डा.सोमबहादुर धिमाल | दृष्टिकोण | बैशाख ०९, २०७६
डा. सोमबहादुर धिमालले तयार पार्नुभएको ‘धिमाल लोकसाहित्यको वर्तमान अवस्था’ कार्यपत्रलाई यसअघि हामीले ‘लोकसाहित्यमा धिमाल जाति’ र ‘धिमाल जातिः संस्कृति र लोकसाहित्यको अन्तरसम्बन्ध’ भन्ने शीर्षकमा दुई आलेख प्रकाशन गरिसकेका छौं । धिमाल जातिको लोकसाहित्य संरक्षणमा चालिनु पर्ने कदम तेस्रो तथा अन्तिम खण्डका रुपमा यो आलेखका रूपमा प्रकाशन गरिएको छ ।
पहिला मौखिक परम्परामा आधारित धिमाल लोकसाहित्यलाई विस्तारै समयको परिवर्तन, जनचेतना अभिवृद्धिसँगै केही लिखित प्रयास पनि सँगसँगै हुन थालेको पाइन्छ । २०४६ सालअगाडि धिमाल मातृभाषा तथा साहित्यमा केही पनि लेखिएको भेटिएको छैन । त्यसपछिको समयमा केही फाटफुट भेटिन थालेको छ । यसै सिलसिलामा बुद्धि धिमालले ‘धिमाल भाषा ताइ भाषा ९२०४८०’, अनुभवमा आधारित यात्रा संस्मरण लेख्नुभएको छ ।
त्यस्तै श्री धिमाल जातीय विकास केन्द्र नेपालमार्फत् पूर्वमा कवि गोष्ठी सम्मेलन गरी पात्र धिमालको सम्पादनमा ‘फुरु’ कवितासंग्रह ९२०५१० प्रकाशनमा आएको छ । त्यसरी नै पात्र धिमालकै लेखनमा ‘विकासको दामाता’ निबन्ध संग्रह ९२०५२० प्रकाशन भएको छ । नगेन्द्र धिमाल र विनोद धिमालको सहकार्यमा ‘धेमालाइहेङ खाङलाउ’ कथासंग्रह ९२०५६० प्रकाशन भएको छ । मातृभाषा पीपल पुस्तक उत्पादनमार्फत् सोमबहादुर धिमाल, बलबहादुर धिमाल, मन्जु धिमाल र प्रकाश धिमालका अनुभवमा आधारित कथा प्रकाशन भएका छन् ।
त्यसैगरी गर्जन मल्लिकले ‘धिमाल भासार व्याकरण ९२०१००’ बंगाली भाषामा प्रकाशन गर्नु भएको छ ।
सोमबहादुर धिमालले ‘फाइसालामका तालि’ निबन्ध संग्रह ९सन् २०१३० र ‘साङकोइ’ कविता संग्रह ९सन् २०१४० प्रकाशन गर्नुभएको छ । त्यस्तै सुएयोशी तोबा, नगेन्द्र धिमाल र चन्द्र धिमालको प्रयासमा नेपाली–अंग्रेजी शब्दसंग्रह ९२०५८० र धिजाविके शैक्षिक जागरणको प्रयासमा धिमाल नेपाली–अंग्रेजी शब्दकोश ९२०६२० प्रकाशनमा भएको छ ।
त्यस्तै, धिमाल भाषाको चलचित्र: उर्नि ९सन् २००१÷२०५७०, बेदाङ्गि ९सन् २००६÷२०६२० र भोनोइ साम्राइका ९२०६८० तयार भएको छ । साथै धिमाल गानाका क्यासेट उर्नि लोकगीत संग्रह क्यासेट ९२०४६०, थोका ल्हे भार्खे क्यासेट ९२०५८०, ल्होकाइने क्यासेट ९२०६८० र ढोल बजाइसु क्यासेट ९२०६८० प्रकाशनमा आएको छ ।
धिमालले आफ्नै शैली, आफ्नै प्रकारको लोकजीवन र विशेषता तथा इतिहास, पहिचान बोकेको छ, जुन अन्य जातजाति तथा आदिवासी जनजातिभन्दा पृथक छ । यी पृथक पहिचान, भाषा, साहित्य, संस्कृतिलाई प्रवद्र्धन गर्ने, संरक्षण गर्ने तथा स्वरोजगारसँग जोड्नु आजको आवश्यकता भएको छ ।
धिमाल भाषामा पत्रपत्रिका प्रयास नभएका होइनन् । पहिलो पत्रिका सोलोइ ९२०५७०, दोस्रो केवा ल्हे ९२०६४०, तेस्रो गोरखापत्र नयाँ नेपाल धिमाल भाषा पृष्ठ ९२०६४० र चौथो झेङफुरु पत्रिका सुरुवात भए तापनि अन्य बन्द भएका र गो।प।नयाँ नेपाल धिमाल भाषा पृष्ठ मात्र निरन्तरता छ । धिमाल भाषामा समाचार सप्तरंगी एफएम दमक ९२०६५०, ओङलाइति कार्यक्रम उर्लाबारी रेडियो इन्द्रेणी ९२०६९०, लाम्फाको कथा रेडियो बेतानामा सुरुवात भए तापनि पछिल्लो मात्र निरन्तर छ । त्यस्तै, हालसम्म धिमाल मातृभाषामा कक्षा १ देखि ५ सम्म केवा ल्हे पाठ्यपुस्तक सिरिज तयार भएको छ ।
सामान्य विश्लेषण
सबल पक्ष
२००७ सालअगाडि धिमालमा ज्ञानगुण, शिक्षा जस्ता कुरामा प्रायः शून्य नै थियो । पञ्चायत कालमा केही धिमाल पञ्च भएका र केही काम पनि नगरेका होइनन् । प्रधानपञ्च, उपप्रधानपञ्च, वडा अध्यक्ष, गापंस भएर पनि कसैले केही काम गरेका थिए । पञ्चायत अग्रणी युवाले तालिम गरेर भए पनि केही परिवर्तन गर्न खोजेकै हुन् । माझिवाराङ वा देउन्याले पनि गाउँमा एकता, न्याय दिनेदेखि केही समाज सुधारका काम गरेकै हुन् र हालमा पनि धार्मिक, सांस्कृतिक कार्यलाई निरन्तरता दिएकै छन् ।
वास्ताविक शिक्षा ग्रहण गर्ने कार्य धिमाल समुदायमा २०४६ सालले ल्याएको परिवर्तनपछि नै देखिन्छ । युवाहरू केही शिक्षित भएका छन्, केही गर्नु पर्छ भन्ने भावना लिएका छन्, यो नै सबल पक्ष हो । पढेलेखेर आफ्ना पहिचान, इतिहास, भाषा, संस्कृति, धर्मकर्म, अधिकार खोज्न थालेका छन्, यो नै समुदायको सबल पक्ष हो । यस भावनाले एकीकृत हुने, सामूहिक कार्य गर्न पक्कै सहयोग पुग्नेछ ।
सुधार गर्नुपर्ने पक्ष
२१ औँ शताब्दी विज्ञान, प्रविधिको युग हो । धिमालहरू पनि विश्व ग्लोबलाइजेसनबाट अछुत रहन सकेन । शिक्षित जमातको देश–विदेश पलायन हुने क्रम पनि जारी नै देखिन्छः चाहे वैदेशिक रोजगारको रूपमा होस् वा अध्ययनको लागि होस् । अहिलेका युवायुवतीमा आफ्नो अध्ययन सुहाउँदो, वातावरण र परिवेश अनुसार विवाह गर्र्दै जाँदा अन्तरजातीय विवाह धिमाल समुदायमा पनि प्रशस्तै भेटिन थालेको छ । चाहे त्यो केटा पक्षले होस् वा केटी पक्षले होस् । यसले धिमाल समुदायको भाषा, संस्कृति, पहिचान र इतिहासलाई निरन्तरता गर्नमा समस्या परेकै छ । आफ्नो गाउँ छोडी बसाइँसराई गर्दाको अवस्था, देशभित्रकै ठूला जनसंख्या भएका भाषिक तथा सांस्कृतिक समुदायको प्रभाव पनि कम छैन । पश्चिमेली जगतको प्रभाव र नक्कल गर्ने परिपाटी पनि धिमाल समुदायमा दिनानुदिन बढ्दै गएको अवस्था छ । यस्ता धेरै कुरा पूरै रोक्न त सम्भव छैन होला । तर, रोकथाम भने चाहेमा गर्न सकिने ठाउँ संस्थागत, व्यक्तिगत र पारिवारिक प्रयासबाट छँदैछन् ।
अवसर
धिमाल समुदायको प्रायः सबै कुरा हालसम्म अलिखित वा मौखिक परम्परामै आधारित छन् । मूर्त तथा अमूर्त सम्पदाकै कुरा गरौं– प्रायः सबै मौखिक परम्परामै आधारित छन् । धिमाल समुदायका यस्ता धेरै कुरा अहिलेका पढेलेखेका विश्वविद्यालयका विद्यार्थी साथीले थेसिसको रूपमा अध्ययन तथा अनुसन्धान गर्न सक्नेछन् । मौखिक परम्परामा रहेका पहिचान, इतिहास, लोकवार्ता जस्ता कुरालाई लिखितरूपमा परिणत गर्न सक्नेछन् । धिमाल समुदायका आदिवासी ज्ञान, सीप, कला तथा प्रविधिलाई उद्योग व्यवसाय, पर्यटनसँग जोडेर रोजगारीका अवसर सिर्जना गर्न सक्ने सम्भावना छन् । जातीय नृत्य, घरेलु तान बुन्ने, खानपिन, प्रदर्शन, संग्रहालय निर्माणमार्फत् पहिचान गराउने प्रबल सम्भावना छँदैछ । जीवित सम्पदासँग उनीहरूले भोगेका, देखेका, अनुभव गरेका धेरै कुरामा अन्तर्वार्ता गरी, डिजिटाइजेसन गरी आफ्नो जातीय इतिहास लेखन गर्न सक्नेछन् ।
धिमाल भाषा विद्यालयमा पठनपाठन गराउने कार्य गर्न सक्नेछन् । आफ्ना मौखिक संस्कृतिको अध्ययन, खोज तथा प्रकाशन गर्न सक्नेछन् । धिमाल समुदायको लोकसाहित्य लेखन गर्न सक्नेछन् । प्रत्येक गाउँ टोल समितिमा एक धिमाल मिनी पुस्तकालय निर्माण गर्ने, बूढापाकासँग बालबालिकालाई संवाद गराउने, ज्ञान, सीप, कला तथा अर्ती/उपदेश आदानप्रदान गराउने प्रवल सम्भावना छ ।
चुनौती
सुरुका दिनमा जब श्री धिमाल जातीय विकास केन्द्र नेपाल धिमालका साझा संस्था स्थापना भएको थियो, धेरै राम्रो वातावरण थियो । सबैमा उत्सुकता थियो, सहयोगी भावना थियो । संस्थाले राम्रै काम गरिरहेको पनि थियो । हरेक गाउँमा संस्था विस्तार गर्ने र सामाजिक, सांस्कृतिक कार्य गर्दै गरेको अवस्था थियो । जब राजनीतिक पार्टीहरूले भातृसंगठनहरू खोले र विस्तार गरे, त्यसपछि धिमालहरू पनि पार्टीमा आवद्ध भए, त्यो राम्रो पक्ष थियो । तर, अबुझका कारण एउटा पार्टीमा आवद्धता हुनेलाई अर्को पार्टीमा आवद्धता हुनेले सहयोग नगर्ने, उसको विपक्षमा लाग्ने परिपाटीले धिमालको साझा संस्थामा नेतृत्व गर्नेहरूलाई समेत असर पार्यो । राम्रै योजना ल्याएमा पनि अल्पमत बनाउने, उसको पालामा गरेमा उसको नाक किन ठूलो पारिदिने भन्ने जस्ता भावना देखा परे । पार्टीगत फुट, असहयोगको भावना जागृत हुँदै गयो । यो समुदायमा ठूलो चुनौतीको रूपमा अहिले पनि यथावत छ । अन्य सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, विकास निर्माणजस्ता चुनौती त पहिलादेखि छँदैछन् ।
निष्कर्ष
धिमाल लोकसाहित्यको कुरा गर्दा हालसम्म मौखिक दस्तावेजमा आधारित छ । यस समुदायमा गाउने विभिन्न किसिमका लोकगीतले धिमाल गाउँटोलको विभिन्न परिस्थितिको प्रतिनिधित्व गरिराखेको हुन्छ । दुःख, सुख, हर्ष, विष्मात आदिको बारेमा धिमाल बूढापाका लोकगीतको माध्यमबाट आफ्ना कुरा व्यक्त गरिराखेका हुन्छन् । लोककथाले प्राचीन ताका आफूले ठूलाबडाबाट सुनेको भोगेको कुरा लेखि लोकसंस्कृति, पशुपंक्षी, देवदेवी जस्ता झल्कने कुरा पर्छन् । र, यस्ता कथाको माध्यमबाट अर्ती/उपदेश दिने र सजग गराइएको पाइएको छ ।
गाउँखाने कथा ९नालचापाका काथा, लोकोक्ति, किंवदन्ती जस्ता कुराले अझ धिमाल भाषा तथा लोकसाहित्यलाई विकास गर्नमा थप मद्धत गरेको छ । नाटक विधामा यस समुदायबाट खासै काम भएको पाइँदैन । कविता तथा निबन्ध विधामा विस्तारै युवा जमातले केही भए पनि कलम चलाउन थालेको पाइन्छ । लोकभाषा तथा लोकसाहित्यलाई संरक्षण गर्नका लागि गोरखापत्र दैनिकमा नयाँ नेपाल धिमाल भाषा पृष्ठ पनि २०६४ सालबाट निरन्तर प्रकाशन हुँदै आएको छ ।
यसले लिखित इतिहास दस्तावेज निर्माणको लागि थप मद्दत पुग्न गएको छ । केही लेखक, कवि तथा साहित्यकारले विस्तारै धिमाल लोकसाहित्य उत्थानको लागि प्रयास गर्न थालेका छन् । धिमाल मातृभाषामा कक्षा ५ सम्मको पाठ्यपुस्तक तयार भएको छ । यस्तै, केही चलचित्र पनि निर्माण भएका छन् । धिमालले आफ्नै शैली, आफ्नै प्रकारको लोकजीवन र विशेषता तथा इतिहास, पहिचान बोकेको छ, जुन अन्य जातजाति तथा आदिवासी जनजातिभन्दा पृथक छ । यी पृथक पहिचान, भाषा, साहित्य, संस्कृतिलाई प्रवद्र्धन गर्ने, संरक्षण गर्ने तथा स्वरोजगारसँग जोड्नु आजको आवश्यकता भएको छ ।
यो पनि
‘धिमाल जातिः संस्कृति र लोकसाहित्यको अन्तरसम्बन्ध’