बसन्त कुमार उपाध्याय | दृष्टिकोण | बैशाख ०९, २०७६
पृथ्वी:
अनुमानित जनसंख्या: ७.६ बिलियन (सन् २०१८ सम्म )
अनुमानित आयु : ४.५ बिलियन वर्ष
मिन रेडियस : ६३७१.० किमि
तापक्रम सतह : माइनस ८९.२ डिग्री सेल्सियसदेखि ५६.७० डिग्री सेल्सियससम्म ।
परिधि : ४००७५.०१७ किमि
उपग्रह :चन्द्रमा ।
प्लेटहरू : प्यासिफिक प्लेट, अफ्रिकन प्लेट, उत्तरी अमेरिकन प्लेट, युरासियन प्लेट, एटलान्टिक प्लेट, इण्डो अस्ट्रेलियन प्लेट र दक्षिणी अमेरिकन प्लेट । तहगत रूपमा शून्यदेखि ३५ किलोमिटरसम्म क्रष्ट ० देखि ६० किलोमिटरसम्म लिथोस्पेयर, ३५ देखि ६० किलोमिटरसम्म अपर मेन्टल, १०० देखि ७०० सम्म एस्थेनोस्पेयर्स, ३५ देखि २८९० किलोमिटरसम्म मेनटल, २८९० देखी ५१०० सम्म आउटर कोर र ५१०० देखि ६३७८ किलोमिटरसम्म इनरकोर रहेको मान्यता छ ।
प्रायःजसो राष्ट्रले पृथ्वीको संरक्षणका लागि कार्यक्रम गरिरहेका छन् । तर, कार्यक्रमको प्रभावकारिता देखिँदैन । यसले पृथ्वी जोगाउन विश्वभरका राष्ट्रहरू प्रभावकारी रूपमा सक्रियता नदेखाएको स्पष्ट हुन्छ । त्यसकारण अब हरेक राष्ट्रले पृथ्वीको संरक्षणका लागि जिम्मेवार भएर लाग्नुपर्ने देखिन्छ ।
अब प्रसंग टप फाइभको :
नर्वे, पोर्चुगल, उरुग्वे, केन्या र न्युजिल्याण्डले हरियाली प्रवद्र्धन गर्दै जलवायु परिवर्तनबाट पृथ्वीमा हुन सक्ने हानीबाट बचाउन पछिल्ला केही दशक महत्वपूर्ण भुमिका निर्वाह गरे । संयुक्त राष्ट्रसंघले सन् २०१८ अक्टुवरमा जारी गरेको एक प्रतिवेदनले यी देशलाई जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील हुने ‘उत्कृष्ट ५ राष्ट्र’को सूचीमा राखेको छ ।
पर्यावरण, जलवायु, मानव जीवन र सन्धि सम्झौता:
मानिस यतिबेला जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी अझैं अर्को विषय उल्का पिण्डसँग पृथ्वी ठोकिन सक्ने विषयमा अध्ययन केन्द्रित गरिरहेका छन् ।
प्रत्येक वर्ष पृथ्वीमा रहेका जातिमध्ये झण्डै ५० हजार जाति लोप हुन्छन्, करिव १ करोड ७० लाख हेक्टर जंगल विनाश हुन्छ र ६५ लाख टन फोहोर समुद्रमा पुग्छ । यस्तै, ८.२ विलियन टन कार्वनडाइअक्साइडले पृथ्वीलाई दूषित बनाउने गरेको छ । त्यसैगरी अनुमानित १० करोड जनसंख्या हरेक वर्ष थपिन्छन् पृथ्वीमा ।
जलवायु परिवर्तनका विषयमा अहिले संसारभरी बहस र छलफल भइरहेका छन् । तर, जलवायु परिवर्तनका कारणलाई रोक्न मानिस लगभग असक्षमजस्तै देखिएको छ । भएको छ त, केही हदसम्म न्यूनीकरणको प्रयास ।
पृथ्वीको सानो भूभागको अवस्थितिलाई मौसम भनेर हामी बुझ्छौं भने ठूलो भूभाग वा पृथ्वीकै कुरा गर्नुपर्दा लामो अवधिका लागि जलवायु भन्ने भिन्नता छ । अझ पर्यावरण शब्दको प्रयोग पनि हुन्छ । पर्यावरणले भौतिक, रासायनिक र जैविक अवस्थालाई जनाउँछ । शाब्दिक अर्थमा जाने हो भने यसमा केही भिन्नता छन् । तर, जब कुरा पृथ्वीको आउँछ, यी सबै घुलित हुन्छन् । निष्कर्षमा मानव जीवनमा यसले प्रभाव पार्छ ।
पर्यावरणको विषयमा संयुक्त राष्ट्रसंघको मानवीय पर्यावरणसम्बन्धी ५ देखि १६ जुनसम्म सन् १९७० स्कटहोममा भएको सम्मेलनले महत्वपूर्ण भुमिका खेलेको थियो । त्यसयता संयुक्त राष्ट्र संघअन्तर्गत पर्यावरणसम्बन्धी थुप्रै नीति नियम पनि बनेका छन् । तीमध्ये सन् १९८२ को नैरोबी घोषणापत्र पनि एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।
मिथेन, क्लोरोफ्लोरो कार्वन, कार्वनडाइअक्साइड लगायतका ग्यासले पृथ्वीको तापक्रम दिनानुदिन वृद्धि भइरहेको छ .
ग्लोबल वार्मिङ समस्यालाई मध्यनजर गर्दै सन् २००५ फेबु्रअरी १६ मा १ सय ४१ देशबीच एउटा सहमति बन्यो, जसलाई क्योटो समझौताका नामले चिनिन्छ । करिव ५३ ठूला औद्योगिक राष्ट्रले क्योटो समझौतालाई अनुमोदन गरे । उक्त सम्झौताले प्रदूषण नियन्त्रण गर्न भूमिका खेल्छ । तर, अस्ट्रेलिया र अमेरिकाले यो सम्झौतालाई आत्मसाथ गरेका छैनन् । स्मरण रहोस्, विश्वभरीको प्रदूषणमध्ये एक चौथाइभन्दा बढीका लागी यी दुई देश जिम्मेवार छन् ।
पर्यावरण संरक्षण गर्न सके नै मानव समाजको कल्याण हुन सक्ने देखिन्छ । क्योटो प्रोटोकलको मूल मर्म नै यही हो ।
सन् १९९७ डिसेम्बर १–११ मा करिब १ सय ५० देशका प्रतिनिधिले १९९० लाई आधार मानेर हरित गृह ग्यास बिर्सजनका लागि युरोपिय संघले ८ प्रतिशत, अमेरिकाले ७ प्रतिशत र जापानले ६ प्रतिशत कटौती गर्ने
सहमति जनाएका थिए । तर, अमेरिकाले सन् २००१ मा आएर क्योटो प्रोटोकलबाट आफूलाई अलग्यायो ।
पृथ्वीमा अहिलेको चिन्तन मानिसले विज्ञान, धर्म र पौराणिक विषय समिश्रणका विभिन्न स्वाद लिइरहेका छन् ।
चाल्र्स डार्विनको जिव समय अनुसार क्रमशः परिवर्तन हुँदै जान्छन् भन्ने चिन्तनलाई आधार मानेर चलिरहेको छ । अथवा मानिसको गतिविधि चलिरहेको छ भन्न सकिन्छ होला ।
मानव जिवनको चिन्तन गर्ने मध्येका एक दार्शनिक डेविड एडम्सले यो शताब्दीको अन्त्यसम्म मानवको अस्तित्व नै रहन्छ की रहँदैन भन्ने विषयमा गरिरहेको शोध अनुसन्धानले हामी पृथ्वीमा बस्ने मानिसलाई उद्देलित गर्छ । एडम्सले गरिरहेको खोज र अध्ययनका विषयले बेलाबखत सञ्चारमाध्यममा तरंग पनि पैदा गर्छन् ।
विज्ञानले बीसौं शताब्दीसम्म मानिस निकै सुरक्षित रहेको तर्क गथ्र्यो । तर, ८० को दशकपछि उल्का पीण्डको वर्षा निरन्तर भइरहेका सूचनाले विज्ञानलाई झस्काइ मात्रै दिएन, चुनौती पनि थप्यो ।
परमाणु युद्धले पूरै पृथ्वी समाप्त नहुने केही वैज्ञानिकको तर्क रहँदारहँदै पनि त्यसको प्रभावले मानव जीवन संकटमा पर्न सक्छ भन्ने आँकलन पनि छन् ।
Future of Life Institute का खोजकर्ताले मानव जीवनमा संकट र भविष्यमा आइपर्ने खतरातर्फ विश्व जगतलाई धेरै पटक सतर्क पनि गराइसकेका छन् ।
अब सवाल उठ्छ– मानवलाई कसरी सुरक्षित राख्न सकिन्छ ? त्यसका लागि पृथ्वीलाई सुरक्षित राख्नुपर्छ । बढ्दो जनसंख्या, कार्वन उत्सर्जन, रासायनिक पदार्थको बढ्दो प्रयोग, ग्लोबल वार्मिङ लगायतका कारणले पृथ्वी दिनप्रतिदिन असुरक्षित बनिरहेको छ ।
एउटा विशिष्ट अवस्थामा पृथ्वी भूमध्य रेखाको ठिक माथि पर्न जान्छ । त्यो अवधि भनेको २० मार्च र २३ सेप्टेम्बर हो । जसलाई विज्ञानले March equinox भनेर नामाकरण समेत गरीसकेको छ । उत्तरी गोलार्धमा खगोलीय मध्य वसन्त र दक्षिणी गोलार्धमा खगोलीय मध्य पतझढ नै त्यस्तो अवधि हो, जतिबेला पृथ्वी भूमध्यरेखामाथि पर्छ । त्यसको आधार सूर्यको केन्द्र नै हो । सोही अवधिलाई मानिसले सम्बात र आयनकाल भनेर बुझेका छन् । अर्थात्, कुनै खास मौसमको शुरुवात तर अर्को दुई फरक मौसमको पृथकीकरणका रूपमा स्थापित छ । यसै अवधिमा विश्व पृथ्वी दिवस पर्ने गर्छ ।
आज (अप्रिल २२) विश्वका करिव १ सय ७५ देशमा पृथ्वी दिवसको रूपमा मनाइन्छ । यसपालिको विश्व पृथ्वी दिवसको नारा Protect Species अवधारणामा आधारित मूल आशय Save our species रहेको छ । हुनत पृथ्वीभन्दा पनि मानिसको चासो अहिले अन्य ग्रह र उपग्रह, स्पेसमा छ । तर, ती सबैका विषयमा जतिसुकै चासो, उत्सुकता भए पनि जति नै अनुसन्धान अध्ययन, दाबी, प्रभाव भए पनि मानव जीवनका अगाडि पृथ्वीको विकल्पका रूपमा केही नतिजा नआउँदासम्म ती फगत हुन भन्ने लाग्छ, नितान्त व्यक्तिगत रूपमा । किनकि मेरो औसत आयु बाँच्दासम्म म पृथ्वीमा मात्रै बाँचिरहेको हुनेछु । मेरो जीवन पृथ्वीमा चलिरहेको हुनेछ । मलाई पुनर्जन्ममा विश्वास छैन । यो अवधिमा एक जना नेपालीले कुनै अर्को ग्रहमा जीवनयापन गर्न जान सक्ला भन्ने मूर्खता म गर्न सक्दिनँ र चाहन्न पनि ।
सकेसम्म हामीले पृथ्वीलाई असुरक्षित नपारौं । तर, यो हामीजस्ता गरिब देशको हातमा मात्रै छैन ।
यतिबेला Albert Schweitzer को भनाइ Man has lost the capacity of foresee and to forestall. He will end by destroying the Earth. ले मेरो मन छुन्छ ।
मानिसले जहाँको अध्ययन, खोज, अनुसन्धान गरिरहेको भए पनि आखिर अहिले बस्नु त पृथ्वीमा नै छ । अहिलेका मितिसम्म अरु कुन ठाउँ छैन, जहाँ मानव जीवनका लागि उपयोगी भएको प्रमाणित होस् ।
पृथ्वीबाहेक अन्यत्रै मानव जीवन स्थापीत गर्न भइरहेका खोज अनुसन्धानको खर्चभन्दा पृथ्वीको रक्षा गर्दै, विकासका नाममा मानिसले प्रकृतिमाथि गरेको विनासलाई रोकेको भए के ती अध्ययन अनुसन्धानको महत्व यति हुन जान्थ्यो त ?
यति लेखेपछि मलाई Richel L. Carson को एउटा कृति Silent Spring1962 को एउटा अध्याय Elixirs of Death सम्झना आयो । तर, आज त्यसको चर्चा नगरौं ।
पर्यावरण संरक्षण र बचाउको आन्दोलन सन् १९७० अप्रिल २२ मा अमेरिकाबाटै सुरु भएको थियो, जहाँ लाखौं मानिसले स्वतःस्फूर्त रूपमा स्वास्थ्य र स्थायी पर्यावरणका लागि आवाज उठाएका थिए । आयोजक थियो– युनेस्को । सोही प्लेटर्फममा जोन म्याक कोनेल -John Mc Connell_ ले सन् १९६९ मा पर्यावरण सम्मेलनमा पृथ्वी दिवसको अवधारणा ल्याएका थिए । पछि सन् १९७० मार्च २१ मा सेन फ्रान्सिसका मेयर जोसेफ अलिओटोले पनि पृथ्वी दिवस मनाउने घोषणा गरेका थिए । तर, सन् १९९२ को रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्रसंघको पृथ्वी सम्मेलनले यसलाई थप महत्वका साथ स्थापित गरायो । सन् १९७० मा नै स्थापना भएको पृथ्वी नेटवर्कले यो दिवस मनाउने कार्यक्रमको तारतम्य मिलाउँछ ।
पृथ्वीको संरक्षणका लागि ‘विश्व पर्यावरण क्षेत्र अर्थ सक्ने १९७६’, ‘पर्यावरण परीक्षण एजेन्सी १९७०’, ‘संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम १९७२’, ‘पृथ्वी रक्षा कार्यक्रम १९७२’, ‘पृथ्वी परीयोजना’, ‘पृथ्वी यात्रा’, ‘मानव तथा जीवन मण्डल कार्यक्रम १९७१’, ‘पर्यावरण तथा विकास विश्व आयोग १९८३’ लगायत कार्यक्रम सञ्चालन गरिएका छन् । प्रायःजसो राष्ट्रले पृथ्वीको संरक्षणका लागि कार्यक्रम गरिरहेका छन् । तर, कार्यक्रमको प्रभावकारिता देखिँदैन । यसले पृथ्वी जोगाउन विश्वभरका राष्ट्रहरू प्रभावकारी रूपमा सक्रियता नदेखाएको स्पष्ट हुन्छ । त्यसकारण अब हरेक राष्ट्रले पृथ्वीको संरक्षणका लागि जिम्मेवार भएर लाग्नुपर्ने देखिन्छ ।
(सन्दर्भ सामग्रीः The age of Earth in the twentieth century ; a problem mostly solved. Special publications, Geological Society of London / Age of Earth, US Geological Survey 1997._