हरिविनोद अधिकारी | साहित्य | चैत १४, २०७७
सम्झना युरोपको अझै । बल्ल बल्ल पुगेको युरोप हाम्रो जोडी आफ्नो ६ दशक लामो जीवनमा । त्यसमा पनि छोरी अर्चना पढ्नका लागि गएकीले । पहिले ज्वाईँ नवराज सापकोटा जलवायु विषयमा स्नातकोत्तर अध्ययनार्थ ओस्लो जानु भयो अनि छोरी पनि अध्ययनार्थ नै गएकी हो । सुरुमा आश्रितको रुपमा पछि विद्यार्थीको रुपमा । कहिले श्रीमती आश्रित त कहिले श्रीमान आश्रित । त्यस्तै चक्र चलेको पाइन्छ जोडीहरुमा । अनि काम नगरे आफू र सन्तानको सेवा सुश्रूषा गर्न पनि नसकिने त्यहाँको अवस्था । पढ्न त निःशुल्क हो । तर बस्न खानका लागि खर्च त चाहियो । अनि नर्वे श्रमिकमैत्री ठाउँ रहेछ । काम पनि पाइने । समान ज्याला । काम सुरु गरेपछि स्वतः स्थायी जस्तै । कामको ज्याला या पारिश्रमिक बैंकको खातामा नै जाने ताकि करको हिसाब स्वतः बैंकले गर्ने रहेछ । अर्थात् पाउने पारिश्रमिकमा लाग्ने कर र भोलिका लागि सुविधाजन्य बिमाको पनि हिसाब राखेको देखिन्छ ।
सहर घुम्न पनि समय मिलाउनु पर्ने व्यस्त सहरी जीवन अनि हामी फुर्सदिला जोडी । कतै घुम्न जान पनि समय मिलाउनु पर्ने छोरी ज्वाईँसँग अनि सानी नातिनीलाई छोडेर कतै जाने पनि कुरा भएन, नातिनीलाई निश्चित बाल्यकालसम्मका लागि भत्ताको व्यवस्था गरिएको रहेछ । सामाजिक न्यायको कुरा कतिसम्म व्यावहारिक रहेछ भने शिक्षा र स्वास्थ्य त सरकारको जिम्मा नै भयो यदि अनुमतिमा बसिएको रहेछ भने । विश्व विद्यालयहरुको गुणस्तरमा कुनै सम्झौता गरिँदो रहेनछ । यदि कुनै महिला सुत्केरी भइन् भने उनले निश्चित समयसम्म अर्थात् नौ महिनासम्म तलबी विदा पाउने अनि श्रीमानका लागि ३ महिना तलबी विदा दिने । जहाँ काम गरेको भए पनि त्यो स्थायी सरह नै मानिने अर्थात् कसैले कहीँ काम पाउनु भनेको त्यो करिब करिब सम्झौता नै हो, करार नै हो, त्यसको पालना काम दिने र काम गर्ने दुवैले पालना गर्नुपर्ने हुँदोरहेछ ।
विश्व विद्यालयका विद्यार्थीहरुका लागि हप्तामा २० घण्टा काम गर्न पाउने या तोकिएको समय काम गर्न पाउने व्यवस्था रहेछ । शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क , रोजगारीको सुप्रवन्ध अनि रोजगारीबाट शर्त पालना हुन्जेलसम्म हटाउन नपाइने जस्ता सामाजिक न्यायका प्रवन्धले नर्वेको नाम सामाजिक न्यायका दृष्टिले अब्बल मानिदो रहेछ । सामान्यतया यो व्यवस्था स्विडेन, डेनमार्क, फिनल्यान्ड, हल्यान्ड, जर्मनी जस्ता देशहरुमा देखिन्छ । त्यसैले होला मेरो विद्यार्थी बुद्धि सापकोटाले मलाई भन्थे कोपेनहागेनमा भेट्दा-गुरु, कार्ल माक्र्सको कम्युनिज्म यिनै देशहरुमा कार्यान्वयनमा छ जवकि यी घोषित कम्युनिस्ट देशहरु होइनन्, प्रजातन्त्रवादी शासन प्रणाली भएका देशहरु हुन् । सत्ता चलाउने पार्टीहरु समाजवादी वा पुँजीवादी होलान्, वाममार्गी या दक्षिणपन्थी होलान् तर जनताका आधारभूत आवश्यकता पूरा गर्नका लागि, मानवीय आवश्यकता पूरा गर्नका लागि र सामाजिक न्यायको आपूर्तिका लागि ती दलहरुको सकारात्मक प्रतिस्पर्धा चलेको पाइँदो रहेछ ।
प्रसङ्ग अब युरोपका केही देशहरुको संक्षिप्त भ्रमणको
बल्ल बल्ल बुढेसकालमा पुगेको युरोप घुम्नु त पर्यो । हामी यात्रु त हुन सक्ने तर भाषा र प्रविधिका कारणले आफैँ यात्राको प्रवन्ध गर्न नसक्ने नै जस्ता भयौँ भनौँ । दुवै जनाको विदा मिलेको निश्चित समयभित्रै केही ठाउँ घुम्नु पर्ने अवस्था जो थियो । प्रविधिका कारणले जहाँको पनि टिकट अग्रीमरुपमा लिन त सकिने तर टिकट पाउने कि नपाउने भन्ने पनि प्रविधिकै सहयोग लिनु पर्ने पो रहेछ । कहाँ हामी अझै टिकट काउन्टरमा गएर टिकट किन्न लाइन बस्ने अवस्थामा, कहाँ इन्टरनेटको सञ्जालले निर्धारण गर्ने अवस्था । अनि हामी त केही पनि नजान्ने जस्ता हुने पो रहेछौँ । त्यहाँ बस्नेहरु त्यही व्यवस्थामा बानी परेकाहरु मोबाइलबाट सबै काम सम्पन्न गर्न अभ्यस्त भइसकेका रहेछन् । त्यहाँको जीवन विज्ञान प्रविधिसँग यसरी एकाकार भएको देखियो कि यदि एकघण्टा मात्रै पनि विना जानकारी विना तयारी बिजुली जाने हो भने सबै काम ठप्प हुने रहेछ । अनि मैले कल्पना गरेँ -हामी १८ घण्टा लोडसेडिङ हटेको केही समय भएको बेलातिर युरोप गएका थियौँ, यदि दिनको १८ घण्टा अनि कुनै जानकारी नै नदिई विद्युत प्रवाह बन्द गर्ने भएको भए युरोपको त्यो प्रविधिप्रतिको निर्भरताको के हाल हुन्थ्यो होला ?
वास्तवमा जीवन नै यात्रा हो, जीवनका प्रत्येक पल नै , हरेक पल नै अनुभवका लागि हुन् । कुनै अनुभवले खुसी दिएको जस्तो लाग्छ त कुनै अनुभवले दुःख भएको जस्तो लाग्छ । वास्तवमा जीवन भनेको नै सबै चिजको समाहित स्वरुप रहेछ । हामी अर्थात् म, मेरी श्रीमती देवकी, छोरी अर्चना, ज्वाईँ नवराज सापकोटा तथा आजभन्दा डेढ वर्ष अघि २ वर्षकी नातिनी अदिति सापकोटा सहित ५ जना अनलाइन टिकट किनेर जर्मनीको राजधानी बर्लिन र चेक गणराज्यको राजधानी प्रागका लागि जुलाई २५, २०२० अर्थात् २०७६साल साउनको ९ गते ओस्लोबाट बर्लिनतर्फ लाग्यौँ ।
त्यो बेलादेखि नै हिटलरको चरम यातना सहेका जर्मनहरुले उसैको गलत परिणामस्वरुपको दोस्रो विश्वयुद्धको दुःखद सपनालाई कडा परिश्रम गरेर र विकास गरेर पश्चिम जर्मनी विकसित देशको रुपमा रह्यो तर सोभियत संघको छातामा गएको जर्मनीको मुटु काटेर बनाएको पूर्वी जर्मनी अविकसित र भोका नाङ्गाको देश भयो । पर्खाल भत्काएर बहादुर जर्मनहरुले आफ्नो देश फेरि एकीकरण गरे र अहिले एउटै देशको रुपमा विकसित भइरहेको छ ।
ओस्लोमा सार्वजनिक यातायातको राम्रो व्यवस्था भए पनि विहानै ७ बजे जस्तो बेलाको प्लेन हुनाले र अन्ताराष्ट्रिय हवाइ मैदान टाढै हुनाले चाँडै निस्कियौँ र द्रूतमार्गको रेलमार्फत् बेलैमा पुग्यौँ । अनि सामानको सुरक्षा जाँच गर्न लाग्दा सानी नातिनी कुनबेला कुनबेला हामीलाई छोडेर सुरक्षा घेराभन्दा भित्र पुगेकी रहिछन् । हामीले त्यो बेलामात्र थाहा पायौँ जब हामी उनका पानीका बोतल र खानेकुराहरुको विवरण अध्यागमन प्रहरीलाई भन्दैथियौँ । नातिनी त छैन, कता गई गई । तर अलिपर कतै जाँदै थिई र हामीले त्यहीँको प्रहरीलाई अनुरोध गरेर फिर्ता ल्यायौँ । कस्तो अप्ठेरो भने न त हामी सुरक्षा रेखा पार गरेर भित्र जानै सक्थ्यौँ सुरक्षा जाँच विना, न त बच्ची नै अरुसँग मान्नेवाली थिई । तर सुरक्षाकर्मी बहिनीले बोकेर ल्याइदिइन् । सुरक्षा चेक गरेर भित्र पसेपछि बल्ल डर लाग्यो यदि बच्ची भीडमा प्रवेश गरेर हराइकी भए ? त्यस्तोबेलामा के हुन्छ भने कसले गर्दा बच्चीको वास्ता भएन ? हामी सबैले भन्यौँ , चकचके नानीलाई सबैले ध्यान दिनु पथ्र्यो तर दिइएन , नानी भेटिई , तत्कालै देखियो र खासै केही सेकेन्डमै भेटियो ।
अब हामी सतर्क भयौँ बच्ची कतै पनि कुनै पनि बेला फुत्त कतै जान सक्ने अवस्था छ । हामी बर्लिन झरेपछि जानु थियो बिज्सिवेगसम्म जहाँ हाम्रा वैज्ञानिक दम्पति हिमेन्द्र झा र रानी झा बस्थे । बर्लिन ठूलो सहर रहेछ । हवाइ मैदानदेखि स्पान्दाउसम्मको लामो सहरी रेल मार्ग सतहमा रहेछ । भूमिगत रेलमार्गलाई त्यहाँ यु बाहन भन्दा रहेछन् र सतहमा रहेको रेलमार्गलाई एस बाहन भन्दा रहेछन् । त्यसो त रेल, बस सबैलाई नै बाहन नै भन्दा रहेछन् । स्पान्दाउसम्म रेलको हवाइ मैदानदेखिको अन्तिम स्टेसन रहेछ । एकजनाको करिब ४ युरो लाग्दो रहेछ । ओस्लोमा कम्तीमा एक घन्टे टिकट हुन्छ भने बर्लिनमा कम्तीमा दुई घन्टे टिकट हुँदोरहेछ । हामी त्यही स्पान्दाउसम्मको टिकटमा नै विज्सिवेगसम्म पुग्यौँ । करिब डेढ घन्टासम्मको रेल यात्रा र २२ मिनेटको बस यात्रा गर्दै ।
हामी ५ जना भएकाले एउटा ट्याक्सीमा बस्न मिल्दैन रहेछ । एउटा सामान्य ट्याक्सीमा जम्मा ५ जनामात्र बस्न पाउने जसमा ड्राइभर पनि हुन्छ । अनि ४ वर्षसम्मको बच्चाका लागि बेबी सिट अनिवार्य चाहिन्छ । अर्थात् पछिल्तिर ३ जना, अनि ड्राइभरसमेत अघिल्तिर दुई जना । एकजना अर्कोको लागि बेग्लै ट्याक्सी अनिवार्य चाहिने । यो कुरा हाम्रालागि कहिले समस्यामूलक भयो भने २८ जुलाईमा जब हामी प्राग जानका लागि बर्लिनको सेन्ट्रल स्टेसन जानु पर्ने बेला भयो , आइतबारको दिन थियो, विहानै रेल र बस कुनै पनि समयमा चल्नेवाला थिएनन् अनि हाम्रो विहानैको ७ बजेर ३० मिनेटको रेल लिपजिगसम्मका लागि समात्नु थियो । ट्याक्सी ठिक ६ बजेर ३५ मिनेटमा आयो तर अर्को ट्याक्सी पनि वरिपरि थिएन अनि उसले ५जनालाई कुनै पनि हालतमा लान मानेन । हामीले भन्यौँ हाम्रो रेल छुट्छ, अनलाइन टिकट हो, समय सर्दा पनि सर्दैन । ड्राइभरले भन्यो , यो तपाईँहरुको समस्या हो । उसले मानेन र अर्को ट्याक्सी मगाएर जाँदा रेल छुट्दै थियो ।
त्यहीबेलामा रानी झाले छिमेकी भारतीय बन्धु विवेक श्रीवास्तवसँग अनुरोध गर्नुभयो हामीलाई जसरी हुन्छ रेल्वे स्टेसनसम्म समयमा पुर्याइदिनका लागि । कुरो फेरि त्यही ५ जना, बेबी सिट अनि एकजना के गर्ने ? उहाँले एउटा खतरा मोल्नुभयो , बाटामा अर्को ट्याक्सी नभेटेसम्म सबैजनालाई उहाँले नै लिएर जाने, अनि जहाँ ट्याक्सी भेटिन्छ, त्यहाँ बच्चालाई बेबीसिटमा राखेर पठाउने । तर एउटा धर्म निभाउने कुरा के रहेछ भने प्रत्येक ट्याक्सीसँग बेबीसिट हुने नै रहेछ । विना बेबी सिट बच्चालाई चढाउन पाइँदैन , चढाएमा दण्डको कुराभन्दा पनि त्यो ट्याक्सीको अनुमति नै रद्द हुने रहेछ ।
श्रीवास्तवजीले त्यो खतरासँग यसकारणले जुध्ने साहस गर्नुभएको थियो कि आइतवार सामान्यतया विहान ९बजेसम्म कुनै चेक पनि नहुने रहेछ किनभने सडकमा गाडी नै नदेखिने रहेछन् । सार्वजनिक यातायात पनि आइतवार कम चल्ने , ढिलो चल्ने र चाँडै बन्द हुने रहेछन् । करिब एक किलोमिटर टाढा हामीले ट्याक्सी पायौँ र ज्वार्इँ र छोरी ट्याक्सीमा र हामी श्रीवास्तवजीकै कारमा रेल्वे स्टेसन पुग्यौँ । त्यो दिनको समय हाम्रा लागि एकाविहानै देखि किन किन अप्ठेरो जस्तो भयो । सडकको रातो ट्राफिक बत्ती पनि धेरै बेर बलेको जस्तो लाग्ने, अब रेल छुट्यो, छुट्यो जस्तो भयो । हामी होपबाहन हफ रेल्वे स्टेसनको २ नंबर प्लेटफर्ममा पनि पुग्नु अनि त्यो आइ सी रेल पनि आइपुग्नु । कस्तो ठीक समय भयो भने , यदि एकमिनेट मात्र पनि ढिलो भएको भए त्यो लिपजिगसम्मको द्रूत वाहन रेल छुट्ने रहेछ ।
लिपजिगबाट बसमा चेक गणतन्त्रको राजधानी प्राग जाने टिकट थियो । युरोपियन युनियनका देशहरुमा घुम्न एउटा देशको भिसा भएपछि हुने रहेछ । हामीलाई जर्मनी जान र प्राग जानका लागि बेग्लै भिसाको आवश्यकता परेन किनभने हाम्रो प्रवेश देश नर्वे थियो र नर्वेका लागि हाम्रो तीन महिनाको भिसा छँदै थियो ।
लिपजिगबाट त्यही डच बाहनको रेल्वेको सहयोगी बसमा जानका लागि हामी बस पार्कमा पुग्यौँ । ९बजेर २६मिनेटको बस थियो, आरामसँग बस टर्मिनलमा बसेर बसको प्रतीक्षामा थियौँ , बस आयो तर हामीलाई बेबी सिट नभएकाले लान नसक्ने अड्डी लियो । बच्चाबाहेक आफ्नो सिटमा बस्न भन्यो । ऊसँग बेबी सिट पनि थिएन र विना बेबीसिट नलाने भने पछि हामीले अनुरोध गर्यौँ , अब हामीले के गर्ने त ? उसले त्यो तपाईँहरुको समस्या हो भन्दै बस गुडायो उसको गन्तव्यमा । उसको भनाइ के थियो भने किन्डरका लागि या ४ वर्षभन्दा मुनिको बच्चाका लागि बेबी सिट आवश्यक छ जुन हामीसँग पनि लिएर गएका थिएनौँ र बसमा पनि रहेनछ । अनि त्यो चेक ड्राइभर गयो हामीलाई त्यहीँ छोडेर, हाम्रा सिटहरु खाली नै राखेर ।
नेपाली विद्यार्थीहरु पनि थिए तिनले पनि अनुरोध गरे, तर उसले मानेन । त्यो ड्राइभर टसमस भएन, उसले हामीलाई छोडेर जान न त कुनै अप्ठेरो मान्यो , न त कुनै पछताउ । हाम्रै आँखा अगाडि हाम्रा सिटहरु खालि राख्दै आइ सी बस प्रागतर्फ गयो हामीलाई जर्मनीको लिपजिगमा छोडेर । नियमको कडाइ मान्ने कि अमानवीयताको पराकाष्ठा मान्ने ? ज्वाईँले टिकटमा बेबी सिटको कुरा नलेखेको भनेर भन्दा पनि ड्राइभरले बसको नियम देखायो, ४ वर्षसम्मको बच्चालाई बेबीसिट आवश्यक छ , नत्र विना बेबीसिट चलाए ड्राइभरको अनुमतिसमेत रद्द हुने कुरा बारम्वार देखायो । हामीले सामान राख्न खोज्दा नै उसले सोधेको थियो बच्चा कतिको हो ? हामीले झुठो कुरो भन्नु थिएन , भन्यौँ २ वर्ष ।
अनि उसले कुनै पनि हालतमा मानेन । हामी छक्क पर्यौँ , अलमल्ल पर्यौँ । गन्तव्य प्राग अब के हुने ? रेलबाट झरिसकेका थियौँ , प्रागमा होटेल बुक थियो ३ दिनलाई , साथमा बच्चा छ अनि बर्लिन फर्कन पनि अर्को टिकट आवश्यक हुन्छ किनभने हामीले प्रागबाट फर्कने टिकट त ३० जुलाईको छ , ३१ बर्लिनबाट ओस्लो फर्कन प्लेनको ।
ज्वाईँ जानु भयो डच बाहनको अफिसमा । अनि सबै समस्या सुनाउनु भएछ । डच बाहन संसारमा नै समयको वारेमा सच्चा यातायात संस्था र यात्रुको कुनै पनि समस्या सुन्ने संस्था मानिदो रहेछ । डच बाहनले हामीलाई त्यही दिनको ड्रेस्डनसम्मको यात्रा र ड्रेस्डनबाट बसमा प्रागसम्मको व्यवस्था गरेर लेखेर दियो सबै समस्यासमेतमो कागज जर्मन भाषामा । हामी ११बजेर ३८ मिनेटको रेलमा जाने भनेको टिकट कन्ट्रोलरले पहिले पनि जान सक्ने भनेर हामीलाई रेलमा बोलायो र हामी करिब १२ बजे नै ड्रेस्डन पुग्ने द्रूत वाहनमा चढ्यौँ प्राग जाने क्रममा । प्राग जानका लागि सीमासम्म बसको व्यवस्था गरिएको रहेछ रेलको सट्टा भनेर । हामी १ बजेको बसमा प्राग तर्फ लाग्यौँ , त्यहाँ कुनै बेबीसिट चाहिएन, त्यो पनि डच बाहनकै बस थियो, उही कम्पनीको । वास्तवमा बसका लागि आवश्यक थिएन र ड्राइभरले त्यो अडान लिएकाले सायद हामीलाई बाहन कम्पनीले हाम्रालागि त्यो व्यवस्था गरेको होला । ड्रेस्डनमा त रेल्वेका कर्मचारीहरुले हामीलाई बसमा चढाएरमात्र विदाइ गरेका थिए ।
हामीलाई चेकको उस्तीसम्म पुर्याएर बसले छोड्यो र ड्राइभरले भन्यो-अब १० मिनेटमा नचढे अर्को एक घन्टापछि मात्र रेल आउँछ । उस्तीबाट प्रत्येक एक एक घन्टामा प्रागको केन्द्रीय रेल्वे स्टेसनमा रेल जाने रहेछ । हामीलाई डच बाहनले उस्तीको रेल्वेको समेत व्यवस्था गरेको थियो । तर उस्तीको रेलले हामीलाई छुट दिएन, मात्र उसले त्यही मूल्यमा टिकट दियो प्रत्येक व्यक्तिको ६.५ युरो बराबरको । हामीले डच बाहनले दिएको कागज देखायौँ, टिटीले मानेन तर भन्यो-त्यो बसको टिकट मिलाएको कागज हो ।
हामी चेक रिपब्लिकन हौँ, यो कागज दिने जर्मन कम्पनी हो । उसको त्यो भनाइमा कता कता अभिमान थियो, कता कता उसको नमिलाउने दम्भ थियो । वास्तवमा त्यो कागजमा प्रागसम्मको स्पष्ट त्यही रेलको वारेमा समेत लेखिएको थियो । हामीलाई प्राग पुग्ने कुराले खुसी तुल्याएको थियो । नदीको तिरैतिर तिरैतिर करिब ५० मिनेटमा पुर्यायो प्रागको केन्द्रीय रेल्वे स्टेसन ।
हामीले बुक गरेको पेनुसन प्राग होटेल कता हो भन्ने कुराको लागि सोध्दा थाहा छैन भन्छन् पुलिसहरु पनि । ट्याक्सीहरु पनि । फोनमा चार्ज सकिन लागेको छ नक्शा देखाउन पनि । स्टेसनको अर्कोभागपट्टि भनेर देखाउँछ स्टेसनको अर्को भागतिर जाने बाटै छैन कतै पनि । करिब एक घन्टासम्म हामी भौँतारियौँ स्टेसनमा नै । ठूलो स्टेसन रहेछ । युरोपका सबै सहरमा रेल्वेको जालो फिँजाएको प्राग स्टेसन । पुरानो सहर युरोपकै । कुनैबेला युरोप नै आफ्नो कब्जामा राखेर शासन गरेको प्राग पछि सोभियत संघको कब्जामा परेको थियो र १९८९मा मात्र स्वतन्त्र भएर पनि चेक र स्लोभाक गणराज्यको रुपमा बाँडिएको थियो । भूपरिवेष्टित देश चेकको राजधानी प्रागमा पनि सार्वजनिक यातायातको साह्रै राम्रो व्यवस्था रहेछ खासगरी सहरमा ट्रिक अर्थात् ट्रली बस। प्रत्येक स्टेसनमा वाइफाइ फ्रि रहेछ जुन जर्मनीमा र नर्वेमा अझै सम्भव हुन सकेको रहेनछ ।
अनि हामीले केहीमात्र चार्ज बाँकी रहेको फोनलाई प्रयोग गर्दै होटेल पेन्सन प्राग सिटीसम्म पुग्यौँ र ३० तारिखको ४बजेसम्म प्राग सहर घुम्यौँ । त्यसपछि त ४बजेर ३२ मिनेटको इसीको रेल थियो सिधै बर्लिनसम्मको । रमाइलोसँग बर्लिन आयौँ अनि भोलिपल्टको साँझको ओस्लोका प्लेनमा गान्डेमुन अन्तराष्ट्रिय विमान स्थलसम्म आइपुग्यौँ र रातको १२बजेतिर लाक्केगाताको राथ्खेसगाता आइपुग्यौँ ३१ तारिखको अन्तिम मिनेटमा ।
बाहन भन्दा रहेछन् जर्मनीमा यातायातलाई । नर्वेमा पनि बान भन्दारहेछन् खासगरी मेट्रोलाई थि—बान वा टी—बान । बान पक्कै जर्मनी बाहनको बान भएको हुनुपर्छ जस्तो लाग्यो किनभने सँस्कृतमा वाहन भनेको परिवहनको साधन हो ।
युरोपको भ्रमणका लागि ओस्लोबाट जानु थियो, गइयो जर्मनीको बर्लिन । बर्लिनका वारेमा नेपालमा पनि थाहा भएकै कुरा हो , पहिले बर्लिनमा पर्खाल लगाइएको थियो जर्मनीको विभाजन गर्नका लागि । त्यसबेला जर्मनी पश्चिम र पूर्वी भयो । यो घटना दोस्रो विश्वयुद्धपछिका हो । पश्चिम जर्मनी प्रजातान्त्रिक देशको रुपमा रह्यो र पूर्वी जर्मनी कम्युनिस्ट देशको रुपमा रह्यो । पश्चिम जर्मनी अमेरिकी खेमामा रह्यो भने पूर्व जर्मनी सोभियत संघको धारमा रह्यो । त्यही बेलातिर नै १९६१मा जर्मनीकै व्यवस्थापिका बुन्डेस्टागकै सीमामा पर्खाल लगाएको रहेछ । बर्लिनलाई पूर्वी बर्लिनले घेरेको रहेछ, भनौ पर्खालले घेरेको रहेछ । पछि १९८९मा पूर्वी जर्मनीका कम्युनिस्ट विरोधी जनताले पर्खाल भत्काए । दोस्रो विश्वयुद्धको घाउलाई जर्मन जनताले पर्खाल भत्काएर मलम लगाए । त्यो बेलादेखि नै हिटलरको चरम यातना सहेका जर्मनहरुले उसैको गलत परिणामस्वरुपको दोस्रो विश्वयुद्धको दुःखद सपनालाई कडा परिश्रम गरेर र विकास गरेर पश्चिम जर्मनी विकसित देशको रुपमा रह्यो तर सोभियत संघको छातामा गएको जर्मनीको मुटु काटेर बनाएको पूर्वी जर्मनी अविकसित र भोका नाङ्गाको देश भयो । पर्खाल भत्काएर बहादुर जर्मनहरुले आफ्नो देश फेरि एकीकरण गरे र अहिले एउटै देशको रुपमा विकसित भइरहेको छ ।
आधुनिकीकरणको सकारात्मक रुपको चरम प्रयोग छ चौतर्फीरुपमा । झन हिटलरको राष्ट्रवादी नाराभित्र लुकेको तानासाही चरमरुपमाले एकै पटक धेरै शत्रुहरुको सामना गर्दा ध्वस्त पारेको जर्मनीका मानिसहरु हिटलरलाई सम्झन पनि चाहँदैनन् । कसैले सार्वजनिक स्थानमा हिटलरको नाम लियो भने पनि त्यसलाई प्रहरीले समाएर फौजदारी मुद्दा लगाउँछ जुन मुद्दाको विपक्षमा कुनै पनि वकिलले वकालतनामा समेत भर्दैनन् । एउटा उदाहरणको रुपमा सुनियो-एकजना ठूला व्यापारीका रुपमा सम्मानित भारतीय महाशयले तिहारको लक्ष्मी पूजाका दिन आफ्नो निजी घरको आँगनमा षट्कोण बनाएर पूजा गरेछन् या लक्ष्मी घरभित्र जाने बाटोको रुपमा षट्कोण बनाएछन् जुन बाहिरबाट देखिन्थ्यो । कसैले खबर गर्यो या पुलिसले देख्यो, थाहा छैन । उनलाई मुद्दा चल्यो, दण्डित हुनुपर्यो । अर्थात् मुलुकको हितमा काम नगर्ने कुनै पनि शासकका वारेमा यो तर्कपूर्ण अपमानको अर्थ छ र झन तानासाहहरुको पक्षमा बोल्नेहरुलाई दिइने छुटले मुलुक फेरि कुन अवस्थामा पुग्ला भनेर जर्मनहरु सचेत छन् र त सार्वजनिकरुपमा हिटलरको पक्षमा भाषण गर्नु त कता हो कता, नाम लिन पनि नपाइने कानुन छ ।
मुलुकलाई सचेत र दूरदृष्टि भएका शासकहरु फ्रेडरिक एबर्ट , बिली ब्रान्ट जस्ता शासकहरुले शासन गर्दा समाजवादी प्रजातन्त्रलाई यसरी दरिलोरुपमा खडा गरे कि जो सत्तामा आए पनि सामाजिक न्यायमुखी शासन प्रणालीलाई कसैले पनि पन्छाउन सक्दैन । अहिले आफूलाई पुरातनपन्थी मान्ने एन्जिला मर्केलको शासन छ र पनि ती सामाजिक सुरक्षाको व्यवस्थालाई पन्छाउन सक्ने अवस्था छैन किनभने जनताका हितमा राज्य चलाउने सिद्धान्तलाई दल विशेषको भन्दा राज्यको प्रणालीको रुपमा व्यवस्थित गरिएको पाइयो । अनि जर्मन जनतामा राजनीतिज्ञहरुप्रति जो आए पनि सत्तामा विश्वासको वातावरण देखियो । झन युरोपमै जर्मनी यस्तो देश रहेछ जहाँ जसले पनि आफू शरणार्थीको रुपमा त्यो देशमा बस्न पाउने हक माग्न पाउँदा रहेछन् । त्यसैले अन्य युरोपीय देशमा भन्दा जर्मनीमा विभिन्न देशका शरणार्थीहरुको ओइरो लाग्दो रहेछ । कतिसम्म पनि कसैले त आफ्नो पासपोर्ट च्यातेर म यो देशमा शरणार्थी हुन पाउँ भनेर निवेदन दिने बित्तिकै उसले तत्कालै शरणार्थीको सुविधा पाउने रहेछ । सायद दोस्रो विश्वयुद्धको घाउ अझै जर्मनीमा चहराएको जस्तो छ र कुनै पनि देशमा बस्न नसकेको नागरिकप्रति सहभाव राखिँदो रहेछ । क्रमशः