लोकसंवाद संवाददाता | समाचार | बैशाख ०५, २०७८
कास्की । भाषा सङ्घ नेपालको आयोजनामा २०७८ वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पोखरासहित गण्डकी प्रदेशका विभिन्न जापानी भाषा स्कूलमा जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीको भाषा तथा जापानी सांस्कृतिक ज्ञानको विकासको लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको भाषा सङ्घ नेपालका संस्थापक अध्यक्ष युवराज खनालले जानकारी दिनुभयो ।
जापानी राजदूतावास, काठमाडौँ र जापान फाउन्डेशन, जापानले सहयोग गरेको प्रतियोगितामा प्रदेशभित्रका विभिन्न जापानी भाषा स्कुलबाट छनोटमा परेका १९ जना प्रतियोगीले प्रतिष्पर्धा गर्ने भाषा सङ्घ नेपालका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ नगदसहित पुरस्कृत हुनेछन् ।
नेपाल शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सम्पूर्ण पादण्ड पूरा गरी पोखरामा सञ्चालनमा आएका ४१ वटा परामर्श तथा जापानी भाषा प्रशिक्षण दातृ संस्थाको छाता सङ्गठनका रुपमा भाषा सङ्घ नेपाल क्रियाशील बनेको सङ्घका महासचिव मोतीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सम्पूर्ण प्रक्रिया पुर्याएर पनि जापानमा अध्ययनका लागि जान लागेका ठूलो सङ्ख्याका विद्यार्थी कोरोनाका कारण रोकिनुपरेको बताउँदै सङ्घका संस्थापक अध्यक्ष खनालले यसतर्फ राज्यको चासो पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।