लोकसंवाद संवाददाता | पर्यटन | चैत १२, २०७७
बागलुङ । विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरु हुन सकेको थिएन ।
यो पटक आठ वटा नाउर र चार झारलको शिकार हुन लागेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । हरेक वर्ष कात्तिक र चैतमा दुई सिजन शिकार खुल्ने गरेको छ । चालु वर्षको दोस्रो सिजनका लागि स्पेनका तीन, अमेरिकाका एक, रसियाका एक, युक्रेनका एक र फ्रान्सका दुई गरी आठ शिकारीले शिकार गर्ने छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १० नाउर र छ झारलको लागि खुलाएको बोलपत्र आह्वानमा सोचेभन्दा थोरै शिकारी आएको आरक्ष कार्यालयले जनाएको छ । शिकारी आउने देशमा अझै कोरोना सङ्क्रमणको समस्याले थोरै आएको अनुमान गरिएको छ । आएका शिकारीलाई आरक्ष कार्यालयले ब्लकअनुसारको क्षेत्र तोकेर पठाउने काम गर्ने सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताउनुभयो ।
आरक्षका अनुसार ग्लोबल सफारिज नेपालले तीन नाउर र एक झारल, नेपाल ट्राभल्स एक्सपिडिसन प्रालिले चार नाउर र दुई झारल, हिमालयन सफारिजले एक झारल र एक नाउर शिकार गर्न पाउने अनुमति लिएका हुन् । विश्वव्यापी कोरोनाले शिकार प्रभावित भएको ग्लोबल सफारिज नेपाल प्रालिले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ अनुसार कुनै पनि व्यक्तिले शिकार अनुमतिपत्र लिएर शिकार खेल्न पाउने व्यवस्था छ ।
विभागले तोकेअनुसारको राजस्व बुझाउने र हतियार चलाउन सक्ने लाइसेन्ससमेत भएको व्यक्तिले मात्र शिकार अनुमतिपत्र लिन पाउने व्यवस्था छ । नेपाली र विदेशी जुनसुकै नागरिकले पाउने भए पनि अहिलेसम्म विदेशी शिकारीले मात्रै अनुमति लिएर शिकार गरिरहेका छन् ।
स्थानीय सहयोगीका रूपमा भने उनीहरूले बागलुङलगायत विभिन्न क्षेत्रका व्यावसायिक शिकारीलाई साथ लिने गरेका छन् । ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।