लोकसंवाद संवाददाता | समाचार | बैशाख ०९, २०७८
काठमाडौं । ग्रामीण बस्ती पुग्ने सवारीमा बर्खा लाग्ने बित्तिकै यात्रुको भीड हुन थाल्छ । खाद्यान्नलगायतका सामग्री गाउँ पु¥याउन भ्याइनभ्याइ हुन्छ । कतिपय गाउँका सर्वसाधारणले वैशाख जेठमै हिउँदसम्म पुग्ने खाद्यान्नलगायत आवश्यकीय जोहोसमेत गर्दछन् ।
किनकी बर्खा लागेपछि अधिकांश ग्रामीण सडकमा सवारी चल्दैनन् । हिउँदभरि धुलाम्य हुने भित्री सडक सामान्य वर्षा हुने बित्तिकै हिलोले भरिन्छन्। पानी नपर्दा धुलोले हिँडिनसक्नु हुने सडक पानी पर्ने बित्तिकै हिलोले भरिँदा ग्रामीण क्षेत्रका सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् ।
ग्रामीण बस्तीमा पुग्ने अधिकांश सडकको विशेषता नै हिउँदमा धुलो र बर्खामा हिलो भएको छ । स्थानीय तह निर्माणपछि बस्तीसम्म पुग्ने सडक निर्माणमा स्थानीय सरकारले यथेष्ट बजेट छुट्ट्याए ।
परिणामतः अहिले कुना कन्दराका बस्तीसम्म सडक पुगेको छ तर ट्र्याक विस्तारमा धेरै बजेट खर्च हुँदा स्थानीय तहभित्रका मुख्य सडकको स्तरोन्नति गर्ने बजेट अभाव हुने गरेको छ भने सीमित बजेटले सडकको स्तरोन्नति सम्भव भएको छैन । स्थानीय तहले प्रयास थाले पनि ग्रामीण सडक समस्याग्रस्त छन् ।
जिल्लाको तुम्बेवा गाउँपालिका–३ का वडाध्यक्ष कमल थापा ग्रामीण सडक हिउँदमा धुलाम्य हुने र बर्खामा हिलोले हिँडिनसक्ने अवस्था सबै क्षेत्रको समस्या भएको बताउनुहुन्छ । तुम्बेवा जस्ता विकट स्थानीय तहका जनताले विशेषतः बर्खामा धेरै समस्या भोग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । चार वर्षअघि हामी निर्वाचित भएर आउँदा जता पनि बाटो खन्नुपर्छ भन्ने माग आए ।
जनताको मागअनुसार सडकको ट्र्याक विस्तारमा लाग्दा स्तरोन्नतिमा पर्याप्त बजेट विनियोजन गर्ने अवस्था रहेन । यद्यपि धेरै ट्र्याक खोलिसकिएकाले आगामी दिनमा सडकको स्तरोन्नतिमा लाग्ने अवसर रहेको वडाध्यक्ष थापा वताउनुहुन्छ । थापाका अनुसार मुख्य सडक सुधार हुँदै गएका छन् । तिनलाई कालोपत्रेको चरणमा अगाडि बढाएका छौँ । प्राथमिकताका आधारमा ग्रामीण सडकको स्तरोन्नति गर्ने उहाँको भनाइ छ ।
हिलिहाङ गाउँपालिका–५ का वडासदस्य राजकुमार पन्थाक अधिकांश कच्ची सडकमा हिलो र धुलोको समस्या रहने गरेको बताउनुहुन्छ । सडकमा खाल्डाखुल्डी पर्ने, पानी जम्ने र हिलो हुने समस्या समाधान गर्न बर्खामा ट्र्याक्टर सञ्चालन रोक्ने नीति कार्यान्वयन गर्दा केही सहज भएको पन्थाकको धारणा छ ।
यो समस्याको न्यूनीकरणका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट कच्ची सडकमा ढुङ्गा सोलिङ गर्ने, नाली निर्माण गर्नेलगायत काम गरिरहेका छौँ । अहिले निर्माण भइरहेका सबै सडकमा अनिवार्य नाली निर्माण गरेर सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन प्रयास गरिरहेका थापाले बताउनु भयो ।
गाउँसम्म पुग्ने अधिकांश सडकमा धुलो र हिलोको समस्या हुने गरेको छ । हिलोका कारण सडक चिप्लो भई बेलाबखत सवारी दुर्घटनासमेत हुने गरेको छ । यहाँ निर्माणाधीन मुख्य सडकसमेत कालोपत्रे नहुँदा मुख्य सडकमै धुलो र हिलोको समस्या हुने गरेको छ । पुष्पलाल (मध्यपहाडी)लोकमार्गको दारिम्बा–चिवाभञ्ज्याङ खण्ड विस्तारको क्रममा छ ।
एकाउन्न किलोमिटरको यो खण्ड कालोपत्रे नहुँदा सर्वसाधारणले धुलो र हिलोको समस्या व्यहोर्नु परिरहेको याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाइ छ । अन्य मुख्य ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन ढुङ्गा सोलिङ गर्ने, नाली निर्माण गर्नेजस्ता कार्य भइरहेको उपाध्यक्ष योङहाङले वताउनुभयो ।
सुदूर बस्तीमा सडक पुगेकाले अब सडकको गुणस्तर सुधारमा लाग्नुपर्ने सर्वसाधारणको जोड छ । हाम्रो विकट गाउँसम्म राम्रो बाटो आएको छ तर अब बर्खामा पनि चल्नसक्ने बनाउन सरकारले सहयोग गर्नुप¥यो माग छ । । वडाले प्राथमिकतामा राखी दुई दर्जन घर भएको तालखर्कसम्म बाटो विस्तार गरेकामा गुरुङ खुशी हुनुहुन्छ ।
जिल्लाको कुम्मायक गाउँपालिकाले ग्रामीण सडक संरक्षणको जिम्मा स्थानीयवासीलाई दिने नीति लिएको थियो । उक्त नीतिपछि सडकको अवस्थामा सुधार आए पनि समस्या पूर्णतः हल हुन भने सकेको छैन ।
सदरमुकाम फिदिमबाट कुम्मायकको यासोक, तुम्बेवाको मौवा, हिलिहाङको सुभाङ–पञ्चमी, फाल्गुनन्दको घुर्विसेपञ्चमी तथा मिक्लाजुङको रवी जोड्ने मुख्य सडक कालोपत्रेको चरणमा अगाडि बढिसके पनि अहिले धुलो र हिलोसँग जुध्नुपर्ने विवशता कामयै छ । यीबाहेक शाखा सडकको अवस्था उस्तै छ । राँके–रबी–भेडेटार सडक, तमोर कोरिडोरलगायत सडकको पनि ट्र्याक मात्रै विस्तार भएको छ । यसबाट सर्वसाधारण धुलो र हिलोको समस्या झेल्न बाध्य छन् ।
धुलो र हिलोले सर्वसाधारणले पाउने दुःखका कथा बेग्लै छन् । बस्तीसम्म सामान र मानिस दुवै बोक्न मिल्ने पिकअप चल्ने गर्दछन् । सवारी साधनको सीमितताले सर्वसाधारणसँग झुण्डिएर वा छतमा बसेर भए पनि यात्रा गरी गन्तव्य पुग्नुको विकल्प हुँदैन । सामान राख्ने ठाउँमा बसेर यात्रा गर्न पाउनु कतिपयका लागि खुशीको विषय हुन्छ तर सदरमुकाम आइपुग्दा यात्रु धुलो वा हिलोले पुरिएका भेटिन्छन् । प्राथमिकताका आधारमा ग्रामीण सडकको स्तरोन्नति गर्नुपर्ने सर्वसाधारणको माग छ ।