आशिष पौडेल | अन्तर्मन्थन | चैत २१, २०७७
जीवन एक संयोग हो भन्ने कुरा कथा कहानीमा पढिने र पढाइँदै आएको कुरा हो । तर, चेतनारायण राईको जीवनी पढिसकेपछि लाग्छ जीवन साँच्चै जीवन संयोग नै संयोगको एक पुलिन्दा हो ।
संयोग पनि यस्तो कि सामान्यतया कल्पना गर्न नसकिने अनि कतै न कतै विना प्रसङ्ग झैँ लाग्ने घटना पनि उहाँको जीवनमा आएर जोडिने गरेका छन् । साँचो अर्थमा यो आलेख एउटा संयोगको पुलिन्दा हो भन्न सकिन्छ। साँच्चै जीवन बुझ्न यो एउटा कारगर पाठ भन्ने पनि लाग्न सक्छ पढिसकेपछि ।
पारिवारिक अवस्था
उहाँको बुवा भूतपूर्व ब्रिटिस सैनिक अर्थात् बोलिचालीकाे भाषामा लाहुरे । ब्रिटिसको तर्फबाट बर्मा तथा मलायाको लडाई पनि लडेको मानिस । तर पनि उहाँ आफूलाई सामान्य परिवारको सदस्य भएको बताउनुहुन्छ । आर्थिक अवस्था पनि ठिकै रहेको बताउनुहुन्छ ।
जन्म तथा बाल्यकाल
उहाँको जन्म भोजपुर जिल्लाको हालको षडानन्द नगरपालिका स्थित नेपालेडाँडामा भएको हो । पहिले नेपालेडाँडा गाविस थियो । जन्म भने २०१२ सालको हो । तर, साथीहरूले घटाएर लेख्नुपर्छ भने पछि उहाँको जन्म मिति २०१४ हुन पुग्यो । सबै अभिलेखले उहाँलाई २०१४ सालमा जन्मेकाे मान्छ र मानिरहेको छ ।
उहाँको दुई दाजुभाइ तथा दुई दिदी बहिनी । उहाँ भने जेठो सन्तान । पेन्सन पछि बुवा पूर्ण रुपमा खेती किसानीमा व्यस्त रहेकोले उहाँको पनि बाल्यकाल बाबु आमालाई सघाउँदै तथा गाई वस्तु गोठालोमै बित्यो ।
प्रारम्भिक शिक्षा
उहाँको प्रारम्भिक शिक्षा सिद्धेश्वर प्राथमिक विद्यालयबाट भएको हो । पहिला यो विद्यालय सोल्जर्स बोर्ड अन्तर्गत रहेको थियो । उहाँको बुवा तथा हजुरबुवाले त्यस बखत घोपा क्याम्प धरानमा स्कुलका लागि अनुरोध गरेपछि खुलेको थियाे याे विद्यालय । यसलाई पछि सरकारीकरण गरेपछि बनेको हो सिद्धेश्वर चाहि ।
स्कुलमा डेस्क थिएन । बस्नलाई बेन्च मात्र थियो । लेख्नलाई काठको पाटी हुन्थ्यो । पहिला पहिला उक्त पाटीमा धुलो हालेर सिन्का वा हातले लेखिन्थ्यो । पछि भने अँगार दलेर चकले लेख्न थालियो । कक्षामा जम्माजम्मी छ, सात जना हुन्थे । महिलाहरू एक दुई जना । उहाँले उक्त स्कुलमा चार कक्षासम्म पढ्नु भयो । शुल्क तिरेको भने उहाँलाई याद रहेनछ ।
पाँच कक्षा पछि उहाँ श्री शान्त मिडिल स्कुलमा सात कक्षासम्म पढ्नु भयो । बस्ने डेस्क बेन्च राम्रा थिए । कक्षामा पन्ध्र जना जति विद्यार्थी थिए । छात्रहरू पाँच छ जना जस्तो थिए। उहाँ पढ्नमा तेज विद्यार्थी होइन र सामान्य हो । बस्नलाई भने प्राय सेकेन्ड बेन्चमा बस्नुहुन्थ्यो । स्कुल एक घण्टाको दूरीमा उकालो उक्लिएर जानुपर्थ्यो ।
अनि परिवार नियोजनमा मान्छे मागेको रहेछ । जाँच दिएर पहिलो नम्बरमा नाम निकाल्नुभयो । तर, जागिर अर्कैले खायो । अनि त्यसपछि उहाँले गएर हाकिमलाई भनेपछि गल्ती भो भाइ, एक जना छिमेकी भाइलाई जागिर नख्वाई नहुने भएर यसो गरिएको हो, पर्सि आऊ जागिर ख्वाएरै छाड्छु तर अलि टाढा जानुपर्ने मात्र हो भनेर पठाएछन् ।
खेलमा भने भलिबल, हाइजम्प, लङ्गजम्प आदि हुन्थे बिद्यालयमा । ककफाइट त्यति बेला एकदमै चलेको खेल हो । स्कुलमा अतिरिक्त क्रियाकलाप पनि हुन्थ्यो । जसमा खेलकुद तथा साहित्य दुवै हुन्थ्यो । साथै गायन पनि यो नौ कक्षाको कुरा हो । स्कुलमा भएको गायन प्रतियोगितामा उहाँले प्रथम पुरस्कार प्राप्त गर्नुभयो । त्यसपछि उहाँको स्कुलमा लोकप्रियता बढ्यो । सात कक्षा पछि भने पूरा डेरा डन्डा लिएरै उहाँ सर्नुभयो कुलुङ गाविस स्थित वीरेन्द्र माध्यमिक विद्यालय । फिस भने त्यति याद नभए पनि पन्ध्र तीस चालिस हो कि ! उहाँ भन्नुहुन्छ ।
स्कुलबाट 'रेष्ट्रिकेट'
स्कुलमा युनियन गठन गर्ने चलन थियो । दश कक्षाको विद्यार्थी स्कुलबाट पास भएर गइसकेको हुनाले युनियनको अध्यक्ष खाली थियो । उहाँ लोकप्रिय भएका कारण साथीभाइले पनि उठ्नु पर्छ भने । उहाँ अत्यधिक मतले युनियनको अध्यक्ष पनि हुनुभयो ।
उहाँ अध्यक्ष भएर फूलमाला लाएर सबै सकिएको धेरै पछि मात्र उहाँलाई थाहा भयो उहाँको प्रतिद्वन्द्वी त स्कुलको सञ्चालक समितिको छोरा रहेछन् । स्कुलमा अङ्ग्रेजी विषयका शिक्षक थिएनन् । विषय पनि गाह्रो । शौचालय थिएन । महिलाहरूलाई निकै समस्या थियो । अनि खानेपानी थिएन । यो सबैका लागि उहाँले माग राख्नुभयो ।
त्यसबेला अङ्ग्रेजी स्कुलकै निमित्त प्रधानाध्यापकले पढाइ रहेका थिए । उनलाई यो सह्य भएन । उनले हामीले पढाएको नहुने भनेर उहाँलाई एक झापड हाने । उहाँले पनि लखेट्दै गएर शिक्षकलाई अफिस पुग्नु अगाडि पछाडि बाट एक झापड लगाउनुभयो ।
अनि उहाँका विरुद्ध युनियनमा पराजित अध्यक्ष तथा अन्यले अनुशासनहीन आदि भनेर नारा लगाउन थाले । धम्की दिइयो । उहाँहरूले पनि डेलिगेसन लिएर जानुभयो । तर, उहाँ लगायत उहाँको कमिटीका सचिव कोषाध्यक्ष लगायतलाई 'रेष्ट्रिकेट' गरियो अर्थात् बिद्यालयबाट नै निकालियो । अरूलाई भने ट्रान्सफर सर्टिफिकेट दिने गरी । तर, उहाँलाई भने त्यो पनि नदिने गरी 'रेष्ट्रिकेट विद्यालयले ।
अब घरमा छोरो 'रेष्ट्रिकेट' भएर आएको कुन बाउलाई मन पर्ला र जस्तो सुकै भए पनि । छोरोले नराम्रो लाइन पक्ड्यो भन्ने चिन्ता थियो बाबुआमालाई । अब एसएलसी पनि आउन लागेकोले कता जाने भन्ने चिन्ता भयो, उहाँ भन्नुहुन्छ ।
त्यस बेला दिङ्गला अरुण हाई स्कुलका हेडसर हुनुहुन्थ्यो नरेन्द्र बस्नेत । उहाँ उदार खालको हुनुहुन्छ भन्ने चर्चा थियो । अनि करिब एक घण्टाको बाटो हिडेंर उहाँ जानुभयो नरेन्द्र सरकोमा । अनुरोध गर्नुभयो । सबै बेलिबिस्तार पनि लगाउनु भयो। सरले पनि, तिमी पनि के गर्छौ गर्छौ हो, भन्नुभयो । ल अब आएर पढ्दै गर, मेरै घरमा बसे पनि केही छैन तर, सर्टिफिकेट भने चाहिन्छ भने पछि उहाँको खुसीको सीमा रहेन ।
सर नै 'रेष्ट्रिकेट'
एक पटक उहाँलाई 'रेष्ट्रिकेट गर्ने हेडसर दिउँसो खाजा खान गएको समयमा जाँड खाएर मस्त भएको अर्को सरले देख्नुभएछ । अनि उहाँले जिल्लामा खबर गरेपछि त्यो सरलाई तुरुन्त हटाएर तपाई बस्नुस् भनेर उहाँको नियुक्तिको पत्र आएछ । उहाँको नियुक्ति भएपछि ती सरले उहाँको ट्रान्सफर सर्टिफिकेट बनाएर तल गाउँमा ल्याएर छोडिदिनु भएको रहेछ ।
अनि उहाँलाई गाउँबाट खबर आएपछि सर्टिफिकेट लिएर स्कुलमा बुझाउनु भो र एसएलसी दिनुभयो, २०३१ सालमा । थर्ड डिभिजनमा पास पनि हुनुभयो ।
संयोगले वडाध्यक्ष
त्यसपछि उहाँ गाउँमा आउनुभयो फर्केर । संयोगले भयो के भने गाउँको उहाँको वडा नं २ को वडाध्यक्ष पद खाली रहेछ । गाउँको उपप्रधानकोमा 'पर्म' गएको बेला यो कुरा थाहा भयो । उठ्नु पर्ने बाध्यता आइलाग्यो । उठेर जित्नु पनि भो ।
अनि गाउँमा तिरो उठाउनु पर्ने । तर उहाँलाई भने केही अनुभव थिएन । धान, मकै आदिको तिरो उठाउँदा सूक्ति अर्थात् सुक्ने भाग पनि राखेर लिनुपर्ने, त्यो उहाँलाई थाहा भएन । अनि त्यसमा घाटा भो । घाटा व्यहोर्न ऋण नै काढ्नु पर्ने अवस्था सर्जना भयो ।
यसको त ग्रह नै त्यस्तो । खाली नाश बिगार मात्र गर्ने । खरानी बनाउने ग्रह, घरमा बाउले गाली खानुहुन्थ्यो, उहाँ भन्नुहुन्छ । एसएलसी पछि धरान पढ्न जाने भनेर साथीहरूसँग सल्लाह भएको थियो उहाँको । उहाँ एक दिन गाउँमा पर्म जानुभएको थियो । जसको पर्म गएको हो त्यो साथी सँग पढ्न जाने धरान सल्लाह भएको थियो । अनि उहाँले साथी खोइ भनेर सोधेपछि उनीहरू न त अघि नै पढ्न भनेर धरान हिँडिसके भनेपछि उहाँ पर्ममा दिदीलाई पठाइदिन्छु भनेर घर हिंड्नुभो ।
पर्म छोडेर पढाइ
अघिसम्म पर्म गएको मान्छे एक्कासि फर्केर नुहाइ धुवाई गरेको देख्दा घरमा पनि छक्क । के भो भनेर सोध्दा अब पढ्न जाने भनेर उहाँ चामल, नून, गुन्द्रुक पोको पार्न थाल्नुभयो । कस्तो जिद्दी मान्छे भनेर फेरी घरमा गाली गरे । खर्च केही खोजिदिने भए ठिकै छ भनेपछि आमाले पाँच हजार पैसा खोजेर ल्याइदिनु भयो। अब यो नगई नछोड्ने भो भनेर ।
अनि उहाँ लाग्नुभयो गुटुटु कुद्दै । ती अघि पढ्न गएका साथीहरू बाटोमा धमाधम भात पकाउँदै रैछन । ती साथीहरू पनि छक्क परे । साथीहरूसँग बाझाबाझ भयो । तिमीहरू मात्रै पढ्न आउने । झन् सल्लाह गरेको के काम भयो । साथीहरू पनि पड्किए । उनीहरूले उहाँको बुवालाई यो दिन जाने भनेर पहिल्यै खबर गरेका रहेछन् । तर, बुवाले भने उहाँलाई ढाँट्नु भएको रहेछ ।
धरान गएर कलेज भर्ना हुन खोजेको हडताल रहेछ । कारण के हो र किन भन्ने केही थाहा भएन । साउनमा धरान गएको दसैँ लागेर घर फर्कने बेला पो भयो । तर, उहाँ भने फर्कनु भएन । कारण थियो, फर्कियो भने फेरि घरबाट पठाउँदैनन् भन्ने ।
२०३१ साल मङ्सिरमा बल्ल प्रवेश परीक्षा भयो । उहाँ पास भएर भर्ना हुनु भो । तर, त्यहाँको प्रिन्सिपलले जाँच नै नदिएका भान्जा भान्जीलाई पास गराएछन् । अरु जाँच दिने भने फेल भए । त्यसपछि डाङडुङ भयो । अनि फेल हुने र भान्जा भान्जी सबैलाई भर्ना गर्ने सहमति भएपछि बल्ल पढाइ सुरु भयो ।
प्रथम पुरस्कार
त्यसबेला तीन महिनाको एक सेमेस्टर हुन्थ्यो । एक सेमेस्टर सकिएपछि अर्को सेमेस्टर अघि दश, बाह्र दिन छुट्टी हुन्थ्यो । अनि दोस्रो सेमेस्टर अघि एउटा साहित्यिक तथा गायन प्रतियोगिता भएको थियो । त्यसबेलाको छुट्टीमा उहाँ कालेबुङ जानु भएको थियो घुम्न । टिस्टा खोला तरेर जानुपर्ने रहेछ कालेबुङ । अनि उहाँले बसमै गीत लेख्नुभयो । उहाँले उक्त गीत गाएर प्रथम पुरस्कार समेत प्राप्त गर्नुभयो ।
अनि उहाँलाई भ्याइ नभ्याई भो । फुर्सद भयो कि धरानका केटाकेटीले गाउन बोलाउने । तर, पनि उहाँको स्वभाव भने अलि लजाउने खालको थियो । २०३४ सालमा उहाँले आईकम पास गर्नुभयो । अब बिकम पढ्ने पैसा थिएन । जागिर खान कि के गर्ने ? भन्ने पनि थाहा थिएन । एक जना साथीले पत्रिका पढ्नुपर्छ भनेपछि पत्रिका हेर्न थाल्नुभयो ।
पहिलो जागिर
अनि परिवार नियोजनमा मान्छे मागेको रहेछ । जाँच दिएर पहिलो नम्बरमा नाम निकाल्नुभयो । तर, जागिर अर्कैले खायो । अनि त्यसपछि उहाँले गएर हाकिमलाई भनेपछि गल्ती भो भाइ, एक जना छिमेकी भाइलाई जागिर नख्वाई नहुने भएर यसो गरिएको हो, पर्सि आऊ जागिर ख्वाएरै छाड्छु तर अलि टाढा जानुपर्ने मात्र हो भनेर पठाएछन् ।
अनि उहाँ पर्सी जाँदा त पत्र लेखेर संखुवासभाको हाकिमलाई पत्र लेखिदिनुभयो हाकिम सापले । इन्टरमिडिएट सुपरभाइजरको लागि भनेर । संखुवासभा पुगेर हाकिमलाई पत्र दिनुभयो । तर, उहाँले पनि आफ्नो मान्छे राख्ने तयारी गरेका रहेछन् । तर, क्षेत्रीय हाकिमको पत्र भएका कारण नाइनास्ती गर्न सकेनन् ।
गितारको तार अनि संयोग
उहाँलाई गीत, सङ्गीत यत्तिको रुचिकर लाग्छ भन्ने उहाँलाई नै थाहा रहेनछ । भयो के भने एक पटक बुवा धरानमा पेन्सन थाप्न आउँदा दिनु भएको खर्चले उहाँले एकै पटक गितारका छ वटा तार मात्र किन्नुभयो । तर, गितारको खोल भने थिएन ।
संखुवासभामा जागिर भइसकेपछि अब कहाँ खाना खाने भनेर हेर्दै हिँड्दा गाउँको एक जना साथीको काका पर्नेको घर रहेछ । उहाँले यतै बस्ने खाने भतिज भन्नुभयो । अनि एक दिन खाना खाएर यसो पल्टिरहेको बेला दलिनमा गितारको ढुङ्ग्रो कोचेर राखेको देख्नुभयो । कस्तो संयोग, उहाँले तार भने केही थाहा नभए पनि पहिल्यै किनेर झोलामा कोचिसक्नु भएको थियो ।
उहाँले काकालाई आहो काका, यो ढुङ्ग्रो त मलाइ चाहिन्छ भनेपछि ठिकै छ काकीलाई पचास रुपैयाँ दिएर लैजाऊ भन्नुभयो । अनि उहाँले तार फिट गरेर गितार बजाउन सुरु गर्नुभयो । त्यसपछि गाउँ, टोल पसल सबैतिर उहाँले गाउन थाल्नुभयो ।
अर्को घटना र पहिलो तलब
एक पटकको कुरा हो उहाँ क्षेत्रीय कार्यालयको सिफारिस पत्र लिएर आउँदा बुवा पेन्सन लिन आउनु भएको रहेछ । अनि उहाँले पेन्सनको पैसाले एउटा बाल्टी, चिनी एक किलो, जिरा एक किलो अरु सामान लिएर फर्कर्दै हुनुहुन्थ्यो । साँघुरीमा पानी खान मन लागेर पानी खाँदा उहाँले ती सामान छोडेर हिँड्नु भएछ । धारापानी पुगेपछि बल्ल उहाँलाई यादभयो सामान छोडिएछ भनेर ।
अरु साथीहरूले त न जा भन्दै थिए रे ! तर उहाँलाई भने बुढा मान्छेको पेन्सनले किनेको भनेर छटपटी चलिरहेको थियो । अनि बेतोडले फर्किनुभयो । तर, त्यहाँका मान्छेले सामान दिनुको साटो झन्डै कुटेका थिए रे !
उहाँको आङमा त्यो कुराले घाम पनि लागेको थिएन । अनि उहाँ जब त्यो जागिरको पत्र बुझाउन जानुभयो । दसैँको समय थियो । पत्र बुझाए पछि दसैँ खर्च अनि भत्ता सबै गरेर उहाँले झन्डै सात हाठ हजार पाउनु भयो ।
उहाँको तलब झन्डै पन्ध्र सोह्र सय थियो रे ! त्यो बेला परियोजना भएका कारण । उहाँको यो पहिलो तलबले बाबुको पेन्सनमा छुटेका बाल्टिन देखि के के थिए त्यो सबै किनेर पहिले राख्नुभयो रे उहाँले । यो नै उहाँको जीवनको सबैभन्दा खुसीको क्षण हो भन्नुहुन्छ उहाँ ।
उहाँले करिब छ वर्ष जागिर खानुभयो । आमाले जागिर खाएको पैसा हामीलाई दिनुपर्दैन आफूलाई पुर्याएस भनेपछि त के चाहियो र, उहाँ भन्नुहुन्छ । यो त 'बाँदरलाई लिस्नु भैगो नि !' त्यसपछि त साथीभाइ बोलाउने, खाने अनि रातभर गीत गाउने उहाँका कार्यक्रम बन्न थाल्यो ।
गीतका कारण प्रतिशोध
यो छ वर्षको दौरान उहाँ पन्ध्र बिस पटक प्रहरी खोरमा बस्नु भयो होला । महिनामा एक पटक हाजिर हुने त छँदै छ । मान्छे उचाल्यो, भड्कायो अनि क्रान्तिकारी गीत गायो भन्ने आरोप थिए उहाँलाई ।
यस्तैमा सिडिओले उहाँको हाकिमको राजीनामा मागेछन् उहाँका कारणले । अनि हाकिमले उहाँलाई मेरा त जहान केटाकेटी छन् तपाईँ त एक्लो मान्छे बरु तपाईँले राजीनामा दिनुस् भएर रुँला जस्तो गरेपछि उहाँले राजीनामा दिनु भएको रहेछ जागिरबाट । जागिरबाट राजीनामा दिएपछि उहाँ सोझै हानिनुभयो काठमाडौँ पढ्नका लागि भनेर । पढ्नका लागि कसले पैसा दिने के गर्ने यो सबका बारेमा भने उहाँ आफैँ अन्यौलता हुनुहुन्थ्यो ।
अर्को संयोग
उहाँ काठमाडौँ आउँदै हुनुहुन्थ्यो । गाडी टिस्टुङमा रोकियो । हिउँ परिरहेको थियो । पहाडको मान्छे पिसाब फेर्न अलि जङ्गल खोज्दा खोज्दै गाडी फुत्कियो । अनि उहाँ आफैँले सिट्ठी बजाउँदै हिउँमा चिप्लँदै लड्दै गर्दा बल्ल गाडी सिट्ठी सुनेर तल रोकियो अनि आउनुभयो गाडी चढेर काठमाडौँ ।
काठमाडौँको सुनधारा झर्दा काठमाडौँ कता हो कता जस्तो अनकन्टार अनि अनौठो लाग्यो रे उहाँलाई । उहाँ काठमाडौँमा घट्टेकुलोमा बस्नु भएको हो । धाप जस्तो थियो घट्टेकुलो त्यसबेला । ट्वारट्वार भ्यागुतो कराउने उहाँ भन्नुहुन्छ । माछा त खेतमै पाइन्थ्यो उहाँ भन्नुहुन्छ । यो २०४१/०४२ सालतिरको कुरा हुनुपर्छ उहाँ भन्नुहुन्छ । त्यसबेला उहाँ शंकरदेव क्याम्पसमा बिकम पढ्दै हुनुहुन्थ्यो ।
उहाँले पढ्दै प्लान इन्टरनेशनलमा काम गर्नुभयो र करिब छ वर्ष नै । जागिर खाने भए हुम्ला, जुम्ला जानुपर्छ भनेपछि उहाँले गोल्डेन ह्याण्डसेकमा जागिर छोड्नु भएको हो ।
विवाह
उहाँको विवाह २०४२ सालतिर भएको हो । प्रेम विवाह । उहाँका दुई सन्तान । दुवै छोरा । जेठो छोरा भने गोल्बल आइएमा बैङ्कमा काम गर्दै हुनुहुन्छ । अर्को छोरा भने जियोलोजिस्ट । हाल अमेरिकामा हुनुहुन्छ ।
सम्मान तथा पदक
उहाँले प्रधानमन्त्रीबाट २०७६ सालमा प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । यही २०७७ चैत्र २७ गते राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदक पनि प्राप्त गर्दै हुनुहुन्छ ।
अन्त्यमा
वास्तवमा दुःख हण्डर के हो भन्ने कुरा उहाँको जीवन कथाबाट राम्रै सिक्न सकिन्छ । साथै हरेक दुःखको कसरी धैर्यता पूर्वक सामना गर्ने भन्ने पनि उहाँको जीवनबाट सिक्न सकिने पाठ हो ।