भेष बहादुर थापा : एटिएम तोडफोड गरी चोरी गर्न खोज्दा पक्राउ

भेष बहादुर थापा : एटिएम तोडफोड गरी चोरी गर्न खोज्दा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत १३, २०७७

ललितपुर । ललितपुर महानगरपालिका-१४ खुमलटार र बिशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेष बहादुर थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

ललितपुर महानगरपालिका-१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राति र सोही ठाउँ बिशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका-१४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा.३५ प ६१५७ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।  

उनी उपर चोरी उद्योग सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।