प्रा.डा. सोमप्रसाद खतिवडा | पर्यटन | बैशाख ११, २०७६
त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस, विराटनगरको संस्कृति विभाग प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडा तयार पार्नु भएको कोशीप्रस्रवणक्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू विषयक आलेखको पहिलो खण्ड विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल, कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्म शीर्षकको आलेख प्रकाशन भइसकेको छ । यसपछि लक्ष्मीनारायणदेखि बूढासुब्बासम्म, पञ्चकन्यादेखि हलेसीमहादेवसम्म, वराहपोखरीदेखि हतुवागढीसम्म क्रमशः प्रकाशन गरिनेछ ।
कोटीहोम
कोटीहोम झापाको कन्काई नगरपालिकामा पूर्वपश्चिम राजमार्गसँगै पर्छ । कन्काई नदीको पूर्वी किनारमा अवस्थित यो स्थानमा विभिन्न देवीदेवताका मठमन्दिर र विभिन्न वंशका मानिसको सेवा समितिहरू निर्मित छन् । माई नदीको पवित्रताका कारण नै त्यस स्थानमा यति धेरै संख्यामा मठमन्दिर निर्माण गरिएका हुन् । कोटीहोममा कृष्णमन्दिर, शिवमन्दिर, प्रणामीमन्दिर, गायत्रीमन्दिर, दुर्गामन्दिर र अन्य देवीदेवताका मन्दिर रहेका छन् । गायत्री विद्यापीठ, विभिन्न बन्धु समाजका मन्दिर, तामाङ गुम्बा र आश्रमहरूले कोटीहोम भव्य र सुन्दर पनि छ । साउन महिनाभर तीज, बुद्ध पूर्णिमा, बालाचतुर्दशी र शिवरात्री लगायतका विभिन्न उत्सव तथा पर्वहरूमा यस स्थानमा भक्तालुहरूको भीडभाड लाग्ने गर्छ । यसबाहेक माई नदीको पश्चिम किनार तथा माई धारमा पनि अनेकन् मठमन्दिर रहेकाले यो स्थान पनि धार्मिक रूपमा प्रख्यात छ ।
दोमुखा
माई नदी पहाडबाट तराईमा निस्कने स्थानमा एउटा नहर निकालिएको छ, जुन स्थानलाई दोमुखा भन्ने गरिन्छ । धार्मिक रूपमा त्यस स्थानको खासै महत्व नरहे पनि नहर निकालिएको स्थान सुन्दर पार्कका रूपमा रहेकाले त्यस स्थानमा वनभोज खान जाने मानिसको निकै भीडभाड लाग्ने गरेको छ । यता कन्काई नदी भने निकै महत्वपूर्ण र पवित्र मानिन्छ । अघि एक जना सन्यासी माई खोलाको छेउमा तपस्या गरी बसेको बेला खोलाको पानीभित्र सुनका डल्ला देखेछ । त्यसपछि सुन पाइने खोलाका रूपमा त्यसलाई कनकमाई भन्न लागिएछ र पछि त्यसैको नाम कन्काई बनेछ भनिएको पाइन्छ । यसरी कन्काईलाई माई या देवीका रूपमा पनि पूजाआजा गर्ने गरिन्छ । माईधार र कोटीहोम माई खोलाको किनारमा तथा दोमुखा पनि यसको नजिकै पर्छन् ।
विराटपोखर
झापाको विराटपोखर विर्तामोडदेखि दक्षिणतिर अनारमनीमा पर्छ । विर्ताबजारको सैनिक मोडदेखि चारपानेसम्म विराटपोखरका पोखरीहरू छन् । विराटपोखरका पोखरीको संख्या ७ वटा छ । मुख्य विराटपोखर करिव एक बिगाहा क्षेत्रफलमा फैलिएको छ । यो पोखरी विराटराजाका गाईलाई पानी खुवाउन खनिएको हो भन्ने जनविश्वास पाइन्छ । ऐतिहासिक दृष्टिले यसको निकै ठूलो महत्व छ । यस पोखरी क्षेत्रसम्म पुग्नका लागि सडक यातायातको राम्रो सुविधा रहेको छ ।
पातालगंगा
पातालगंगा झापाको मेचीनगर नगरपालिकामा पर्छ । उक्त स्थानमा वि.सं. १९९० सालमा भूकम्प जाँदा जमिन फुटेर सेतो पानी आएपछि त्यहाँ गंगाजल निस्किएको मान्यता राखी स्थानीय मानिसहरूले पूजाआजा गर्न लागेको बताइन्छ । पातालगंगा छेउमा नै नन्देश्वर शिवालय पनि छ । यो भेग भक्तालुहरूका लागि पवित्र मानिन्छ ।
कृष्णथुम्की
झापाको बाहुनडाँगी भेगमा कृष्णथुम्की नामक एउटा प्रसिद्ध पर्यटकीय स्थल छ । इलामको सिमाना नजिक रहेको चुरे भेगको कृष्णथुम्कीतिर श्रीकृष्णले गाई चराएको किंवदन्ती पाइन्छ । काकरभिट्टादेखि करिब १३ किलोमिटर उत्तरतिर पर्ने कृष्णथुम्की भेगमा लहरै पाँच थुम्काथुम्की छन्, जसलाई पाँचपाण्डव थुम्की पनि भनिन्छ । कृष्णथुम्की एउटा ढिस्का हो, जुन ढिस्काको टुप्पामा एउटा मन्दिर निर्माण गरिएको छ । मन्दिरभित्र कृष्णका साथमा विभिन्न देवीदेवताका नयाँ र पुराना प्रतिमाका भग्नावशेषहरू रहेका छन् । काकरभिट्टाबाट बाहुनडाँगी हुँदै कृष्णथुम्की जाने सडक बनेको छ । यस स्थानमा निजी यातायातका साधन लिएर जान सकिन्छ ।
ङागुर टासी छोइलिंग गुम्बा, शिवसतासी
झापाको शिवसतासी नपामा ङागुर टासी छोइलिंग गुम्बा निर्माण गरिएको छ । यो गुम्बा ङिङ्मापा सम्प्रदायसँग सम्बन्धित छ । गुरूङ समुदायको पकडमा रहेको यो गुम्बा २०२८ सालमा स्थापना गरिएको हो । निकै व्यवस्थित देखिने यस गुम्बाको अधीनमा ९ कठ्ठा जति जमिन पनि छ । नियमित रूपमा लामाहरूको बसोबास रहने यस गुम्बाका मुख्य देवता शाक्यमुनि बुद्ध हुन् । तसर्थ, यसको गर्भगृहमा बीचमा शाक्यमुनि बुद्ध र तिनको दुवैतिर पद्मसम्भव र अवलोकितेश्वरका प्रतिमा राखिएका छन् । ङाग्युर टासी छ्योलिंग गुम्बा निकै व्यवस्थित पनि छ । यसको प्रवेशद्वार, मूल भवन र लामा निवास निकै व्यवस्थित छन् । यहाँ ल्होसार, बुद्धजयन्ति र औंसी तथा पूर्णिमाका अवशरमा विशेष पूजाआजा हुने गर्छ ।
यशोधरा बौद्धविहार गुम्बा
झापाको शिवसतासी नगरपालिका वडा नं. ९ माईधारमा यशोधरा बौद्धविहार गुम्बा निर्माण गरिएको छ । २०६६ सालमा निर्मित उक्त गुम्बा पाँच कठ्ठा जमिनमा रहेको देखिन्छ । मगर समुदायको अधीनमा रहेको यशोधरा बौद्धविहार गुम्बा सामान्य छ, जसमा शाक्यमुनि बुद्धको प्रतिमा राखिएको देखिन्छ । यसलाई विहार र गुम्बा दुवै भनिएको छ । वास्तुकलाका दृष्टिले भने यसले विहार या गुम्बाको स्वरूप लिन सकेको देखिँदैन । यशोधरा बौद्ध विहार गुम्बामा शाक्यमुनि बुद्धको माटाको प्रतिमा स्थापना गरिएको छ । यस स्थानमा माघ १ गते, वैशाख पूर्णिमा तथा फागुन २ र १५ गते विशेष पूजाआजा गर्ने चलन छ । यसबाहेक पनि विभिन्न पर्व र उत्सवका अवशरमा यशोधरा बौद्ध विहार गुम्बामा विशेष पूजा र अन्य क्रियाकलापहरू पनि हुने गरेका छन् ।
पायुल टासीछोइलिंग गुम्बा
पायुल टासीछोइलिंग गुम्बा झापाको मेचीनगर नगरपालिका वडा नं. १० काकरभित्तामा अवस्थित छ । २०५१ सालमा स्थापना भएको यो गुम्बा लामा बौद्ध धर्मको निङ्मापा सम्प्रदायसँग सम्बन्धित छ । यो सम्प्रदाय लामा बौद्धधर्मको पुरानो मत मानिन्छ, जसमा मुख्य देवता भने शाक्यमुनि बुद्ध छन् । यसबाहेक गुम्बाभित्र बुद्धको दायाबायाँ पद्मसम्भव र अवलोकितेश्वरका प्रतिमा पनि रहेका देखिन्छन् । सेर्पा समुदायसँग निकट यस गुम्बाको सम्पर्क प्रत्यक्ष रूपमा फर्पिंगको गुम्बासँग रेहेको पाइन्छ । पायुल टासी छोइलिंग गुम्बा निकै व्यवस्थित पनि छ । यस गुम्बामा आनी, लामा र विद्यार्थीहरू समेत बस्छन् । यता बेलोबेलामा गृहिणीहरूले यहाँ प्रौढ शिक्षा पनि लिने गरेको पाइएको छ । स्थायी आम्दानीको कुनै पनि स्रोत नरहेको यस गुम्बाको दैनिक खर्चवर्चको व्यवस्थापन चन्दा संकलनबाट हुने गरेको बुझिएको छ ।
ङोमर घमाई सिंखम बौद्ध गुम्बा
ङोमर घमाई सिंखम बौद्ध गुम्बा झापाको मेचीनगर न.पा. वडा नं. १३ मा अवस्थित छ । करिव एक कठ्ठा जमिनमा निर्मित यस गुम्बाको विशेषता के रहेको छ भने यसको अगाडि एउटा ठूलो छ्योरतेन रहेको देखिन्छ । यो गुम्बा भने सामान्य एउटा सभाकक्षका रूपमा रहेको छ । लामा वेद तथा बौद्ध शिक्षा दिइने यस गुम्बामा केही लामा, आनी र विद्यार्थीहरू पनि बस्ने गरेका छन् । घवाई सिंखम गुम्बा सामान्य एउटा सभा कक्षका रूपमा रहेको भए पनि यसको अगाडि ठूलो छ्योर्तेन रहेकाले यो गुम्बाको आकर्षण यही छ्योर्तेनले बढाएको देखिएको छ । यसको सिधा सम्पर्क भने सांग देछेन लिंग गुम्बा दाउन्नेसँग रहेको छ । बौद्ध शिक्षा प्रचारका दृष्टिले यो गुम्बा निकै महत्वपूर्ण मानिन्छ ।
विराटराजा दरवार क्षेत्र
मोरङको बुधनगरस्थित नेपाल–भारत सिमानामा विराटराजाको दरबार क्षेत्र पर्छ, जसलाई भेडीयारी पनि भनिन्छ । ऐतिहासिक एवम् पुरातात्विक दृष्टिले ज्यादै महत्वपूर्ण यस भेगमा विभिन्न प्रकारका पुरातात्विक वस्तुहरू सतहमा नै पाइन्छन् । यहाँ पुराना पोखरी, इनार, ढिस्काढिस्की र भवनका भग्नावशेषहरू पाइएका छन् । भारततिर समेत ठूलो क्षेत्रमा त्यस्ता भग्नावशेषहरू पाइने हुँदा विगतमा त्यस क्षेत्रमा निकै ठूलो शहरी सभ्यताको विकास भएको स्पष्ट भएको छ ।
एउटा तर्कअनुसार स्थानीय मैथिली भाषामा फ्याउरोलाई भेडिया र ढिस्कोलाई भीड भनिने हुँदा पुराना भग्नावशेषका ढिस्कायुक्त त्यस स्थानलाई भेडियारी भन्ने गरिएको हो । यस्तै स्याल या फ्याउराहरू कुद्ने स्थानका रूपमा त्यसलाई भेडिया र पछि गएर भेडियारी भन्ने गरिएको पनि हुन सक्छ । यता भेडा पालिने स्थानका रूपमा पनि त्यसलाई भेड र पछि भेडियारी भनिएको हुन सक्ने बताइन्छ । स्थानीय मानिसहरूको विचारमा भने त्यस स्थानमा लुकेर बसेका पाण्डवहरूको भेद (गोप्य विवरण) बुझ्न कौरवहरूले गुप्तचर पठाएका र पाण्डवहरू लुकेको भेद पनि पत्ता लगाएका हुनाले त्यस स्थानलाई भेदियारी र पछि भेडियारी भनिएको हो । जे भए पनि यस स्थानलाई महाभारतका पात्र राजा विराटको दरबार क्षेत्र मान्ने गरिएको छ । विराट राजा दरबार क्षेत्रमा नेपाल पुरातत्व विभागले ई.सं. १९६८ सालमा गरेको उत्खनन्मा मन्दिरको अवशेष, विभिन्न प्रकारका माटाका भाँडाका टुक्राटुक्री र प्राचीन आहात मुद्रा पनि पाइएका थिए । यसबाट नेपाल पुरातत्व विभागले भेडियारीमा इसापूर्व दोस्रो तेस्रो शताब्दीभन्दा केही अगाडि नै मानव बस्ती बसिसकेको निष्कर्ष निकालेको छ ।
भेडियारीको सयौं बिगाहा जमिनमा प्राचीन भवनका भग्नावशेषहरू पाउन सकिन्छन् । जमिनभित्र ठुल्ठूला भवनका पर्खालहरू पाइन्छन् । त्यहाँका भवनहरू निर्माणका लागि ठूला तथा विभिन्न आकार र प्रकारका पक्की इँटा प्रयोग गरिएका छन् । त्यसबाहेक खेतिपातीका शिलशिलमा त्यस स्थानमा अनेक प्रकारका पुरातात्विक वस्तुहरू प्राप्त हुने गरेका छन् । भेडियारीमा पुराना थुप्रै प्रकारका इनार र पोखरी पाइएका छन् । धरवा, किचकबध, भन्सिया, थरथोवा, गुहिया, दिघरी र बहेरवा पोखरी हालसम्म जिवित यहाँका पुराना पोखरी हुन् । यिनीहरूको क्षेत्रफल क्रमशः एक बिगाहा, चार बिगाहा, एक बिगाहा, नौकठ्ठा, एक बिगाहा र आठ कठ्ठा रहेको छ । यिनीहरू अनेक कारणले गर्दा सालिन्दा पुरिँदै गएका छन् । त्यहाँ गरगहना, प्रस्तर र मृत्तिका प्रतिमा र अन्य प्रकारका पुरातात्विक वस्तुहरू पनि पाइएका छन् । त्यहाँ हाल भद्रिकादेवीको मन्दिर निर्माण गरी देवीको प्रस्तर प्रतिमा स्थापित गरिएको छ ।
धनपालगढी
मोरङको बेलबारी नगरपालिकास्थित कसेनीमा प्रसिद्ध धनपालगढी छ । करिब ३५ बिगाहा ५ कठ्ठा जमिनमा फैलिएको यो गढी पुरातात्विक एवम् ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण पनि छ । त्यहाँका मुख्य आकर्षण गढीको अवशेष, पुराना पोखरी, पुरातात्विक भग्नावशेषहरू र हरियो जंगल नै हुन् । धनपालगढी एउटा सुन्दर पार्कका रूपमा रहेको छ । यहाँ पुराना इँटा, पुराना ९ वटा पोखरी, धनपालको मन्दिर र अन्य प्रकारका पुरातात्विक अवशेषहरू पाइएका छन् । स्थानीय मानिसहरूको भनाईमा प्रारम्भमा यस स्थानलाई फूलबारीको महिषपालगढ भन्ने गरिन्थ्यो भने पछि गएर धनपालगढ भन्न लागिएको हो । विगतमा आजभन्दा करिब ५–६ सय वर्षअघि यस भेगमा स्थानीय शासन गर्ने धनपालनामक शासकले यस गढीको स्थापना गरेको हुनाले त्यस स्थानलाई धनपालगढी भनिएको हो । हाल आएर भने धनपाललाई देवताका रूपमा पूजाआजा गर्ने चलन स्थानीय मानिसमा चलेको पाइन्छ ।
स्थानीयका विचारमा अघि धनपालगढी छेउछाउको कुनै स्थानमा धनपाल र महिपाल नामक दुईजना राजा (दाजुभाइ) बस्ता रहेछन् । यसबारे प्रचलित किंवदन्तअनुसार एकपटक अल्लाहरू दलकी छोरी फुलुवासँग धनपाल नामक व्यक्तिले प्रेम गरेछन् । त्यसपछि उनले प्रेमीका फुलुवालाई भगाएर लगी यसै स्थानमा किल्ला बनाएर बसोवास गर्न लागेछन् र धनपालले बनाएको किल्ला भएकाले यसलाई धनपालगढी भन्न लागिएछ । स्थानीय लोकोक्ति अनुसार धनपाल देवीका उपाशक रहेछन् र उनलाई देवीबाट अद्भूत शक्ति पनि प्राप्त भएको रहेछ । धनपाललाई स्थानीय थारूहरूको लोकगीतमा बालकलाई हसाउने र सबैलाई माया गर्ने तथा सुख दिने राजाका रूपमा प्रस्तुत गरिएको पाइन्छ ।
धनपालगढीमा राजा धनपालको मन्दिर र विभिन्न पोखरी छन् भने गढीलाई ठूलो पर्खालले घेरिएको अवशेष देख्न सकिन्छ । त्यहाँ राजा धनपालको प्रतिमा, मन्दिर र अन्य पुरातात्विक वस्तुहरू पनि पाइएका छन् । यस भेगमा प्रत्येक साल वैशाख १० गतेका दिन सिरूवा मेला लाग्ने गरेको छ । अघि यहाँ अषाढे पूजा गर्ने चलन थियो । पछि गएर यसका बदलामा सिरूवा पर्व मनाउन तथा सिरूवा मेला लगाउन लागिएको हो । धनपालगढी ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण छ । यस स्थानसम्म पुग्न यातायातको सुविधा पनि रहेको छ ।
मोरङका विराटनगरदेखि करिव २० किलोमिटर उत्तर–पूर्वमा कोशीहरैंचा नगरपालिकाभित्र पर्ने धनपालगढी एउटा सुन्दर पार्कका रूपमा पनि रहेको छ ।
कालीमन्दिर, रंगेली
मोरङको पुरानो सदरमुकामको नाम रंगेली हो । यस स्थानमा वि.सं. १८६३ तिर काली मन्दिर निर्माण गरिएको मानिन्छ । साँगुरीगढीबाट मोरङको राजधानी यस स्थानमा सारिएपछि यसको ख्याति बढेर गएको हो । रंगेलीमा विगतमा ८७ मन्दिर भएकाले त्यस स्थानलाई मन्दिरैमन्दिरको गाउँ भनिन्थ्यो । त्यहाँबाट वि.सं. १९७१ सालमा मोरङको राजधानी विराटनगर सारिएपछि भने रंगेली भेगको महत्व कम भएर गयो । रंगेलीको कालीमन्दिर निकै भव्य पनि छ । मन्दिरभित्र गर्भगृहमा कालीको कालो रङको प्रस्तर प्रतिमा राखिएको छ । विराटनगरको काली मन्दिरभित्र रहेको प्रतिमा पनि यसैसँग मिल्दोजुल्दो प्रकारको छ । विराटनगर र रंगेलीका कालीका प्रतिमा एकैपटक स्थापना गरिएको बताइन्छ ।
राजारानी धिमालपोखरी
राजारानी धिमाल पोखरी मोरङको लेटांग नगरपालिकामा पर्छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बेलावारीदेखि करिब १८ किलोमिटर तथा लेटांग भोगटेनीकै तराईको फाँटदेखि करिब ५ किलोमिटर उत्तर पहाडमा अवस्थित राजारानी एउटा रमाइलो ढिस्काका रूपमा रहेको छ । त्यहाँ मुख्य रूपमा राजापोखरी, रानीपोखरी र राजकुमारी गरी तीन वटा पोखरीहरू छन् । राजा र रानी पोखरीका बीचमा पर्ने एउटा सानो पहाडजस्तो ढिस्कामा राजारानीको मन्दिर निर्माण गरिएको छ भने राजारानी पोखरीदेखि उत्तरतिर धिमालहरूको ग्रामथान रहेको देखिन्छ ।
चारैतिर हरियाली जंगलयुक्त पहाड रहेको राजारानी स्थानबाट सुनसरी, मोरङ र झापाको तराईको फाँट तथा भारत विहारको केही भागसमेत देखिन्छ । तसर्थ, यो स्थान दृश्यावलोकनका लागि निकै आकर्षक पनि छ । राजारानीबाट उत्तर, पूर्व र पश्चिमतिर देखिने पहाडहरूका मनोरम दृश्यले यस स्थानको शोभा बढाएका छन् । यहाँका मुख्य आकर्षणका केन्द्रहरू राजा, रानी र राजकुमारी ताल, विभिन्न प्रकारका पुतली तथा सुनाखरीका बिरूवा हुन् । साथै यो स्थान जैविक विविधता तथा सुन्दरताका दृष्टिले पनि निकै प्रख्यात छ । यस नजिकै मन्दिर डाँडामा अन्तरधार्मिक शान्ति पार्क बनाउने तयारी गरिँदैछ । यस स्थानसम्म जानका लागि सडकको राम्रो व्यवस्था छ ।
सुनवर्षी पोखरी
सुनवर्षी पोखरी मोरङको गोविन्दपुरस्थित सुनवर्षि टोलमा पर्छ । यो स्थान विराटनगरदेखि करिब ४० किलोमिटर पूर्वमा छ । सुनवर्षी पोखरीसम्म रंगेलीतिर बाट र पूर्वपश्चिम राजमार्गमा पर्ने पथरीबाट पनि जान सकिन्छ । यसैगरी मोरङको उर्लावारीबाट पनि डाइनिया हुँदै सुनवर्षी पुग्न सकिन्छ । सुनवर्षी पोखरी करिब साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ । केही वर्ष अगाडिसम्म यो पोखरीको क्षेत्रफल निकै रहेकोमा यसलाई अतिक्रमण गर्ने कार्य बढ्दै जाँदा यसको क्षेत्रफल घटेर गएको हो ।
राजवंशीहरूको बाहुल्य रहेको सुनवर्षी पोखरी क्षेत्रमा प्रत्येक वर्ष वैशाख १ गते धार्मिक मेला लाग्ने गर्छ । त्यस पोखरीमा राजा सुनवर्षीले बास गर्ने धारणा स्थानीय मानिसहरूमा पाइन्छ । स्थानीय मानिसहरू यस पोखरीलाई पनि आवश्यक भाँडावर्तन आपूर्ति गर्ने स्थानका रूपमा लिने गर्छन् । परापूर्वकालमा विवाह बटुलोका लागि आवश्यक भाँडाकुँडा र गहना चाहिएमा पोखरीबाट प्राप्त हुने जनविश्वास पाइन्छ । तर, पछि गएर यस्तो शक्ति घटेर गएको तथा हाल भने आवश्यक भाँडाकुँडा पाउन नसकिने कुरा स्थानीय मानिसहरू बताउँछन् । यस पोखरीका बारेमा विभिन्न प्रकारका दैवीय प्रसंग जोड्ने गरिन्छ र सुनवर्षिलाई महाराज मानी पूजाआजा गरिन्छ ।
सुनवर्षी पोखरीको डिलमा महाराजको एउटा थान निर्माण गरिएको छ । स्थानीय मानिसहरू त्यसमा भाकल र पूजा गर्ने तथा भाकल पूरा भएको अवस्थामा हर्षोल्लास गर्ने गर्छन् । उनीहरू यस स्थानलाई आफ्नो धार्मिक थलोका रूपमा मान्दै आएका छन् । सुनवर्षी पोखरी राजवंशीहरूको मात्र नभएर यस आसपासका विभिन्न क्षेत्रमा बसोबास गर्ने सबै जातजातिको धार्मिक र सांस्कृतिक साझा थलोका रूपमा रहेको छ । यहाँ लाग्ने मेलामा राजवंशी, धिमाल र पहाडे मूलका मानिसहरूको समेत ठूलो सहभागिता हुने गर्छ । सुनवर्षीसम्म पुग्नका लागि सडक यातायातको उचित व्यवस्था छ ।
कालीकोशी
कानेपोखरीदेखि करिव ३.५ किलोमिटर दक्षिण तथा रमाइलो बजारदेखि करिव १ किलोमिटर उत्तर–पश्चिमतिर कानेपोखरी गाउँपालिकाको जहदा घलेटोलमा प्रसिद्ध सातकन्या कालीकोशी सिमसार क्षेत्र पर्छ । चारकोशे झाडीको मुख नजिकै जमिन मुनिबाट पानीका ठुल्ठूला ३ वटा मूलहरू निस्किएर बग्दै केही दक्षिणतिर पुगेपछि एउटा खोलाको रूप लिने कालीकोशीका मुख्य भागहरू नागदह, देवी स्थान र साकेला हुन् । यसमा नागदह सबैभन्दा उत्तर, त्यसको केही दक्षिणतिर देवी स्थान र साकेला पश्चिमतिर अवस्थित छन् । कालिकोशीको पानी बाँध बाँधेर सिँचाइका लागि लगिएको छ ।
कालीकोशी विशुद्ध देवीको नाम हो । अघि यो स्थान डुम्रिघाटका नामले जानिन्थ्यो, जुन नाम स्थानीय धिमालहरूले राखेका हुन् । यस भेगमा डुम्रिको जंगल नै रहेको हुनाले यसलाई यस्तो नाम राखिएको हो । जे भए पनि कालीनाग बस्ने कोशी, कालो रङको पानी देखिने कोशी र कालीको प्रतिरूप कोशीलाई कालीकोशी भनिएको हुन सक्छ । कालीकोशीको पानीले केरौन, बयरवन र दर्बेसाका पनि ज्यादाजसो क्षेत्रलाई सिँचित गरेको छ । तसर्थ, यो सिमसार कृषि उत्पादनको आधारशिला मानिन्छ । कालीकोशीकी सप्तकन्या माईको पूजाआजा गर्नाले मनमा चिताएको कुरा पुग्ने विश्वास स्थानीय मानिसहरूमा छ । तसर्थ, कालीकोशीको शिरमा सप्तकन्या देवीको स्थापना गरियो र तिनको पूजाआजा गर्न लागियो । यसको ऐतिहासिकता महाभारत कालसँग जोडिएकाले सांस्कृतिक रूपमा यस भेगमा अनेकन जाजातिका मानिसहरूको बसोवास छ । हाल कालीकोशीको सिमसार संरक्षण तथा पर्यटन प्रवद्र्धनको काम सँगसँगै भइरहेको छ ।
राधाकृष्ण रथजात्रा, विराटनगर
पूर्वी नेपालको विराटनगरमा प्रत्येक साल कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको रथजात्रा गर्ने चलन छ । कृष्णअष्टमीका रातमा श्रीकृष्ण जन्मिने मान्यतामा त्यसको भोलिपल्ट तिनलाई रथमा राखेर सहर परिक्रमा गराई सम्मान गर्ने परिपाटीको विकास भएर राधाकृष्णको रथ तान्ने जात्रा सुरू भएको हो । कृष्णलाई झुलनमा सुताउने, अष्टमी पर्व मनाउने र तिनलाई खटमा राख्ने परम्परा निकै पुरानो हो । विराटनगरमा यहाँको पुरानो परम्परालाई १९७८ सालदेखि भने केही भव्य बनाइयो र बालकृष्णको प्रतिमा खटमा राखेर मन्दिर परिक्रमा गराउने चलन चल्यो । त्यसपछि पुनः त्यसलाई रथमा राखेर बजार परिक्रमा गराउने चलन चल्यो । यो परम्पराको विकास भएर हाल यो पर्व नेपालकै अत्यधिक ठूलो पर्वका रूपमा स्थापित भएको छ । यसलाई भारतको उडिसास्थित जगन्नाथको यात्रापछिको दक्षिण एसियाकै दोस्रो ठूलो यात्राका रूपमा लिने गरिएको छ ।
याे पनि
विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल
कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्म