप्रैले ज्यान गुमाए । सिरियाबाट भाग्ने क्रममा भूमध्य सागरमा डुंगा पल्टिएर मारिएका बालक एलन कुर्दीको समुद्रको किनारामा शब भेटिएको घटनाले विश्वलाई नै तरंगित बनाएको थियो । 

वस्तुतः अझै पनि सिरियामा युद्ध सकिएको छैन । सिरिया सरकारलाई रुस र इरानले साथ दिँदै आएका छन् भने टर्की र पश्चिमा शक्तिसहित कतिपय अरब राष्ट्र विपक्षीको साथमा छन् । युद्धअघि नै सिरियामा सैन्य अखडा रहेको रुसले सन् २०१५ मा असदको समर्थनमा हवाई अभियान सञ्चालन गरेपछि युद्धको लहरमा सरकारी पक्ष हाबी बन्यो र पश्चिमा शक्तिहरु फितलो देखिए । 

रुसले आतंकवादविरुद्ध अभियान चलाएको बताएपनि सरकारविरोधी सबै समूह उसको निशानामा परेका छन् । 

अमेरिका नेतृत्वको गठबन्धनले सुरुदेखि नै सरकारी सेनालाई लक्षित गरी हवाई हमला गरेको थियो । सन् २०१४ यता सिरियामा कुर्द र अरब मिलिसियाको गठबन्धन सिरियन डेमोक्रेटिक फोर्सेज एसडीएफको सहयोगमा जुटेको छ । टर्कीले एसडीएफमाथि हाबी भएको कुर्द वाईपीजी मिलिसियाविरुद्ध केन्द्रित छ । 

सिरियामा जारी युद्धका कारण सन् २०२१ को जनवरीसम्म एक करोड ३४ लाख मानिसलाई मानवीय सहायता आवश्यक छ भने ६० लाखलाई चरम आवश्यकता छ । एक करोड २० लाखभन्दा बढी मानिसहरु दैनिक खानाका लागि संघर्ष गरिरहेका छन् भने पाँच लाख बालबालिका कुपोषणको सिकार बनेका छन् । अरब वसन्तले यस क्षेत्रमा इतिहासकै ठूलो मानवीय संकट निम्त्याएको छ भने दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो शरणार्थी समस्या देखा परेको छ । अस्पताल र स्वास्थ्य संस्था समेत निशानामा पर्दा स्वास्थ्य सेवा प्रणाली कमजोर अवस्थामा पुगेको छ । मार्च २०२० सम्मको विवरणअनुसार ५९५ वटा स्वास्थ्य संस्थामा हमला भएको छ भने ९२३ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ।

युनेस्कोको विश्व सम्पदामा सूचीकृत छ वटै सम्पदाहरूमा क्षति पुगेको छ । प्राचीन पलमाइरा सहर इस्लामिक स्टेटले ध्वस्त बनाएको छ । युद्ध अपराधको संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताका अनुुसार सबैभन्दा जघन्य उल्लंघनका लागि सबै पक्ष जिम्मेवार देखिएका छन् । सिरियाका ठूला सहरी इलाकामा सरकारको नियन्त्रण रहेपनि देशको ठूलो हिस्सा अझै पनि जिहादी र कुर्द नेतृत्वको एसडीएफको नियन्त्रणमा छ । विपक्षीहरूको बलियो पकड रहेको अन्तिम क्षेत्र उत्तर–पश्चिम प्रान्त इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो हुन् । यस क्षेत्रमा हायात तहरिर अल–शाम भनिने अलकायदासँग सम्बन्धित जिहादी गठबन्धनको बलियो पकड छ । 

दश लाख बालबालिकासहित २७ लाख विस्थापितहरू त्यहाँ बसिरहेका छन् । शिविरमा रहेका धेरैको अवस्था नाजुक बन्दै गइरहेको छ । सिरियाको युद्ध तत्कालै अन्त्य हुने छाँट देखिएको छैन । तर सबै पक्ष युद्धका कारण आक्रान्त बनेका छन् । 

विद्रोहीले कुनै सहमतिका लागि राष्ट्रपति बसर अल असद सत्ताबाट हट्नुपर्ने माग राखेपछि सरकारसँग सहमति हुन सकेको छैन । सिरियामा जुन उद्देश्यका लागि विद्रोहीले आन्दोलन सुरु गरेका थिए, त्यसभन्दा फरक र भिन्न अवस्था सिर्जना भएको छ । जसको समाधान झन पछि झन जटिल बन्दै जाँदा शान्तिको आशा कमजोर बन्दै गएको छ । सबैभन्दा चिन्ताको विषय भनेको युद्धको विभिषिकाका कारण युवाहरुको ठूलो संख्या युद्धमा मारिएको, पलायन भएको वा कष्टकर जीवन बिताउन बाध्य भएको छ । जसले गर्दा देशको भविष्य नै अन्धकारतिर धकेएिको छ ।