बाबुहरि ज्ञवाली | जीवनदर्शन | बैशाख १०, २०७६
‘यतोऽभ्युदय निः श्रेयससिद्धिः स धर्मः’
अर्थात् जुन कर्मले यसलोक र परलोक दुबैका लागि कल्याण र मोक्ष सिद्धि हुन्छ, त्यही नै धर्म हो । वैदिक धर्म प्राचिनतम धर्म हो । यस धर्मको प्रमुख स्रोत वेद हुन् । वेदको अर्थ ज्ञान हो भने उपनिषद्को अर्थ व्यवधानरहित सम्पूर्ण ज्ञान हो । वेदको प्रादुर्भाव सृष्टिको आरम्भमा ऋषिहरुले समाधि अवस्थाद्वारा गरेको हो भन्ने मानिन्छ ।
हामीहरु जुन शब्दात्मक वेदलाई सुन्ने, पढ्ने गर्दछौं त्यो भौतिक र देशकालको सीमामा आवद्ध छ । परन्तु वेदको सुक्ष्म अथवा अभौतिक रुप, जसलाई परावाक्य पनि भनिन्छ, यो अनादि र अनन्त छ । जसरी विश्वको प्रयेक स्थुल पदार्थ ब्रह्मको तन्मात्राबाट प्रकट हुन्छ त्यसरी नै वेद भित्रको ज्ञान भण्डार पनि उनै अनन्त परमात्माको ज्ञान स्रोतबाट निसृत छ । त्यसैले वेदलाई अपौरुषेय पनि भनिन्छ । वेदविहित आचरण करणीय हुन् र वेद निषिद्ध आचरण अकरणीय हुन् । यो करणीय हो र यो अकरणीय हो भन्ने कुराको यथार्थ निणर्य ज्ञानबाट हुन्छ । ज्ञान कर्ता, करण, क्रिया एवं फलको अधीनमा हुँदैन, त्यसैले ज्ञान स्वतः प्रमाण पनि हुन्छ ।
उपनिषद्को मुख्य अर्थ ब्रह्म विद्या हो र यसको मूल आधार वेद नै हो । उपनिषद्मा वेदहरुको समस्त ज्ञानको चरम सत्य समुज्ज्वल रुपमा प्रकट भएको छ । मानव जीवनको अन्तिम लक्ष्य ब्रह्मोपलब्धी हो, त्यसको लागि यहाँ ज्ञान, कर्म र उपासना रुपी मार्गको स्पष्टरुपले प्रतिपादन भएको छ ।
विश्वका कैयौं विद्वानहरुले वेदलाई साहित्यका सबैभन्दा पुराना धर्मग्रन्थ हुन् भन्ने कुुरा स्वीकार गरेका छन् । वेदका मन्त्रहरु चार संहितामा विभक्त छन् – जसलाई ऋग्वेद, यर्जुवेद, सामवेद र अथर्ववेद भनिन्छ । यद्यपि वेदको अधिकतर भाग ज्ञानकाण्ड, कर्मकाण्ड र उपासना काण्डसँग सम्बन्धित छ, तापनि त्यसमा स्थान स्थानमा विश्वको उत्पत्ति, स्थिति र लय, आत्मा र जीव, समाज संगठन जस्ता मूल सिद्धान्तहरुको स्पष्टरुपले प्रतिपादन गरिएको पाइन्छ । मानव जीवनलाई सफल वनाउन गर्नुपर्ने आवश्यक कर्तव्यको निरुपण पनि वेदमा राम्ररी गरिएको छ । यो कुनै जाति, सम्प्रदाय वा देशको विचारले नभएर मानवमात्रको लागि गरिएको छ । त्यसैले वैदिक धर्म सार्वभौम छ, मनुष्यमात्रले आफ्नो परिस्थितिअनुसार त्यस मार्गमा लागेर आफ्नो जीवनलाई सुखपूर्वक व्यतीत गर्नसक्छ ।
मूल वेद मन्त्रहरुमा वताइएका धर्म, यज्ञ–यज्ञादि कर्म तथा विधि निषेधको विस्तृत व्याख्या ब्राह्मण ग्रन्थहरुमा पाइन्छ । वेदमा वर्णित कर्म, उपासना र ज्ञान यी तीन विषयक विचार लाई मीमांसा भन्दछन् । पूर्व र उत्तर गरी मीमांसाका दुई भेद छन् । पूर्व मीमांसामा कर्मकाण्डमाथि विचार गरिएको छ भने उत्तर मीमांसामा ज्ञान काण्डमाथि विचार गरिएको छ । उपासना काण्ड दुवैमा सम्मिलित छ ।
वेदमा वर्णित धार्मिक कर्तव्य, कर्महरुको नाम कर्मकाण्ड हो । जुन जुन कर्महरुको विधि मन्त्रहरुमा दिइएको छ त्यसलाई इष्ट र जुन कर्म गर्ने अनुमति वेदहरुले दिएका छन् तर विधि लौकिक छ भने त्यस प्रकारको सामाजिक कार्यलाई पूर्त भन्दछन् । इष्ट र पूर्त दुवै कार्यका पनि तीन भेद छन् – नित्यकर्म, नैमित्तिक कर्म र काम्य कर्म । दिन दिनै गरिने, स्नान, सन्ध्या, पूजा पाठ आदि नित्य कर्म हुन् भने कुनै विशेष निमित्तको लागि गरिने नामाकरण, उपनयन, विवाह जस्ता संस्कार, श्राद्ध आदि नैमित्तिक कर्म हुन् । यस लोक र परलोकको सुखको कामना राखेर गरिने यज्ञ–यज्ञादि कर्म काम्य कर्म हुन् ।
वेदमा वर्णित लवलीनता अर्थात् मनका वृत्तिहरुलाई सबै तिरबाट हटाएर केवल एक लक्ष्यमा स्थिर गराउने शिक्षा उपासना हो, भने मन्त्रहरुमा जहाँ जहाँ आत्मा तथा परमात्माको स्वरुपको वर्णन छ त्यो ज्ञान काण्ड हो ।
जुन कर्मले यसलोक र परलोक दुबैका लागि कल्याण र मोक्ष सिद्धि हुन्छ, त्यही नै धर्म हो । वैदिक धर्म प्राचिनतम धर्म हो । यस धर्मको प्रमुख स्रोत वेद हुन् । वेदको अर्थ ज्ञान हो भने उपनिषद्को अर्थ व्यवधानरहित सम्पूर्ण ज्ञान हो । वेदको प्रादुर्भाव सृष्टिको आरम्भमा ऋषिहरुले समाधि अवस्थाद्वारा गरेको हो भन्ने मानिन्छ ।
वैदिक धर्मावलम्बीहरुका लागि वेद सर्वोपरि प्रामाणिक धार्मिक ग्रन्थका रुपमा स्थापित छन् । तर वेदको अर्थ सबैले बुझ्न सक्दैनन्, त्यसैले वेदको वास्तविक मर्म सबैले जान्न सकुन भन्ने उद्देश्यले महर्षि व्यासले पुराण र महाभारत जस्ता ग्रन्थको रचना गरेर यस धर्मलाई सबैले बुझेर पालन गर्न सक्ने बनाइदिनु भएको छ ।
उपनिषद्को मुख्य अर्थ ब्रह्म विद्या हो र यसको मूल आधार वेद नै हो । उपनिषद्मा वेदहरुको समस्त ज्ञानको चरम सत्य समुज्ज्वल रुपमा प्रकट भएको छ । मानव जीवनको अन्तिम लक्ष्य ब्रह्मोपलब्धी हो, त्यसको लागि यहाँ ज्ञान, कर्म र उपासना रुपी मार्गको स्पष्टरुपले प्रतिपादन भएको छ । त्यसैले उपनिषद् दर्शन पनि हुन् । धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ अन्तर्गत उपनिषद्मा आध्यात्मिक विचार तथा मानवजीवनको मूल्यलाई राम्ररी सम्झाईएको छ । उपनिषदमा शान्ति र विश्वप्रेमलाई बढी प्रश्रय दिइएको छ ।
उपनिषद् मानवका लागि सर्वश्रेष्ठ प्रेरक ग्रन्थ हुन् भन्ने कुरा न केवल प्राच्य महर्षि तथा विद्वानहरु अपितु पाश्चात्य विद्वान तथा दार्शनिकहरुले पनि मुक्तकण्ठले स्वीकार गरेका छन् । उपनिषदबाट मनुष्यलाई प्रवृत्ति मार्ग तथा निवृत्ति मार्ग दुबैबाट ईश्वर प्राप्तिको लागि निर्देशन भएको पाइन्छ । त्यसैले उपनिषद्कोे आध्यात्मिक चिन्तन अन्र्तमुखी मात्र नभएर मानवको लागि मार्गद्रष्टा पनि हो भन्नेमा दुईमत हुन सक्दैन् ।