लोकसंवाद संवाददाता | साहित्य | बैशाख ०४, २०७८
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक समक्ष केपी शर्मा ओलीसमक्ष हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगका लागि पुनः अनुरोध गरिएको छ ।
नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नं. प्लेट राख्न सुरु गरिएकामा बिचमा सोका विरुद्धमा सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको माग गरी रिट निवेदन दर्ता भएर सम्मानित सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भई सो निर्णयको कार्यान्वयन स्थगन गरिएको थियो ।
२०७६ मङ्सिर २७ गते सम्मानित सर्वोच्च अदालतको पाँच सदस्यीय इजलासले रिट निवेदन जारी नहुने भन्दै अन्तरिम आदेशसमेत खारेज गरेको विषयलाई आधार बनाएर नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयानुसार यातायात व्यवस्था विभागबाट सरकारी, संस्थानका र निजी स्वामित्वका सवारी साधनहरूमा मिति २०७७/०४/०१ देखि हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्बन्धित सबैलाई जानकारी गराउने उद्देश्यले सूचना जारी गरिएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०७७/०४/ १९ प. सं. २०७७/०७८ च.नं. ८१ को पत्रअनुसार उक्त प्लेट जडान गर्न भनी नेपाल प्रज्ञा–प्रतिष्ठानलाई समेत निर्देशन प्राप्त भएको थियो ।
यस सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानको ध्यानाकर्षण भई मिति २०७७/०५/०३ मा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रधानमन्त्रीज्यूलाई तपसिलमा उल्लिखित आधारहरूसहित आफ्नो राय पठाएको थियो । उक्त रायमाथि प्रधानमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गर्न निर्देशन दिनुभएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत सोहीबमोजिम प्रक्रिया अगाडि बढाएको भनी जानकारी प्राप्त भएकामा प्रधानमन्त्रीज्यूको उक्त निर्देशन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अगाडि बढाएको भनिएको प्रक्रिया विपरीत २०७७/०८/२६ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था शाखाको मिति २०७७/०८/२६ को प.सं. ७.२.१–०७७/७८ टि ०३, च.नं. ६३ को पत्रबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिति २०७७/०९/०२ को प.सं. २०७७/०७८, च.नंं. ५०८ को पत्रमा उल्लिखित ‘हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा’ विषय रहेको पत्र प्राप्त भयो । उक्त पत्रको कार्यान्वयन गर्दा देवनागरी लिपि र नेपाली भाषाको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा हुनेतर्फ ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीको पूर्व निर्देशनबमोजिम नै हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गर्ने व्यवस्था मिलाउन पुनः ध्यानाकर्षण गराउने भन्ने नेपाल प्रज्ञा–प्रतिष्ठानको मिति २०७७ चैत्र २७ गते बसेको प्राज्ञ परिषद्को बैठक सङ्ख्या २७/०७७ को निर्णयानुसार पुनः स्मरण पत्र पठाएको छ ।
हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गर्नुपर्ने आधारहरू
१. नेपालको संविधानको धारा ७ को उपधारा ९१० मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रस्ट उल्लेख गरिएको ।
२. हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक सरकारी, संस्थानका, सार्वजनिक र निजी सवारी साधनहरूमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्ने गरिएको ।
३. धेरै प्रयत्नका बाबजुद देवनागरी लिपिमा साक्षरता प्रतिशत बढिरहेको नेपालमा कतिपय सहरी र ग्रामीण क्षेत्रमा समेत अङ्ग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेको अवस्थामा सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी अङ्ग्रेजी रोमन लिपिको मात्र प्रयोग गर्दा सर्वसाधारण नागरिकहरूलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकहरूले सहजै न्याय नपाउने सम्भावना बढी हुने ।
४. सवारी साधनहरूमा नम्बर प्लेट देवनागरी लिपिको नेपाली भाषामा राखेर काम चलिरहेको अवस्थामा उक्त व्यवस्थालाई फेरेर रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर राख्न लगाउने व्यवस्थाबाट राज्यलाई अनावश्यक आर्थिक भार थपिने ।
५. सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठित वर्तमान सरकारले राष्ट्रमा राष्ट्रिय गौरवका महŒवपूर्ण भौतिक निर्माणका आयोजना सञ्चालन गर्नुका साथै राष्ट्रको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र सांस्कृतिक पुनर्जागरणका माध्यमबाट राष्ट्रिय नेपाल प्रज्ञा–प्रतिष्ठानले रोमन लिपिको अङ्ग्रेजी भाषाको प्रयोग गर्ने ।
६. देवनागरी लिपिको नेपाली भाषामा र रोमन लिपिको अङ्ग्रेजी भाषामा समेत इम्बोस्ड नम्बर प्लेट बनाउन मिल्ने किसिमले प्रविधिको विकास गर्नुपर्ने । मानवसमाजलाई प्रविधिमैत्री बनाउनुका साथै प्रविधिलाई समेत मानवमैत्री हुने गरी निर्माण गर्न लगाउनुपर्ने ।
८. संसारका धेरैजसो मुलुकमा सवारी साधनका नम्बर प्लेटमा प्रयोग गरिने भाषिक लिपिमध्ये सुरुमा आफ्नो राष्ट्रको कामकाजको भाषा र त्यसपछि अन्तर्राष्ट्रिय भाषाको प्रयोग गर्ने प्रचलन रहेको ।
उल्लिखित रायका आधारमा हाई सेक्युरिटी भेहिकल नम्बर प्लेटमा देवनागरी नम्बरको प्रयोग गर्न आवश्यक निर्णय र व्यवस्थाका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूले अनुरोध गर्नुभएको छ । उक्त अनुरोधपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीलाई पनि बोधार्थ बुझाइएको नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएकाे छ ।