सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाउने कार्यक्रम

सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाउने कार्यक्रम

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत १८, २०७७

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइटी ल्याब० बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ । प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ ।

तोकिएअनुसार प्रयोगशाला स्थापना भइसकेका विद्यालयलाई प्राधिकरणले तालीममा सहभागिता जनाउन आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गरी तीनदिने तालीममा सहभागिता जनाउन आग्रह गरेको हो ।

प्राधिकरणको सूचनाअनुसार एक विद्यालयका दुईजना कर्मचारी वा कम्प्युटर शिक्षक तालीममा सहभागी हुन सक्नेछन् । प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई तीनदिने तालीम प्रदान गर्ने विषयमा सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार प्राधिकरणले तीनदिने तालीम दिन लागेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालीममा सहभागिता जनाउन सूचना प्रकाशन गरिएको र सहभागीको सङ्ख्याअनुसार तालीमको समय र स्थान छनोट गरिनेछ ।  

प्राधिकरणले ९३० सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छनौटमा परेको नेपाली निर्माण व्यवसायी कम्पनी ओबिसिआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरलाई ९ओम्नी० लाई ६ महिनाको समय दिएको थियो । २०७६ साल भदौ २५ गते ६ महिनाभित्र प्रयोगशाला स्थापना गर्न भन्दै  तीन अर्ब ४७ करोड बराबरको ठेक्कामा दिइएको थियो । 

प्राधिकरणले तोकेअनुसार प्रत्येक विद्यालयको आइटी ल्याबमा करीब २४ वटा कम्प्युटर र दुई थान हार्ड डिस्क ९एक्सर्टनल०, प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्विच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टमसमेत जडान गर्नुपर्नेछ ।