'स्वप्निल समाधि'

'स्वप्निल समाधि'

पुरुषोत्तम ढकाल  |  साहित्य  |  चैत १४, २०७७

उठेको थियो, एउटा उल्लासको आँधी 
मेरो मनको कुनामा, जागेको थियो लहर 
उन्माद थिएन त्यो, उन्मुक्त, मनमौजी सपना 
म भित्रको मेरो म, जागेको त्यो क्षण 
सलबलाउथ्यो, उमठ्थ्यो, रुझाउन तिमीलाई 
सिम, सिम झरीमा, दौडाउन, सप्तरंगी वसन्त ऋतुमा  
भिज्ने र भिजाउने त्यो स्वप्निल शिलशिला 
टुट्यो पनि भन्दिन, छुट्यो पनि भन्दिन
आखिर यो जिन्दगि, जहिले, जहाँबाट, सुरुगरेपनि अबेर नहुने ।

के सोच्यौ कुन्नि, जान्दिन म 
उठाएर एउटा पत्थर शान्त मेरो मनमा 
प्रहारले दुख्यो तर रुन्न भन्दिन म 
तिरस्कार तिमीलाई, कल्पनै नगर्नु 
बिर्शन कोशिश गरे, त्यति झुठ पनि बोल्दिन 
घाइते थिए तर सम्हालिए, रोकिएकोछु तिम्रै नाउमा 
र खुम्चिएको छ खुसी, मेरो, म भित्र अचेल ।

समयको सुई, कुदेको कुदयै छ 
आफ्नै रागमा, आफ्नै धुनमा 
जसरी तिमि नाची रहनछ्यौ संगीतको तालमा 
गुमनाम मेरो म, सुनसान समातेर राख्छु, मेरो मग्न-मस्त सपना 
कठै१ सपनी, सुटुक्क नियाल्छ तिमीलाई, दुर गगनबाट 
अज्ञांत, अन्जान, बबुरो, सपनाको देशमा 
पाइलो मनले डोर्याएको बाटो लम्किन्छ 
दोष मेरो होकी, तिम्रो हो, बाँध भत्काउछु भन्छ 
मेरो मनभित्रको सागरलाई छेक्ने पर्खाल नाघेर 
बाहिरिन्छ ज्वारभाटा, तिम्रो पाउजुको आवाजमा, कम्मरको ठुम्कामा ।

बग्छु, कहिले काहीं निस्फिक्री म 
त्रिशुली र सुनकोशी किनारा 
किनाराको छाल हेर्दै टोलाउने तिमि 
पुकार्छु भन्छ्यौ, मातिएको मेरो मनमौजी सपना 
दुई हात र पाउ चोपलेर ब्युझने तिम्रो रहर 
मौनातामा बगिरहेको अविरल सुनकोशीमा ।

कहिले काहीं, आज भोलिपनि 
पत्थर फ्याकेर तलाउमा फैलने तरंग 
प्रिय लाग्छ तिमीलाई, पानीको हलचल 
तर मग्न, मस्त त्यो सपनामा, पुग्न बाँकीनैछ प्रियतमा 
सायद, खुम्चिएर हामि, फ़ुट्नुछ भूलका र भंगालो 
सोधेर आफैलाई, तिमि बिनाको तिमि, अलग्गै अस्तित्व 
यस्तोपनि हुन सक्छ, म भित्रको म, तिमि भित्रको तिमि 
तिम्रो मनले सोध्यो होला, को हौ तिमि, कहाँ छ्यौ तिमि 
सवाल पछिको जवाफ सुनकोशी बगेजस्तै बग्यौ 
पत्तै भएन, हरायौ भन्दिन, मेरो मनमौजी सपनामा 
बन्यो समाधि, हामि भित्रको हाम्रो, गहिरो, गहिरो, सागर भित्र ।।
 
 

२६ मार्च, २०२१ 
लस-एन्जलस, संयुक्तराज्य अमेरिका ।