लोकसंवाद संवाददाता | स्वास्थ्य | चैत १२, २०७७
काठमाडौं । टोखा नगरपालिका–९ गोँगबुस्थित जागरण टोलमा ‘आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना गरिएको छ । टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त केन्द्रको बुधबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । नगरपालिकाले चाँडै नै प्रदेश अस्पतालसमेत सञ्चालनमा ल्याउने उहाँको भनाइ थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले नगरपालिकाका प्रत्येक वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीतिअनुसार टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । टोखाले आगामी दिनमा सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने उहाँको भनाइ छ ।
टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएसँगै गोँगबु नयाँ बसपार्क क्षेत्रका ५० हजार जनता प्राथमिक स्वास्थ्य सेवाबाट लाभान्वित हुने टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले जानकारी दिनुभयो । बुधबारदेखि शुरु भएको आधारभूत स्वास्थ्य केन्द्रमा सुगर, ब्लड प्रेसर जाँच, बच्चालाई खोप, महिलालाई प्रसूतिसम्बन्धी जाँच गरिने अध्यक्ष नेपालले बताउनुभयो । उक्त केन्द्रमा अहेवसहित तीन कर्मचारी कार्यरत छन् । टोखा–२ मा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा निर्माण गर्नका लागि वाग्मती प्रदेशसमेतले स्वीकृति दिइसकेको छ । टोखामा निजी क्षेत्रमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ग्रिनसिटी अस्पताल, अल नेपाल अस्पताल र विनायक अस्पताल सञ्चालनमा रहेका छन् ।