हरिविनोद अधिकारी | साहित्य | बैशाख ०४, २०७८
देश विकास गर्नका लागि देश हाँक्ने नेतृत्वमा एउटा कल्पनाशीलता हुनुपर्छ र त्यो कल्पनाशीलतालाई योजनामा अनुवाद गरेर कार्यान्वयन गर्ने तदारुकता हुनुपर्छ । विश्वमा जुन जुन देशहरू विकसित मानिएका छन्, ती सबै एक दिनमा बनेका होइनन् । त्यसका लागि धेरैको त्याग, बुद्धि र मेहनतको सम्मिश्रण रहेको हुन्छ । कल्पना पनि त्यस्तो गर्नुपर्छ जसलाई कार्यान्वयन गर्नका लागि आधार पनि होस् ।
मैले घुमेका देशहरूमध्ये जुन जुन देशहरूलाई आजको विश्वमा विकसित भन्ने मानिन्छ, ती देशहरूको विकासले मानवीय आवश्यकता पूरा गर्नका लागि जनतालाई केन्द्र विन्दुमा राखेको पाइन्छ । जनता के चाहन्छन् भन्ने कुरालाई प्राथमिकतामा राखिएको हुँदो रहेछ । चाहे त्यो विकास यातायातमा भएको होस् या भवनमा, या कृषिमा (खाद्यान्नमा या फलफूलमा,पशुपालनमा) । अरु त अरु घाँस उत्पादन गरेर भए पनि अर्थोपार्जन गर्ने देशहरू पनि रहेछन्, काठ उत्पादन गरेर बेच्ने अनि जति रुख काटिन्छ, त्योभन्दा बढी लगाएर हराभरा पार्ने पनि रहेछन् ।
युरोपमा रबर हुँदैन, उखु हुँदैन भनेर हामीले विद्यार्थी हुँदा पढेका थियौँ । सायद अहिले पनि हुँदैन होला तर संसारका देशहरू एक अर्का देशसँग यति निर्भर हुँदा रहेछन् कि एउटाको कमी अर्कोले पूरा गरेर भए पनि मुलुकलाई जनताका आवश्यकता पूरा गर्न लागेकै हुँदा रहेछन् । मेरो विचारमा करिब ७० प्रतिशत भाग बन्जर हुँदा पनि र हिमाच्छादित प्रदेशहरूको कारण हुँदा पनि आज चीनले आफूलाई खाद्यान्नमा आत्मनिर्भर गराएको छ । यसका लागि त्यो देशको कल्पनाशीलताका आधारमा गरिएको अनुसन्धान र चिनियाँ जनताको कडा परिश्रम नै मुख्य कारण हुनुपर्छ ।
आज कल्पनाले पनि नभ्याउने गरी यातायातको विकास गरेको छ चीनले । चीन र जापानको यातायातको विकास देखेपछि युरोपको यातायात पुरानो आधारशिलामा रहेको भए पनि र पुरानो विकासको निरन्तरता भए पनि रेलको गति त अझै पनि चीनले नै जितेको छ र रेलको सञ्जाललाई सायद अब कसैले उछिन्न सक्ला । यसको पछिल्तिरको कारण भनेको विकासप्रतिको अठोट हो र जनताको उत्साही सहयोग पनि हो । चीनको राजनीतिक व्यवस्थालाई चीनले आफ्नो स्थिरताको कारण मानेको छ जसलाई बाँकी विश्वले आलोचनात्मक तरिकाले हेरेको छ र पनि जुन गतिमा चीनले भौतिक विकासलाई विश्वसामु प्रस्तुत गरेको छ र आफ्ना जनताको जीवनस्तर उठाउन सकेको छ , त्यसको प्रशंसा गर्नैपर्छ ।
चीनमा रेल यातायातको यतिसम्म विश्वसनीयता छ कि सम्भवतः जाने र पुग्ने समयको मिनेट पनि फरक पर्दैन र गति त झन् भन्नै परेन । त्यसो त सबै रेलको अवस्था त्यस्तो छैन होला र पनि केही विशेष रेलको व्यवस्था यस्तो छ कि सायद ती विमानभन्दा पनि महँगा पनि हुन सक्छन् र समयका कारणले धेरै यात्रीको रोजाइ गतिवान् रेल नै हुँदा रहेछन् । मैले पनि त्यस्तो रेल पेइचिङदेखि सुचाउसम्मको यात्रामा चढेको छु । त्यसमा औसत गति ३५० किलोमिटर प्रतिघण्टा भन्दा बढी थियो जबकि त्यसको गति ४०० किलोमिटर प्रतिघण्टा भन्दा बढी हुनुपर्थ्यो रे !
भारतसँग हामी एक रोपनी, एक बिघाका जमिनका लागि विवादमा छौँ कतिपय ठाउँमा । अहिले पनि सीमा विवादले समाधान पाइसकेको छैन तर चीनले कुनै पनि सीमामा देखिन विवादका लागि तत्कालै समाधानको उपाय खोज्छ र संवादलाई आधार मानेर विवाद सुल्झाउने काम गर्छ ।
आज किन ढिलो भयो भनेर आयोजकले हाम्रा पथप्रदर्शकलाई सोधेका थिए र उनले भनेकी थिइन् कि आज गति कमै गरिएको थियो किनभने तोकिएको समयमा रेल चलेको थियो र तोकिएको समयमा रेलले हामीलाई सुचाउमा पुर्याएको थियो । सन् २०१४को जुन महिनाको अन्त्यतिरको कुरा हो । सायद केही समय पहिले त्यस्तै गतिशील रेलको दुर्घटना भएकाले गति सीमित गरेर चलाएको हो कि जस्तो लाग्यो । कसलाई सोध्नु र एक प्रकारले स्वचालित जस्तै रेल थियो । रेलमार्गलाई सुरक्षितसँग तयार गरिएको र कतिपय ठाउँमा रेलमुनिबाट गाडीहरू गुडेको देखिन्थ्यो । त्यो मोडेल मैले गुजरातमा पनि देखेँ ।
सुचाउ तलाउहरूको सहर रहेछ । त्यो सहर औद्योगिक सहरको रुपमा पनि गणना गरिँदो रहेछ । हामीलाई त्यहाँ सिङ्गापुरको सहकार्यका बनेको औद्योगिक प्रदर्शनी स्थल देखाइएको थियो । म २०१४ को जुनमा चाइना फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्टको-सीएफपीडी-आयोजनामा पछिल्लो पटक चीनमा गएको थिएँ । त्यो भन्दा पहिले १९९०को एघारौँ एसियाली खेलकुद महोत्सवमा पुगेको थिएँ । त्यो बेलामा खेल हुने पेइचिङ्मा मात्र बसिएको थियो खेलगाउँमा ।
पछिल्लो पटकमा, त्यो एउटा न्यु मिडियाको चिनियाँ विकास र त्यसको प्रयोगका बारेमा गरिएको कार्यशालासहितको सेमिनार थियो । चीन हाम्रो छिमेकी मात्र होइन, चीन त संयुक्त राष्ट्रसंघको भिटो शक्ति राष्ट्र पनि हो र आफ्ना अनुभवहरू विश्वका अरु देशहरूसँग साझा गर्ने र सहयोग गर्ने पनि उसको कर्तव्य हो भन्ने ठानेर यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू गरिरहेकै हुन्छ । तर त्यो वहुदेशीय कार्यक्रम नभएर नेपालका सञ्चारकर्मी र नेतृत्वदायी व्यक्तित्वहरूका लागि विचार आदान प्रदान कार्यक्रम थियो । हामी नेपाली सञ्चारकर्मीहरूको मात्र कार्यशाला थियो । त्यसको नेतृत्व पूर्व सञ्चार मन्त्री तथा शिक्षा मन्त्री माधवप्रसाद पौडेलले गर्नुभएको थियो । माधव पौडेलजी नेपाल सरकारको सचिवबाट निवृत्त हुनु भएको थियो र खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदाको सरकारमा मन्त्री हुनु भएको थियो ।
वास्तवमा हामी सबैको अगुवा त वरिष्ठ पत्रकार किशोर श्रेष्ठ नै हुनुहुन्थ्यो । मलाई थाहा छैन, म कसरी छानिएँ तर मलाई किशोरजीले नै खबर गर्नु भएको थियो । म आमाको १३ दिनको काम सकेर एक्लै आमालाई सोचेर बसिरहेको थिएँ साँझतिर, अचानक फोन बज्यो, मैले फोन नम्बर तिर नहेरीकनै नमस्कार भने । एकै चोटि सोधियो- हरिजी, तपाईँसँग पासपोर्ट त छ नि ? मैले भनेँ -छ । अनि भनियो - त्यसो भए यो हप्ताभित्र मलाई तपाईँको पासपोर्ट ल्याइदिनुस् र एउटा फाराम पनि भर्नुस् भिसाका लागि । मैले साँच्चै भनुँभने त्यो स्वर चिनिन र सोधेँ -को बोल्नु भएको हो ? फेरि सोधियो - हरिजी होइन र ? मैले भनेँ -हो नि । म किशोर श्रेष्ठ । अनि मैले सोधेँ - केका लागि पासपोर्ट किशोरजी ? उहाँले भन्नुभयो -नेपाल चीन पत्रकार संस्थाले तपाईँलाई चीनको एउटा न्यु मिडियासम्बन्धी २ हप्ते सेमिनारमा लैजान सिफारिस गरेको छ र त्यो सिफारिस स्वीकृत भएको छ । निम्तो पनि प्राप्त भएको छ । म पनि जाने हो, नेतृत्व पूर्व मन्त्री माधव सरले गर्नु हुनेछ । अब भिसाका लागि प्रक्रिया अघि बढाउनु पर्ने भएकाले तपाईँको पासपोर्ट मलाई जनआस्थाको अफिसमा ल्याइदिनुस् न । अनि भन्नुभयो -प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीजी, वरिष्ठ पत्रकार तीर्थ कोइरालाजी, वरिष्ठ पत्रकार चन्द्रकिशोरजी र अरु धेरै पुराना पत्रकार र नयाँ पत्रकारहरू हुनुहुन्छ । र तपाईँ पनि त्यो समूहमा हुनुहुन्छ । त्यो बेलामा किशोरजी प्रेस काउन्सिलको सदस्य मात्र हुनुहुन्थ्यो ।
पहिलेदेखि सञ्चारकर्ममा लागेको ठानेर र विश्वासका आधारमा उहाँले मेरो नाम सिफारिस गर्नु भएको रहेछ । त्यसमा वरिष्ठ पत्रकारहरू महेन्द्र विष्टजी , निर्मला शर्माजी, गोपाल खनालजी, अनिल शर्माजी हुनुहुँदो रहेछ । पत्रकारहरू श्रीलाल साह, गोविन्दप्रसाद भट्टराई, सुजाता ढुङ्गाना र श्वेता(?) सङ्ग्रोला जस्तो लाग्छ, मैले ठ्याक्कै नाम बिर्सेँ (उहाँ कानुनी पत्रकारितामा रुचि राख्नुहुन्थ्यो), थियौँ हाम्रो समूहमा । सामान्यतया बहसमा सक्रियरुपमा भाग लिनेमा महेन्द्र विष्ट , गोपाल खनाल र सङ्ग्रौला नै हुनुहुन्थ्यो । माधव सर पनि बहसमा सक्रिय हुनुहुन्थ्यो र पूर्व सचिव तथा मन्त्रीसमेत भइसकेकाले नेपाली नीतिका बारेमा उहाँले जानकारी दिनुहुन्थ्यो । पदीयरुपमा मन्त्री भइसकेको भए पनि माधव सरका एकदम मिलनसार हुनुहुँदो रहेछ । पदीयरुपमा प्रेस काउन्सिलको अध्यक्ष नै भए पनि बोर्णजी पुरानो साथी नै हुनुहुन्थ्यो । उहाँ पहिले प्रगतिशील विद्यार्थी संगठनको अध्यक्ष भए देखि नै म चिन्थेँ । अनिलजीलाई पत्रकारभन्दा पनि वाम विश्लेषक तथा राजनीतिज्ञको रुपमा बढी चिन्थेँ तर उहाँ लेखक तथा पत्रकार पनि हुनुहुन्थ्यो । चन्द्रकिशोरजी चर्चित पत्रकार नै हुनुभयो । अरु सबै साथीहरू आफ्ना आफ्ना क्षेत्रमा काम गर्ने नै हुनुहुन्थ्यो । गोविन्दजी पाल्पामा बसेर पत्रकारितालाई निरन्तरता दिने युवा पत्रकार हुनुहुन्थ्यो भने सुजाताजी उदयपुरमा बसेर काम गरिरहनु भएको थियो । महेन्द्रजी त्यो बेलामा सायद पत्रकार महासङ्घको अध्यक्ष हुनुहुन्थ्यो कि जस्तो लाग्छ या त त्यसपछि पत्रकार महासङ्घको अध्यक्षमा निर्वाचित हुनुभयो क्यारे !
चीनका लागि त्यो मेरो दोस्रो भ्रमण थियो किनभने १९९०मा खेलकुद पत्रकारको रुपमा चीनको भ्रमण गरिसकेको थिएँ । यसरी पेइचिङ्, सुचाउ र साङ्हाई या साङ्घाइ जे भनौँ, त्यसको पनि अवलोकन भ्रमण राखिएको रहेछ । खासमा साङ्हाईको कार्यक्रम भनेको समापन र कार्यशालाको पुनरावलोकनका लागि रहेछ । तर हामीले साङ्हाईका टेलिभिजन स्टेसनहरूको पनि भ्रमण गरेका थियौँ अनि विश्वभर चिनियाँ सामान निर्यात गर्ने ठाउँको पनि अवलोकन गराइएको थियो । सञ्चार प्रतिष्ठानहरूको विकास यस प्रकारले गरिएको रहेछ कि अब के विकास गर्न बाँकी रहेको होला भन्ने लाग्थ्यो । तर मैले त्यहाँ कार्यरत पत्रकारहरूमा, सञ्चारकर्मीहरूमा त्यो जाँगर देखिन, छिटोभन्दा छिटो समाचार पस्कने जाँगर मैले अनुभव गरिन ।
हुनसक्छ, भाषाका कारणले त्यो सम्प्रेषित हुन नसकेको होस् ममा । या समाचारहरू सबैजसो कम्युनिस्ट पार्टीको निर्देशन र सम्पादनमा प्रसारण र प्रकाशन गर्नुपर्ने हुनाले प्राप्त समाचारले त्यो जाँगर नपलाएको होस् । मलाई लाग्यो अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गरेको मेरो देशका सञ्चारकर्मीहरूलाई नियन्त्रित समाचारका श्रोतहरूमाथि र निर्देशित समाचार विचारका श्रोतहरूमाथि धेरै बहस गर्नु पनि थिएन । चीनका अन्तरक्रियामा आउने विद्वानहरू तथा सञ्चार प्रशासक तथा प्राध्यापकहरूले जहिले पनि भन्ने एउटा कुरा याद आउँछ- चीनको प्रजातन्त्र आफ्नै विशेषताको छ , चीनको मानव अधिकारको आफ्नै मापन छ र त्यो प्रणाली अरु देशसँग र पश्चिमासँग मिल्नुपर्छ भन्ने छैन । चीन सम्पन्न हुन चाहन्छ र विश्वका अरु विपन्न देशहरूको साथी भएर सँग बाँच्न चाहन्छ ।वास्तवमा चीन सम्पन्नताको रेखामा पुगेको देखिन्छ र १९९०मा देखेको चीनको जीवनस्तरभन्दा धेरै माथि उठेको पाएँ मैले ।
हामी पेइचिङमा रहँदा रेनमिन विश्वविद्यालयको हातामा रहेको होस्टेलमा बस्यौँ । त्यो होस्टेल भन्नु मात्रै थियो, पाँचतारे होटेलको सम्पूर्ण सुविधा थियो । त्यही विश्वविद्यालयको पत्रकारिता विभागको पनि अवलोकन गरेका थियौँ । हाम्रो भ्रमणको लगत्तै जस्तो फुटबलको विश्वकप हुँदै थियो र विश्वविद्यालयको पत्रकारिताको ल्याबबाट नै प्रत्यक्ष प्रसारण गर्ने तयारी हुँदै थियो । रेनमिन विश्वविद्यालय नै त्यसको सह आयोजक जस्तै थियो । हाम्रो सम्पर्कमा फाउन्डेसनका चि फिङ् हुनुहुन्थ्यो सायद उहाँ फाउन्डेसनका उप महासचिव हुनुहुन्थ्यो त्यो बेलामा र सुनिएको थियो उहाँ चीनका राष्ट्रपति सिचिनफिङ्का विश्वासपात्र पनि हुनुहुन्थ्यो ।
हामीलाई चीनमा भइरहेको भ्रष्टाचार विरोधी अभियानका बारेमा भिडियोमार्फत सम्झाइएको थियो र भिडियोमा पार्टीका नेताहरूको जीवनस्तर बढ्न थाल्नुमा भ्रष्टाचारको गन्ध आउने कुरा देखाइएको थियो । त्यसपछि चीनमा भ्रष्टाचारका विरुद्धमा धेरै ठुलो अभियान चलाइएको छ र धेरै माथिल्लो तहका नेताहरूलाई समेत कारबाही गरिएको सुनिन्छ । जुन दलको सरकार छ, दलले नै सरकार चलाउँछ अनि करोडौँ कार्यकर्ता र सदस्यहरू दलमा र दलका लागि सरकारको सञ्चालन गर्छन्, त्यहाँ निष्पक्षताका साथ कारबाही गरिन थाल्नु नै ठुलो कदम थियो । धेरै कुरा बाहिर आउँदैन र पनि चीन माओको बेलामा जस्तो गुम्सेको जस्तो पनि लागेन र पूर्ण अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्न दिएको जस्तो पनि लागेन । प्रत्यक्ष निर्वाचनबाट सरकार बन्ने र विश्वव्यापी मानव अधिकारका व्यवस्थाको मान्यताले पूर्णता नपाउन्जेलसम्म, पाउने अवस्था नहुन्ज्यालसम्म चीनमा निष्पक्ष प्रशासन भए पनि त्यसले विश्वको स्वतन्त्रताको परिभाषासँग मिलान भएको मानिने छैन भन्नेहरू चीनमा पनि रहेछन् ।
रेनमिन विश्वविद्यालयका आम सञ्चारका एक जना प्राध्यापक जसले भर्जिनिया विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएको थियो, उहाँले भन्नुभयो-आजको चीनले धेरै प्रश्नहरूको जबाफ दिनै पर्छ र आजको चीनको विकासको आधार भनेको विद्युतीय सञ्चारको विकास नै हो, आजको औद्योगिक विकास र आर्थिक क्रान्तिको जग । यो विकासका लागि इन्टरनेटको ठुलो योगदान छ । चीनका लागि इन्टरनेट वरदान पनि हो र खुला आकाशतर्फको पाइला नचाल्ने हो भने यो नै समाज विखण्डनको अभिशाप पनि हुनसक्छ किनभने आजको युगमा सूचनालाई सीमितता गर्न सकिएला तर बन्देज लगाउन सकिँदैन ।
चीनले नेपालप्रति देखाउने उदारता भनेको समानताको सिद्धान्तमा हो । हामी चीनका अघिल्तिर धेरै सानो देश हौँ र हाम्रो अर्थतन्त्र पनि अत्यन्त सानो अङ्कमा देखिन्छ चीनमा लागि तर चीनले नेपाललाई समस्यारहित देश र असल छिमेकीको रुपमा मान्दछ । मलाई चीनको सबैभन्दा ठुलो उदारता भनेको नै सगरमाथाको दक्षिण मोहडा जुन चुचुरो संसारमा सबैभन्दा अग्लो छ (अहिले त्यसको उँचाइ ८८४८.८६ मिटर पुगेको छ) , त्यो चुचुरो नेपाललाई दिन/ मान्नु नै हो ।
भारतसँग हामी एक रोपनी, एक बिघाका जमिनका लागि विवादमा छौँ कतिपय ठाउँमा । अहिले पनि सीमा विवादले समाधान पाइसकेको छैन तर चीनले कुनै पनि सीमामा देखिन विवादका लागि तत्कालै समाधानको उपाय खोज्छ र संवादलाई आधार मानेर विवाद सुल्झाउने काम गर्छ । नेपालजस्तो सानो देशले गरेको दाबीका आधारमा संसारको सबैभन्दा अग्लो टाकुरो नेपालको भनेर मान्यो । यो अति सम्मानजनक अवस्था हो । हुन त महान् राजनीतिज्ञहरू चीनमा अध्यक्ष माओत्सेतुंग र नेपालका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सुझबुझपूर्ण कूटनीति र स्पष्ट धारणाका कारणले त्यो सम्भव भएको थियो ।
आज पनि चिनियाँ राजनीतिक तथा कूटनीतिक क्षेत्रमा बिपीप्रतिको सद्भाव अत्यधिक छ । त्यो भनेको नेपालको एक चीनप्रतिको निरन्तर समर्थन हो । चीन जहिले पनि के कुरामा सतर्क छ भने उसको दक्षिणी सीमाको पश्चिम तर्फ रहेको स्वायत्त प्रदेश तिब्बत नेपाल र भारततर्फ खुला सीमामा छ । नेपालका जनता पनि चिनियाँ जस्तै भेसभुसाका छन् र तिब्बतको भूराजनीतिक परिस्थितिमा नेपालको खुला सीमाको दुरुपयोग गरी चीनमा कुनै अस्थिरता उत्पन्न नहोस्, त्यस्तो दुष्प्रयास हुन नपाओस् । त्यसका लागि नेपालमा बेला मौकामा देखिने तिब्बत पक्ष धरताप्रति नेपाल कठोर होस् । त्यस्तो प्रयास गर्नेहरूलाई नेपालले प्रश्रय नदेओस् । हाम्रै कार्यशालामा एक जना तिब्बतमा दशकौँसम्म चीनका तर्फबाट प्रशासक बनेर बस्नु भएका माओ नामका पुराना तिब्बतविद् आउनु भएको थियो र उहाँसँगै तिब्बतोलोजिस्टका रुपमा एक जना भद्र महिला पनि हुनुहुन्थ्यो ।
महिलाले नेपाल र तिब्बतका बिचमा रहेको पुरातन सम्बन्ध, कला, साहित्य, धर्म र संस्कृतिका बारेमा व्याख्या गर्नुभयो तर पूर्व प्रशासकले भने नेपालबाट तिब्बतको सुरक्षामा पर्न सक्ने सम्भावनाका बारेमा बोल्नु भएको थियो । उहाँले आफू अध्यक्ष माओको सन्देश लिएर राजा महेन्द्रसँग पनि भेटेको बताउनु भएको थियो । हामीले के कुरामा सदैव आफूलाई चनाखो राख्नु पर्ने ठान्यौँ भने चीनमा तिब्बतका बारेमा धेरै कुरा गरेको मन पर्दैन , त्यसैले चीनको आन्तरिक मामिला , बाह्य मामिलाका बारेमा छलफल गर्दा तिब्बतको स्वतन्त्रताका बारेमा र उइगुर जातिका बारेमा कुरा उठाउनु हुँदैन । तिब्बतविद्हरूसँग छलफलको क्रममा दोहोरो संवादको पनि बेला आयो । हाम्रा साथीहरूलाई हामी बुढा पत्रकारहरूले सधैँ भन्थ्यौँ कि चीनले हङकङ त फिर्ता लियो तर ताइवानचाहिँ अलग्गै छ र विश्वले तिब्बतलाई हडपेको ठान्दछ, त्यसैले एक चीनका बारेमा बाहेक अरु कुरा नगर्ने । त्यो त बुझेकै कुरा थियो तर दोहोरो सवाल जबाफका बेलामा हाम्रा दुई जना युवा पत्रकारहरूले सोधे - नेपालमा रहेका तिब्बती शरणार्थीहरूलाई चीनले कहिलेसम्म चीनमा फर्काउला ? वास्तवमा चीनले तिब्बतमा आफ्नो सम्पूर्ण प्रशासनिक अधिकार स्थापित गरेपछि दलाई लामाको निर्वासन भयो र पश्चिमाहरूले चीनले तिब्बतलाई कब्जा गरेको ठहर्याए ।
आजसम्म पनि भारतमा तिब्बतको निर्वासित सरकार छ र दलाई लामाको अस्तित्व मान्नेहरूले स्वतन्त्र तिब्बतको नारा लगाउने पनि गरेका छन् । नेपाल तिब्बत चीनकै हो भन्नेमा छ , भारत पनि चीनकै हो तिब्बत भन्नेमा त छ तर भारतमा नै दलाई लामा निर्वासनमा हुनुहुन्छ अनि स्वतन्त्र तिब्बतको निर्वासित सरकार पनि भारतमै छ । दलाई लामाको निर्वासनपछि धेरै तिब्बतीहरू खुला सीमाका कारणले विकट हिमालय पार गरेर नेपाल प्रवेश गरे । कति त भारततिर गए तर धेरै नेपालमा नै बसे । तिनलाई नेपालमा तिब्बती शरणार्थीको रुपमा अझसम्म लिइन्छ । न चीन सरकारले ती चिनियाँ भनेर स्वीकार गरेको अवस्था छ , न तिनले नेपालमा स्थायी बासका लागि ठाउँ नै पाउने आधार छ । कति त अहिले तेस्रो देश गएर उतै बसेका छन् कोही क्यानडा, कोही अमेरिका त कोही युरोपमा छन् तर अझसम्म पनि ती चिनियाँहरू जे आफूलाई तिब्बती मात्र मान्छन् घरका न घाटका भएका छन् । तिनलाई सम्बोधन कसरी होला भन्ने हाम्रा पत्रकारको प्रश्नमा पूर्व प्रशासक माआले गम्भीर भएर सोच्दै भने-ती त अपराधी हुन् । ती चिनियाँ होइनन्, ती देशद्रोही हुन् र तिनको फिर्ताको प्रश्नै उठ्दैन । कोही पनि शरणार्थी छैनन् नेपालमा चीनका ।
हामीले जे अनुमान गरेका थियौँ चिनियाँहरू तिब्बतका बारेमा गरिने कुनै पनि नकारात्मक टिप्पणीप्रति असहिष्णु हुन्छन् भन्ने ठ्याक्कै थाहा भयो नै । अझ त्यो त अन्तर्क्रिया मात्रै थियो छलफलका बिचमा उठेका कुराहरूको सवाल जबाफ । त्यस्तो ठाउँमा त त्यस्तो जबाफ आउँदो रहेछ भने साँच्चै कूटनीतिक तथा राजनीतिक छलफलमा तिब्बतका बारेमा उठ्ने कुनै पनि कुरामा चीन कति असहिष्णु हुने रहेछ त ? अहिले पनि दलाई लामालाई विश्वका कुनै पनि देशमा स्वागत गर्नका लागि त्यो देशले चीनको प्रतिक्रिया बुझ्छ । युरोप र अमेरिकालाई समेत चीनले तिब्बतका मामिला र उइगुर मामिलालाई आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप ठान्दछ । लुम्बिनी संसारमा बुद्ध धर्मावलम्बीहरूका लागि पवित्र ठाउँ हो बुद्ध जन्मका कारणले । नेपालमा आएर लुम्बिनीको दर्शन गर्ने दलाई लामाको इच्छा सायदै पूरा होला जबसम्म दलाई लामाको निर्वासित सरकार रहन्छ र स्वतन्त्र तिब्बतको नारा रहन्छ । हामी नेपालीहरूले दलाई लामालाई एउटा धार्मिक गुरुमात्र यस कारणले मान्न नसक्ने अवस्था आउने रहेछ जबसम्म चीन र दलाई लामाका बिचमा समन्वय हुँदैन र सहमति हुँदैन ।
नेपाल त्यसैले चीनका लागि अत्यन्त महत्त्वपूर्ण रणनीतिक साझेदार पनि हो , एउटा असल छिमेकी पनि हो र एक चीन नीतिको सच्चा सहयोगी पनि हो । सम्भवतः नेपालबाट बिपी कोइरालाले संयुक्त राष्ट्र सङ्घमा मूल भूमि चीनको संयुक्त राष्टसंघमा प्रतिनिधित्व आवश्यक छ भनेर बोल्नु भएको थियो । दोस्रो विश्वयुद्ध पछि गठित संयुक्त राष्टसंघमा ताइवानले प्रतिनिधित्व गरेको थियो चीनमा कम्युनिस्टको राज्य स्थापना भएपछि । १९७१ मा मात्र चीनको मूल भूमिले मुख्य चीनले संयुक्त राष्ट्र सङ्घमा स्थान ग्रहण गरेको । त्यसैले चीन र नेपालको सम्बन्ध सदैव समस्यारहित छ । मौन कूटनीति गर्ने र अर्काको देशमा सकेसम्म हस्तक्षेप नगर्ने नीति लिएको चीनमा तर अचेल केही परिवर्तन देखिन थालेको छ, त्यसको कारण हुनसक्छ चीन अब पहिलो अर्थतन्त्र उन्मुख हुँदै छ र तीव्र गतिको आर्थिक विकासको प्रतिफल अरु देशहरूसँग पनि साझा गर्न चाहन्छ । खुला समाज र वहुलवादी प्रजातन्त्र भएका विश्वका देशहरूले चीनलाई मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा कमजोर एकदलीय संस्कार भएको देश भनेर भन्दासम्म पश्चिमा देशहरू र चीनका बिचमा मतभेद रहिरहने देखिन्छ । तर नेपालका लागि भने चीन समस्यारहित छिमेकी हो र नेपाललाई अत्यन्त माया गर्ने शक्ति राष्ट्र पनि हो ।
चीन भ्रमणका अरु पनि रोचक प्रसङ्गहरू छन् । म दोस्रो पटकको चीन भ्रमणमा जाँदा आमाको बरखीमा थिएँ सेता लुगामा । समस्या थियो के खाने हो ? चीनमा मासुको प्रयोग अत्यन्तै हुन्छ जेमा पनि मासुको सहज प्रयोग गरिन्छ जबकि मैले त्यो बेलामा मासु यसै पनि खान्न थेँ र मासु सामान्य अवस्थामा पनि छोडेको थिएँ । आमाले बाको बरखी भएपछि भन्नुभयो -मेरो पनि अन्तिम अवस्था हुँदै छ र म चाहन्छु मेरो जेठो छोराले मासु छोडोस् । उहाँ श्रीकृष्ण प्रणामी हुनुहुन्थ्यो । उहाँले मलाई सिधै प्रणामी धर्म मान्नका लागि त केही भन्नुभएन तर उहाँले मासु नखाए हुने भनेर भन्नु भएपछि आमाको आदेश सम्झेर मांसाहारी छोडेँ ।
चीनमा चिकेन, पोर्क र बिफको सामान्य प्रयोग हुने कुरा पहिलो चीन भ्रमणमा नै मलाई थाहा थियो । बरखी एकातिर बार्ने अनि अर्कोतिर मासुसँग जोगिनु पर्ने । त्यसो त मलाई मासु खानेसँग कुनै गुनासो रहेन तर आफू कसरी मांसाहारीबाट जोगिनु भन्ने पनि रह्यो एकातिर भने त्योबाहेक कसरी आहारको जोहो गर्ने भन्ने पनि रह्यो । टेबुलमा भात राखेको छ, त्यसको माथि कुखुराको फुल कमलको फूल आकारमा सजाएर राखेको छ । मासुका विभिन्न परिकारहरू छन् एउटै टेबुलमा राखिएका । बिहान त ठिक थियो खाजा आफैँले छानेर खाइन्थ्यो शाकाहारी परिकार तर लन्चमा त एउटै टेबलमा राखिएका परिकारमध्येबाट खानु पर्ने । अनि भान्सामा गएर मैले अनुरोध गरेँ-मलाई भातमात्र दिनुस् अनि सागमात्र दिनुस् बेग्लै ।
विश्वविद्यालयको रेस्टुराँ भएकाले सेफहरूले मेरा कुरा माने र मलाई सिङ्गै उसिनेको साग नुन हालेर उसिनेर दिन थाले । दुई छाक त मैले सागमात्र उसिनेर खाएँ अनि भातको मेलो परेपछि साग, दही र भात खान थालेँ किनभने आयोजकले मेरालागि मात्र भनेर योगर्ट लिएर आउन थाले । रेनमिन विश्वविद्यालयमा परिसर भएकाले बिहान बेलुका घुम्ने ठाउँ थियो । खास गरी बिहान त समय नै हुँदैनथ्यो, चीनमा लन्च १२बजेपछि हुने तर डिनर साँझ ५ बजे नै गर्ने चलन रहेछ । साँझ के भन्नु र ? दिउँसै डिनर हुन्थ्यो । सबै नेपाली पत्रकारहरू र चिनियाँ सहयोगी साथीहरूसमेतको सहभागितामा खाँदा रमाइलो हुन्थ्यो । हाम्रो दोभासे थिइन् म्याडम फिनिक्स । उनको चिनियाँ नाम के थियो त बिर्सेँ तर दोभासे अंगेजी जानेका हुने भएकाले उनीहरूको नाम अङ्ग्रेजी झल्काउने खालको हुने रहेछ ।
अझ चीनमा केटीहरूले बोलाउने नाम पश्चिमा खालको राख्ने रहेछन् जस्तै रोजी, लिली । हामीलाई एक जना भद्र तर कम बोल्ने साथी थिए मिस्टर वाङ् । पछि पो थाहा भयो उनी त सेनाका कर्नेल पो रहेछन् हाम्रो सुरक्षाका लागि किनभने हामीसँग पूर्व मन्त्री पनि हुनुहुन्थ्यो नि त ! दोभासेलाई समस्या कहिले पर्थ्यो भने जब चिनियाँ वक्ताले लामो चिनियाँ भाषामा कुरा भन्नुहुन्थ्यो अनि उनले हामीलाई अङ्ग्रेजीमा भन्नु पर्ने हुन्थ्यो । हामी जुन दिन फाउन्डेसनको कार्यालयमा गयौँ अन्तरक्रियाका लागि, त्यसका अध्यक्ष चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो र उहाँको भाषणलाई अनुवाद गर्दा भने दोभासे बहिनी अलि डराएको जस्तो लाग्थ्यो । अनि उहाँले उनको अङ्ग्रेजी अनुवाद पछि थपेर भन्न सिकाउनु हुन्थ्यो । त्यसो हुनुमा वक्ताको पदीय गरिमाका कारणले पनि हुनुपर्छ जुन हामी सञ्चारकर्मीहरूलाई महसुस हुन्छ जब हामी पदीय दायित्व हुने व्यक्तिसँग अन्तर्वार्ता गर्न थाल्छौँ या उद्घोषण गर्न थाल्छौँ । त्यो नर्भसपन मैले दोभासेमा पाएँ । क्रमशः