कविता राई गाउँले | साहित्य | बैशाख ०४, २०७८
कविता
कविता राई गाउँले
पशुपतिनगर ४, ईलाम
आजसम्म
मैले बन्न चाहेर पनि
बन्न नसकेको ढुंगा मात्र हो
समयले मलाई
के के मात्र बन्नु भनेन
कहिले हावा बन्नु भन्यो(
हावा बनें म
अनि सास बनें
सास हुँदै कसैको ढुकढुकी बनें
र छातीतिरै कैद भएँ
कहिले पानी बन्नु भन्यो मलाई
पानी बनें म
पानी बनेर माटोमा थोरै मिल्नु भन्यो
मिलें
बग्नु भन्यो
कहिँ कतै , अघि पछि नहेरी बगें
कहिले चिसिनु भन्यो
चिसिएँ
कहिले तातिनु भन्यो
तातिएँ
कुनै अनिश्चित ठाउँमा पुगेर बाफिनु भन्यो
बाफिएँ
तर समयले मलाई
बाफ बनेर माथी माथी पुग्नै दिएन
माथी माथी पुगेर आकाश छुनै दिएन
कहिले आगो बन्नु भन्यो मलाई
आगो पनि बनें म
आगो बनिसकेपछि
भरभरी बल्नु भन्यो
त्यसरीनै बलें म
तर आगोको लागि आगो बन्न नसक्नेहरू
नराम्ररी पोलिए मबाट
आगोको धर्म नै पोल्नु हो थाहा हुदाहुदै
मै ठहरीएँ अपराधी ।।।
समयको आदेश यति असीमित किरु
फूल पनि मैले नै बन्दिनु पर्ने रे
फुलेर सबैभन्दा सुन्दर पनि मै देखिनु पर्ने रे
जून पनि मै भैदिनु पर्ने रे
बनेर जूनको शितलता पनि
मैले नै छाइदिनु पर्ने रे
आकाश पनि मैले थामिदिनु पर्ने रे
घाम पनि मैले भैदिनु पर्ने रे
र सारा ब्रह्माण्ड मैले नै उज्याल्याईदिनु पर्ने रे
दिन पनि मै भैदिनु पर्ने रे
रात पनि मै भैदिनु पर्ने रे
सृष्टिको उत्कृष्ट गीत पनि मैले गाइदिनुपर्ने रे
सबैभन्दा मिठो धुन पनि मै सुनिनु पर्ने रे
ओ समय १
यो सब बन्दा बन्दा
म स्वयं म बन्ने समय खोइ तरु
मेरो लागि यदि समय छैन भने
अब म ढुंगा बन्न चहान्छु समय
किनकि
ढुंगाको न समय सकिन्छ
न त ढुंगाले ढुंगा नै जन्माउनुपर्छ