कोरोना सङ्क्रमित वीरगञ्ज निवासी ६१ वर्षीया महिलाको मृत्यु

कोरोना सङ्क्रमित वीरगञ्ज निवासी ६१ वर्षीया महिलाको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ०९, २०७८

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा सरोजरोशन दासले जानकारी दिनुभयो । उहाँले यही वैशाख ३ गते नै सङ्क्रमण पुष्टि भएर महिलालाई होम क्यारेन्टिनमा राखिएको भए पनि स्वास्थ्यावस्था बिगिँ्रदै गएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार हुँदै आएको बताउनुभयो ।

यसैसँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण जिल्लामा छ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।