लोकसंवाद संवाददाता | समाचार | बैशाख ०६, २०७८
तनहुँ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फको जग्गा अधिग्रहणको काम अगाडि बढाएको हो ।
प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि २३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको प्रक्रिया शुरु भएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । जग्गा अधिग्रहण बापत आयोजनाले एक करोड ३१ लाख ३४ हजार पाँच सय १० मुआब्जा वितरण गर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मुआब्जा निर्धारण समितिले जग्गा साथै जग्गामा रहेका रुखबिरुवा, फलफूल तथा नोक्सान भएको बालीनालीको क्षतिपूर्ति रकम लिन आउन सूचना जारी गरेको छ । मुआब्जा निर्धारण समितिको गत पुस १९ गते बसेको बैठकले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझ्न आवश्यक कागजातसहित प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण उपसमितिले चलनचल्तीको मूल्य, मालपोतको दर, स्थानीय तहले मूल्याङ्कन गर्ने आधार, बैङ्कले मूल्याङ्कन गर्ने आधारलाई प्राथमिकतामा राखेर मुआब्जा निर्धारण समितिलाई सिफारिस गरेको थियो । साथै जग्गाभित्र पर्ने फलफूल, बालीनालीको क्षतिपूर्तिका लागि कृषि ज्ञान केन्द्र र रुखबिरुवाको क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालयले मूल्याङ्कन गरेका थिए ।
जोखिमयुक्त परिवार अन्तर्गत आदिवासी, जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिलाई अलग्गै रकम वितरण गरिनेछ । त्यस्तै जग्गा अधिग्रहणका क्रममा जग्गाभित्र पर्ने पाटी, चौतारालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।
मुआब्जा वितरणका लागि न्यूनतम प्रतिरोपनी रु एक लाख ७० हजार र बढीमा रु प्रतिरोपनी २४ लाख निर्धारण गरिएको छ । “जग्गाको प्रकृति हेरी मुआब्जा रकम निर्धारण भएको छ, कहीँकतै प्रतिरोपनी रु तीन लाख ८० हजार पनि कायम भएको छ,” आयोजना प्रमुख घिमिरेले भन्नुभयो ।
प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ । “मुआब्जा रकम लिन आउन सूचना जारी भइसकेको छ, सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित प्रशासन कार्यालयमा सम्पर्क गर्न सक्नेछन्,” घिमिरेले भन्नुभयो ।
मुआब्जा रकम लिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपत्रको सक्कल प्रति, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद, बैङ्कको खाता नम्बर, मृत्यु, बेपत्ता, पूर्ण अशक्ततालगायतका असामान्य कारणले गर्दा सम्बन्धित जग्गाधनी स्वयं उपस्थित हुन नसकेमा सोको प्रमाण र जग्गाधनीसँगको नाता प्रमाणितसहित नजिकको हकवालाले सम्बन्धित वडा कार्यालयको निजलाई नै मुआब्जा तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने भन्ने व्यहोराको सिफारिसपत्र ल्याउनुपर्नेछ ।
प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ