लोकसंवाद संवाददाता | समाचार | बैशाख ०२, २०७८
काठमाडौँ । लेवनानमा शान्तिस्थापनाका लागि तैनाथ बर्दबहादुर गणले आफ्नो कार्यक्षेत्रका वातावरण संरक्षणका लागि बिरुवा रोपणका साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको नेपाली सेनाले जनाएकाे छ ।
नेपाली सेनाका अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ शान्ति सैनिक पूर्वी क्षेत्र कमाण्डर सहायकरथी जाभेर मिरागया प्रीइटोले शुभारम्भ गर्नुभएको ‘ब्लु टु ग्रीन क्याम्पियन’ लाई उक्त गणले निरन्तरता दिइरहेको छ ।
त्यहाँ तैनाथ नेपाली सेनाको बर्दबहादुर गणले गत चैत २८ गते नगरप्रमुखको सहभागितामा माज्दल स्लिममा २५० र साक्रा नगरपालिकामा पनि विभिन्न प्रजातिका २५० बिरुवा रोपेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
‘लेवनान मदर्श डे’ का अवसरमा हौला नगरपालिकाका महिलालाई लक्षित गरी यसअघि सञ्चालन गरिएको कोभिड–१९ र महिला स्वास्थ्य सचेतना तालिमका सहभागिलाई गणको तर्फबाट विभिन्न स्वाथ्य सामाग्री वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सामाजिक कार्यमार्फत उक्त गणले सैनिक नागरिक सहकार्यलाई अघि बढाउने क्रममा सञ्चालन गरिएको दन्त परीक्षण शिविरबाट जिम्मेवारी क्षेत्रका नागरिक लाभान्वीत भइरहेको जनाइएको छ । गणले हालको कोरोनाको महामारीमा समेत आफ्नो जिम्मेवारी क्षेत्रमा विविध सामाजिक गतिविधिलाई निरन्तरता दिएर स्थानीय निकायको मन जित्न सफल भएको सेनाले जानकारी दिएको छ ।