एमालेका चार सांसदको 'फ्लोर क्रस'का कारण मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा विश्वासको मत प्राप्त

एमालेका चार सांसदको 'फ्लोर क्रस'का कारण मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा विश्वासको मत प्राप्त

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०३, २०७८

सुर्खेत । कर्णाली प्रदेशका नेकपा एमालेका चार जना सांसदहरूले फ्लोर गरेका कारण मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका  छन्। एमालेको माधवकुमार नेपाल पक्षीय चार जना सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका  कारण मुख्यमन्त्री टिकेको छ । 

मुख्यमन्त्री शाहीको पक्षमा नेकपा एमाले नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले फ्लोर क्रस गरेर मतदान गरेका हुन्। त्यसैगरी मुख्यमन्त्री शाहीको पक्षमा नेपाली काँग्रेसका ६ जना सांसदहरूले मतदान गरेका थिए । 

शाहीको पक्षमा माओवादीका १२ जना, काँग्रेसका ६ जना र नेकपा एमालेका ४ जनासहित २२ जना सांसदहरूले मतदान गरेका हुन्। शाहीलाई सरकार बचाउन २० जना सांसद भए पुग्ने थियो। शाहीको पक्षमा उभिने ज्वाला तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री हुन्। उनले फागुन २३ मा सर्वोच्च नेकपा छुट्टाएर एमाले र माओवादी  बनाएपछि पदबाट राजीनामा दिएका थिए।

शाहीको विपक्षमा भने एमालेका १५ जना सांसदले मत हालेका थिए। कर्णालीमा एमालेका वरिष्ठ नेपाल पक्षीय ९ जना सांसद थिए। जसमा चार जना सांसदहरूले फ्लोर क्रस गरेर शाहीको पक्षमा मतदान गरेका हुन्। 

नेपाल पक्षकी एक जना सांसद देवी वलीले भने शाहीको पक्षमा गरेको मतदान सच्याएकी थिइन्। १२ जना सांसद रहेको माओवादीबाट निर्वाचित मुख्यमन्त्री शाहीलाई आफ्नो सत्ता जोगाउन २० मत आवश्यक थियो। यस्तोमा उनलाई काँग्रेसका ६ जना सांसदले समर्थन गरेका थिए।