एमाले एकढिक्का कि विभाजन ? तिक्ततापूर्ण र शत्रुतापूर्ण सम्बन्धका बिच ओली-नेपाल एक्ला एक्लै भेट !

एमाले एकढिक्का कि विभाजन ? तिक्ततापूर्ण र शत्रुतापूर्ण सम्बन्धका बिच ओली-नेपाल एक्ला एक्लै भेट !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०९, २०७८

 काठमाडौँ । यतिबेला सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधव कुमार नेपाल समूहबीचको संघर्ष तित्ततापूर्ण र शत्रुतापूर्ण बन्दै जाँदा एमालेका दुई समूह अब एकै ठाउँमा बस्न नसक्ने अवस्था देखिरहेकाे छ । २३ फागुनमा सर्वोच्चको फैसलापछि २८ फागुनमा केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठक राखेर आफू अनुकूल कमिटीहरुलाई निरन्तरता दिँदै २३ जना माओवादी केन्द्रका नेताहरुलाई एकलौटी रुपमा केन्द्रीय कमिटीमा थप गर्नुका साथै महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीहरु हटाएपछि नेपाल पक्ष आक्रोशित बनेको हो ।

ओलीले एकलौटी गरेको भन्दै माधव कुमार नेपाल समूहले ४ र ५ चैतमा राष्ट्रिय भेला आयोजना गरेपछि ओली र नेपाल पक्षबीच धुम्बाराहीस्थित पार्टी कार्यालयमा २ चैतमा छलफल भएको थियो । सो छलफलमा ओलीले नेता नेपालसँग एक्लाएक्लै भेट्न प्रस्ताव गरेका थिए । तर नेपालले आफूले मात्रै नभेट्ने भन्दै आफू पक्षधर नेताहरुलाई समेत साथै लिएर गएका थिए । सो भेटमा दुई पक्ष आफ्नै अडानमा कायमै रहँदा नेपाल पक्षको राष्ट्रिय भेलामा सम्बोधनका क्रममा नेता नेपालले ओलीले एक्लै भेट गरेमा अनेकौं आरोपहरु लगाएर भ्रम सिर्जना गर्ने भएकाले आफूले एक्लै ओलीसँग भेट नगरेको बताएका थिए । 

चैतपछि ओली र नेपालपक्षबीच संवाद भएको थिएन । त्यसपछि ओलीले नेता नेपाल र उनी पक्षधर अन्य तीन नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षधरले देशव्यापी रुपमा समानान्तर कमिटीहरु निर्माण गरिरहेको छ । गत सातामात्रै ओली पक्षले कर्णालीमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढलाएर एमालेको सरकार बनाउन खोजेको थियो । तर नेपाल पक्षधर ४ नेताले ‘फ्लोर क्रस’ गरेर शाहीको पक्षमा मत हालेपछि ओली पक्ष झनै आक्रोशित भएको छ ।

नेपाल र ओलीबीच लामो समयदेखि एक्लाएक्लै भेटघाट भएको थिएन । लामो संवादहिनता तोड्दै बुधबार साँझ होटल म्यारियटमा करिब २ घन्टा छलफल भएको छ । यो भेट नेपाल पक्षका २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई ओलीले स्पष्टीकरण सोधेको भोलिपल्ट भएको हो । 

ओलीले मंगलबारमात्रै नेता नेपालसहितका उनी पक्षधरलाई अलग पार्टी बनाएको आरोपसहित स्पष्टीकरण सोधेका थिए । ओलीले स्पष्टीकरण सोधेर नेपाल पक्षका सांसदहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएका बेला बुधबार एकाएक ओली र नेपालबीच भेटवार्ता भयो । यद्यपि भेटबारे दुवै नेताले मुख खोलेका छैनन् । बुधबार नै नेपाल पक्षीय नेता योगेश भट्टराई बालुवाटार पुगेर भेटवार्ता गरेपछि दुई नेताबिच आकस्मिक रुपमा भेट तय भएको हो । नेता भट्टराईले अध्यक्ष ओलीलाई विगतका तितामिठा भुलेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । ओलीले भने आफू यसअघिका निर्णयबाट पछि नहट्ने बताउँदै १० गतेको बैठकमा आउन र सबै कुरामा त्यही छलफल गर्न भनेका थिए । अध्यक्ष ओली र नेता नेपाल होटल परिसरबाट खुसी मुद्रामा बाहिरिएका छन् ।

२ चैतपछि ओली र नेपालपक्षबीच संवाद भएको थिएन । त्यसपछि ओलीले नेता नेपाल र उनी पक्षधर अन्य तीन नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षधरले देशव्यापी रुपमा समानान्तर कमिटीहरु निर्माण गरिरहेको छ । गत सातामात्रै ओली पक्षले कर्णालीमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढलाएर एमालेको सरकार बनाउन खोजेको थियो । तर नेपाल पक्षधर ४ नेताले ‘फ्लोर क्रस’ गरेर शाहीको पक्षमा मत हालेपछि ओली पक्ष झनै आक्रोशित भएको छ ।

कर्णालीपछि अन्य प्रदेश र केन्द्रमा समेत नेपाल पक्षले फ्लोर क्रस गर्न सक्ने भन्दै ओली पक्षले नेपाल पक्षका सांसदलाई कारबाहीको तयारी गरेको छ । त्यसैका लागि मंगलबार संघीय संसदमा रहेका २७ र कर्णालीका ५ जना गरी नेपाल पक्षका ३२ जनालाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणको चित्तबुझ्दो जवफ नआएमा १० वैशाखको बैठकले कारबाही गर्ने सम्भावना रहेको बताइन्छ। तर पार्टीभित्रको विवाद चर्किएका बेला दुई मुख्य नेताबीचको भेटले एमालेलाई एकढिक्का बनाउने दिशामा लैजान्छ कि विभाजनको प्रक्रिया अझै तीव्र बन्छ त्यो भने हेर्न बाँकी छ ।