पर्वतमा जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक

पर्वतमा जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत २२, २०७७

पर्वत । पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ । यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ । पर्वतमा जनगणनाको तयारी भइरहँदा गणक र सुपरीवेक्षक खटाइनेछ । आवश्यकताभन्दा धेरैको आवेदन परेपछि संक्षिप्त सूचीमा पनि धेरै जनाको नाम निकालिएको छ ।

जनगणना कार्यालय पर्वतका प्रमुख ज्योति केसीले संक्षिप्त सूचीमा परेकालाई कार्यालयले वैशाख १० गतेसम्म कार्यालयमा सम्पर्क राख्न भनेको बताउनुभयो । कार्यालयमा आवेदकलाई बोलाएर आवश्यक कागजातको परीक्षण, अन्तरवार्ता र तथ्याङ्क विभागले बनाएको कार्यविधिलाई टेकेर सुपरीवेक्षक छनोट गरिने केसीले जानकारी दिनुभयो । जिल्लाका सातै स्थानीय तहका ६१ वटा वडामा एक–एक जना सुपरीवेक्षक र चार गणक खटिने जनाइएको छ । गणकको सूची भने वैशाख १५ गतेपछि मात्रै सार्वजनिक हुने कार्यालय प्रमुख केसीले बताउनुभयो । सुपरीवेक्षक वैशाख २६ देखि गणनाको काम लिएर गाउँ जानेछन् ।

जनगणना कार्यालय पर्वतमा स्थापना भएपछि कार्यालयले सञ्चारकर्मीसँग एक चरणमा अन्तरक्रिया भएको छ । जनगणना सचेतनासम्बन्धी एक चरणमा जनप्रतिनिधिसँग गोष्ठी भएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नाराका साथ २०७८ मा हुने गणनालाई महत्वका साथ हेरिएको छ । यस वर्ष अक्सर बसोबासका आधारमा गणना हुने जनाइएको छ ।